चिनियाँ बाबुआमाको दबाबमा छोराछोरी

डिसी नेपाल
२४ साउन २०७६ १६:३९

बेइजिङ।धेरै चिनियाँ अभिभावक आफ्ना हुर्केबढेका छोराछोरीले जतिसक्दो चाँडो विवाह गरुन् भन्ने चाहन्छन्। यो उनीहरुको पहिलो प्राथमिकतामा पर्ने घरयासी विषय हुने गरेको एक अध्ययनले देखाएको छ।

इन्टरनेट मार्फत वैवाहिक सेवा प्रदान गर्ने एक चिनियाँ कम्पनी बाईहेजियायुआनले सार्वजनिक गरेको एक प्रतिवेदनमा झण्डै ८० प्रतिशत चिनियाँ युवायुवतीले बाबुआमाको दबाब झेल्नु परेको उल्लेख छ। तर उनीहरु आफ्ना बाबुआमाले विवाहका लागि दबाब नदिए हुन्थ्यो भन्ने चाहन्छन्।

विवाहसँग सम्बन्धित चीनको सर्वाधिक ठूलो यो वेबसाइटमा जोडिने युवायुवतीको संख्या झण्डै तीन करोड १० लाख रहेको छ।

अन्तर्वार्ता लिइएका आधाभन्दा बढीले आफ्नो विवाहका बारेमा आफैँले निर्णय गर्न पाए हुन्थ्यो भन्ने चाहना राख्ने गरेको बताएका छन्। वेबसाइटमा दर्ता रहेका तीमध्ये करिब ३० प्रतिशत युवायुवतीले आफूहरुमाथि बाबुआमाले ज्यादै ठूलो दबाब दिने गरेको बताएका छन्।

चीनमा विवाहको दर पछिल्ला केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको छ। सन् २०१३ मा प्रति हजारमा विवाह दर ९.९ थियो भने सन् २०१९ मा त्यो घटेर ७.२ मा आइपुगेको राष्ट्रिय तथ्याँक ब्यूरोले जनाएको छ।

अन्तर्वार्ता लिइएका करिब ७७ प्रतिशत पुरुष र ६३ प्रतिशत महिलाले विवाहका लागि आफूखुशी विवाहको मिति तोक्ने गरेको बताएका छन्।

करिब ४० प्रतिशत चिनियाँ एकल व्यक्तिहरुले आफ्नो वैवाहिक विषयमा हस्तक्षेप गर्न बन्द गर्न चाहेको बताएका छन्। प्रतिवेदनमा उनीहरुले बाबुआमाको करकापमा नपरी स्वतन्त्र रुपमा आफूखुशी विवाह गर्न चाहेको उल्लेख छ।

“विवाह जीवनको एक आवश्यक हिस्सा अब रहेन,” साउथवेस्ट जियाटोङ युनिभर्सिटीका मनोसामाजिक अध्येता प्राध्यापक गाओ फेईले बताए। “विवाह गर्ने वा नगर्ने यो निजी रुचिको कुरा हो, र हरेक व्यक्तिले आफूलाई खुशी तुल्याउने किसिमको निजी जीवनशैली अनुशरण गर्न सक्छन्।”

“यद्यपी बाबुआमाले राम्रै मनशाय राखेर विवाहका लागि दबाब दिइरहेको कुरा चिनियाँ युवायुवतीले बुझ्नु पर्दछ। धेरैको जोड के छ भने बाबुआमाको दबाबभन्दा पनि टिकाउ विवाह आवश्यक छ,” कम्पनीका महाप्रबन्धक ऊ लिङगुआङ बताउँछन्।

“मेरा बाबुआमाले विवाह गर्न भनिरहनु हुन्छ किनभने आफ्नो हेरचाहका लागि कोही तयार होओस् र उनीहरुको मृत्यु पश्चात् म एक्लै नहोस् भन्ने चाहन्छन्,” प्रतिवेदनमा समेटिएका एक व्यक्तिको भनाई छ। “मेरा बाबुआमाले आफ्ना नातिनातिनासँग खेल्न पाइन्छ भन्ने लोभ पनि राखेको देखिन्छ।”

“म मैले रुचाएको व्यक्तिसँगै विवाह गर्नेछु,” चेङ्दुका एक २० वर्षीय युवा फू सुआनले बताए।(रासस-सिन्ह्वा)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *