एनआरएनए कतारका अध्यक्ष प्रत्यासी कटुवाल भन्छन– उदाहरणीय एनसीसी बनाउँछु

डिसी नेपाल
२६ साउन २०७६ १०:३७

काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) कतारको अधिवेशन मिति नजिकिँदै गर्दा चुनावी रौनक बढ्दो छ। नयाँ नेतृत्वका लागि दावेदारी प्रस्तुत गर्ने र आफ्नो पक्षमा माहोल बनाउने क्रममा नेतृत्वका आकांक्षी व्यस्त देखिन्छन्।

यो अधिवेशनबाट नयाँ नेतृत्वका लागि प्रवल दावेदारमध्ये एक हुन्– तेज कटुवाल। उनी आफ्नो पक्षमा चुनावी माहोल बनाउन निकै सक्रिय छन्।

एनआरएनए कतारको प्रथम उपाध्यक्ष भएकै बेलामा कार्यवाहक अध्यक्षको पद सम्हालिसकेका उनी नयाँ नेतृत्वका लागि आफ्नो दावेदारी स्वाभाविक भएको दावी मात्रै गर्दैनन्, आफूलाई विजय प्राप्त हुनेमा पनि ढुक्क देखिन्छन्। कार्यसमिति सदस्य हुँदै कार्यवाहक महासचिवको जिम्मेवारी सम्हालेको पनि अनुभव उनीसँग छ।

अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गरेका कटुवालले गैर आवासीय नेपाली संघले अवलम्बन गरेका नीति, नियम र योजनालाई निरन्तरता दिदैं विगतका अनुभवको आधारमा लक्ष्य प्राप्तिका लागि भरपुर प्रयत्न गर्ने अठोट सुनाए।

करिव दुई दशकदेखि कतारमा कार्यरत् कटुवाल भन्छन– ‘कतारमा कार्यरत नेपालीका प्रमुख समस्यामा बढी केन्द्रीत हुनेछु । तत्कालीन र दीर्घकालीन समस्याको पहिचान गरी अगाडि बढ्नेछु।’

नेपालको सांस्कृतिक तथा पर्यटकीय सम्भावनाको कतारमा प्रवद्र्धन गर्न समन्वयात्मक प्रयास गर्ने विषयलाईसमेत उनले प्राथमिकतामा राखेका छन् ।

एनआरएनए कतारको विभिन्न पदमा रहेर काम गरिसकेकोले आफू एनआरएनए अभियानबाट बाहिर जान नसक्ने बताउँदै भोगेको अनुभवलाई एक कार्यकाल नेतृत्वमा बसेर सेवा गर्ने चाहाना भएकोले शुभेच्छुकहरूको आग्रहमा अध्यक्षमा उम्मेदवारी दिएको कटुवालको भनाई छ।

उनले एनआरएनए कतारको छविलाई माथि उकास्ने र एनआरएनएको एक उदाहरणीय राष्ट्रिय समिति (एनसीसी)का रुपमा अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

कतारमा रहेका अधिकांश संघसंस्था र अग्रजको साथ रहेकोले नेतृत्व आफ्नै पोल्टामा पर्नेमा ढुक्क रहेको कटुवालले दावी गर्दै आएका छन् ।

एनआरएनए कतारका लागि तय गरिएको चुनावी क्यालेण्डर अनुसार आगामी अगष्ट २३ तारिखमा मतदान र अगष्ट ३० मा अधिवेशन सभा हुनेछ।कतारमा ४ हजार २ सय ९८ जना मतदाता रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *