अमेरिकामा १२२ मेक्सिकन पक्राउ

डिसी नेपाल
२४ साउन २०७६ १३:४२

वाशिंटन। अमेरिकाको मिसिसीपी राज्यमा केही दिनयता गरिएको खोजी अभियानका क्रममा कम्तीमा पनि १२२ जना मेक्सिकन पक्राउ परेका छन्। मेक्सिकोको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको समाचारमा जनाइएको छ।

उक्त राज्यका विभिन्न खाद्यान्न प्रशोधन केन्द्रहरुमा अमेरिकी प्रहरीले गरेको खोजी अभियानका क्रममा ती अवैध रुपमा काम गरिरहेका आप्रवासीहरुलाई नियन्त्रणमा लिइएको प्राप्त समाचारमा जनाइएको छ।

मेक्सिकोको विदेशमन्त्री मार्सेलो एबराडले केही समयअघि १०७ जना मेक्सिकन अमेरिकाको मिसिसीपीमा पक्राउ परेका जानकारी दिएका थिए। तर बिहीबार सो तथ्यांक अद्यावधिक गर्दै १२२ जना नागरिक पक्राउ परेको जानकारी गराएका हुन्।

अमेरिकामा बुधबारमात्र वैधानिक कागज बिना नै अमेरिकामा बसेर काम गरिरहेका ६८० जना मेक्सिकन पक्राउ परेको बताइएको थियो। ती मध्ये कतिपय अदालतको आदेशबाट रिहा भइसकेका छन्।

विदेशमन्त्री मार्सेलोले ती नागरिकलाई मेक्सिकोको तर्फबाट कानुनी परामर्श र आवश्यक कानुनी दस्ताबेजहरु उपलब्ध गराइएको जानकारी पनि दिएका छन्।

अमेरिकाका खाद्यान्न केन्द्रहरुमा कार्यरत मेक्सिकन नागरिकहरुमध्ये अमेरिकाले पहिलो पटक एकैदिन यतिधेरैलाई पक्राउ गरेको पनि उनले बताएको प्राप्त समाचारमा जनाइएको छ।

ती  पक्राउ परेकाहरु अमेरिकामा विना कागजात नै बसेर काम गर्दै आएका नागरिक रहेको अनुमान गरिएको छ। तर उनीहरुसँग के कति कागजात छन् भन्ने बारेमा भने कुनै जानकारी गराइएको छैन । पियु रिसर्च सेन्टरको एक तथ्यांकले अमेरिकामा कम्तीमा पनि ४९ लाख मेक्सिकनको बसोबास रहेको बताएको छ। (रासस/सिन्ह्वा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *