कश्मीर मामिला : पाकिस्तानले बन्द गर्यो भारत जाने सबै बस सेवा
इस्लामावाद (एजेन्सी)। भारत र पाकिस्तानबीच चल्ने सबै बस सेवालाई पाकिस्तानले बन्द गरिदिएको छ। कश्मीर मामिलालाई लिएर भारतसँगको सम्बन्धलाई समिक्षा गर्ने जनाएको पाकिस्तानले भारतलाई अन्तर्राष्ट्रिय मञ्चहरुमा उभ्याउने प्रयास गरिरहेको छ।
पाकिस्तानले शनिबार दुई देश चल्ने सबै बस सेवा बन्द भएको घोषणा गरेको हो । पाकिस्तानले लाहोर–दिल्ली बस सेवा शुक्रबार नै बन्द गरिदिएको थियो । शनिबार पाकिस्तानले लाहोर–अमृतसर र ननकाना साहिब–अमृतसर बस सेवा बन्द गरेको हो।
यसअघि पाकिस्तानले रेल सेवा (सम्झौता एक्सप्रेस) पनि बन्द गरिदिएको थियो । उसले भारतसँगको व्यापारिक सम्बन्ध पनि पूर्णरुपमा तोडिदिएको छ भने, कुटनीतिक सम्बन्धमा कटौती गरेको छ।
भारतले जम्मू कश्मीरलाई विशेषाधिकार दिने भारतीय संविधानको धारा ३७० खारेज गरेपछि पाकिस्तानले कडा कदमहरु उठाइरहेको छ। उसले गैरसैन्य सबै कदमहरु उठाएको छ। कुटनीति सम्बन्धमा कटौती गरेको पाकिस्तानले इस्लामावादस्थित भारतीय उच्च आयुक्तलाई फिर्ता पठाएको थियो भने दिल्लीस्थित पाकिस्तानी उच्च आयुक्तलाई पनि फिर्ता बोलाएको थियो। भारतले भने यस्तो कुटनीति सम्बन्धमा कटौती नगर्न अपील गरेको थियो ।
एक समाचारअनुसार पाकिस्तानले कुटनीतिक सम्बन्धमा कटौती गर्ने जनाएपछि १३ जना भारतीय कुटनीतिज्ञले परिवारसहित पाकिस्तान छाडेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment