कश्मीरको पछिल्लो अवस्था: ‘धोका पाएको तीतो अनुभूतिमाझ आँधी आउनुअघिको शान्ति झैँ’

बीबीसी । भारत सरकारले झन्डै ७० वर्ष लामो विशेष संवैधानिक हैसियत रद्द गरिदिएपछि सोमवार यता भारत प्रशासित कश्मीर अभूतपूर्व बन्दको अवस्थामा छ। कश्मीर क्षेत्रमा दुई दिन घुमेपछि बीबीसीकी गीता पाण्डे भन्छिन्, धोका पाएको तीतो अनुभूतिले उक्त क्षेत्रमा ताजा द्वन्द्व जन्माउनसक्छ।

श्रीनगरको केन्द्रमा रहेको खानयार भारत विरोधी प्रदर्शनका लागि चिनिने क्षेत्र हो। लगभग २४ घण्टा नै कायम रहेको जस्तो देखिने कर्फ्युको समयमा त्यहाँ पुग्न हामीले आधा दर्जन सडक बन्द गर्न राखिएका अवरोधहरूको सामना गर्नुपर्‍यो।

त्यस्तै एउटा अवरोध नाघ्ने बेला कारबाट बाहिर निस्किएर मैलै फोटो खिच्न खोजेँ। एउटा गल्लीबाट बाहिर निस्किएर केही मानिसहरूले मसँग घेराबन्दीको जस्तो अवस्थामा बाँच्नुपर्दाको आफ्ना अनुभूति सुनाउँदै गुनासो गर्न थाले।

समूहका एक पाका व्यक्तिले भने, ‘यो सरकारको तर्फबाट भएको निकृष्ट ठगी हो।’ अर्धसैनिक प्रहरीले हामीलाई त्यहाँबाट हटाउन खोजे तर ती व्यक्ति आफ्नो अवाज सुनाउन चाहिरहेका थिए। उनी रिसाउँदै चिच्याए, ‘तिमी हामीलाई दिनभर थुने जसरी राख्छौ। तिमी हामीलाई राती पनि थुन्छौ।’
ती प्रहरीले त्यहाँ कर्फ्युको अवस्था रहेकाले उनीहरूलाई तुरुन्त भित्र जान भने। तर ती व्यक्तिले आफ्नो अड्डी छाडेनन् र प्रहरीलाई चुनौती दिए।

मलाई त्यहाँबाट हट्न आदेश दिइयो। तर मैले त्यसो गर्नु अघि नै आफ्ना नाबालक छोरा बोकेर आएका जवान पुरुषले भारतविरुद्ध हतियार उठाउन आफू तयार रहेको आक्रोश सुनाए। उनले भने, ‘मेरो यो एउटै छोरा हो। यति खेर यो लड्नका लागि निक्कै सानो छ तर म यसलाई बन्दुक बोक्न तयार गर्छु।’ यस्तो आक्रोशलाई हामी नजिकै उभिरहेका प्रहरीले बेवास्ता गरिरहेका थिए।

कश्मीर उपत्यकाको मुसलमान बहुल लगभग सबै क्षेत्रमा मैले सुरक्षा फौजहरूको त्रासमा बाच्न नचाहेको धारणा राख्ने पुरुषहरूलाई भेटे। यो क्षेत्रमा ३० वर्षयता शसस्त्र द्वन्द्व चलिरहेको छ तर निक्कै परको दिल्लीबाट यो साता आएको तानाशाही आदेश ले पृथक्तावादको विपक्षमा उभिएका मानिसहरूलाई कुनामा पारिदिएको छ। उनीहरू भन्छन्, यसले कश्मीर र भारत दुवैलाई गम्भीर प्रभाव पार्नेछ।

यस्तो भावना जता पनि दह्रो गरी प्रकट भइरहेको मैले देखेँ। आक्रोशमिश्रित भय र चिन्ता अनि केन्द्र सरकारको कदमको प्रतिरोध गर्ने दह्रो प्रतिबद्धता यहाँ देखिन्छ। जम्मू(कश्मीरको गर्मीयामको राजधानी सोमवार यता लगभग बन्दको अवस्थामा छ र यो सहर मान्छेले बस्नै छाडिदिएको उजाड कुनै सहर जस्तो देखिन्छ। पसल, स्कुल र कलेज तथा कार्यालयहरू सबै बन्द छन् र सडकमा कुनै पनि सार्वजनिक सवारी साधनहरू गुडिरहेका छैनन्।

बन्दुक बोकेका हजारौँ सुरक्षा फौजले रित्ता चोकहरूमा गस्ती गरिरहेका छन् र सडकमा तेर्स्याइएका अवरोधहरूमा धारिला तार बाँधिएका छन्। मानिसहरू आफ्ना घरभित्रै बन्द छन्। करिब एक हप्ता अघिबाट राज्यका दुईजना पूर्वमूख्यमन्त्रीहरू थुनामा राखिएका छन्। संसद्‌मा प्रतिनिधित्व गर्ने अर्कालाई पनि नजरबन्दमा राखिएको छ। सैयौँ अभियानकर्मी, व्यापारी र प्राध्यापकहरूलाई पनि अस्थायी बन्दी गृहहरूमा राखिएको छ।

रिजवान मलिक भन्छन्, कश्मीर अहिले हावा छिर्ने खुला जेल जस्तै बनेको अनुभूति उनलाई भइरहेको छ। गृहमन्त्री अमित शाहले संसद्‌मा सोमबार कश्मीरको भविष्यबारेको योजना प्रस्तुत गरेको ४८ घण्टाभित्र उनी दिल्लीबाट प्लेनमा श्रीनगर आइपुगेका हुन्। सरकारले इन्टरनेट सहित सञ्चारका सबै माध्यमहरू बन्द गर्नुअघि आइतवार राती उनले अन्तिम पटक आफ्ना बुवा–आमासँग कुरा गरेका थिए।

त्यसपछि पूर्ण रूपमा सूचना बन्द भयो र उनले आफ्ना साथीभाइ वा आफन्त कसैसँग कुरा गर्न पाएनन्। अनि घर फर्कने निर्णय लिए। श्रीनगरमा रहेको आफ्ना बुवाको घरमा उनले मसँग भने, ‘मेरो जीवनमा पहिलोपटक हामीले कोहीसँग पनि सम्पर्क गर्न नसक्ने स्थिति आयो। मैले यस्तो कहिल्यै देखेको थिइन।’ भारतले कश्मीरीहरूसँग सल्लाह नै नगरी राज्यलाई दिइएको विशेष हैसियत समाप्त पारेकोमा उनी क्रुद्ध छन्।

उक्त विशेष हैसियतले कश्मीरलाई उल्लेख्य मात्राको स्वायत्ता र उक्त क्षेत्र र बाँकी भारतबीचको सम्बन्धलाई दशकौँदेखि परिभाषित गर्दै आएको थियो। मलिक पृथक्तावादमा विश्वास राख्ने जमातामा पर्दैनन्। उनले प्रदर्शनमा निस्केर सैनिकहरूमाथि ढुङ्गा कहिल्यै हानेका पनि छैनन्। उनी एकाउन्टेन्ट बन्न दिल्लीमा पढिरहेका २५ वर्षका युवा हुन्। भारतको आर्थिक सफलताको कथाबाट प्रभावित उनीले लामो समयदेखी भारतप्रति विश्वास गर्दै आएको सुनाउँछन्।

उनी भन्छन्, ‘यदि भारतले उ लोकतन्त्र हो भनेर हामीले विश्वास गरौँ भन्ने चाहन्छ भने उसले आफैलाई मूर्ख बनाइरहेको छ।’ उनको विचारमा लामो समयदेखि कश्मीर र भारतबीचको सम्बन्ध असहज रहँदै आएको थियो तर त्यो विशेष हैसियतले दुवैलाई जोडेर राखेको थियो। उनी भन्छन्, ‘त्यसलाई खारेज गरिदिएर उनीहरूले हाम्रो परिचय खोसिदिएका छन्। यो कश्मीरीहरूलाई मान्य छैन्।’

निषेधाज्ञा हटेपछि प्रदर्शनकारीहरू सडकमा जम्मा हुनेछन् र सबै कश्मीरीले त्यसमा साथ दिनेछन् भन्ने उनको भविष्यवाणी छ। उनले भने, ‘प्रत्येक परिवारमा एक भा पृथक्तावादीसँग र अर्को (भारतीय) मूलधारसँग रहेको भन्ने गरिन्थ्यो। तर भारतीय सरकारले अहिले दुवैलाई एकै ठाउँमा ल्याइदिएको छ।’ उनकी बहिनी २० वर्षिया रुकसार रशीद कश्मीर विश्वविद्यालयमा आर्किटेक्टकी विद्यार्थी हुन्।

टेलिभिजनमा भारतीय गृहमन्त्रीको भाषण सुनेपछि उनका हात काम्न थाले र उनी नजिकै बसेकी उनकी आमा रुन थालिन्। ‘उहाँले यो भन्दा राम्रो त मृत्यु हो भनिरहनुभएको थियो’, उनी भन्छिन्, ‘व्याकुल भएर झस्किएर म निदाउँनै सकिन्। यही सहरको बाटमालो क्षेत्रमा बस्ने मेरा हजुरबुवा र आमाले त हाम्रो ठाउँ अफगानिस्तानमा परिणत भयो भनेर भन्नुभएको छ।’

भारतले आफूले शासन गर्दै आएको कश्मीर क्षेत्रमा यस्तो ठूलो कदम चाल्ने तयारी केही समय यता गरिरहेको देखिएको थियो। अघिल्लो महिना सुरुमा भारत सरकारले उक्त क्षेत्रमा आफूले ३५ हजार थप फौज पठाउने घोषणा गरेको थियो। परमाणु अस्त्र सम्पन्न भारत र पाकिस्तानबीचको विवादित भुमी रहेका कारण कश्मीर पहिल्यैदेखि विश्वकै सबैभन्दा बढी सैनिक उपस्थिति भएको क्षेत्र ठानिन्छ।

अघिल्लो हप्ता एउटा पवित्र तीर्थस्थल अमरनाथ गुफामा वर्षेनी गरिने धार्मिक यात्रा अधिकारीहरूले सम्भावित आतङ्कवादी आक्रमणको जोखिम रहेको चेतावनी दिएपछि अकस्मात् रद्द गरियो। त्यसपछि होटलहरू र चर्चित डल तालमा बस्न मिले गरी घर जस्तै बनाइएका डुङ्गाहरू पनि बन्द गरिएका थिए। पर्यटकहरूलाई सो क्षेत्रबाट जान भनिएको थियो। त्यतिखेरै कश्मीरका मानिसहरूलाई केही हुँदैछ भन्ने लागिसकेको थियो तर मेलै कुरा गरेका दर्जनौँ मानिसहरू मध्ये कसैलाई पनि भारतले यस्तो कठोर कदम चाल्छ र संविधानको एउटा अंशलाई नै एकतर्फी रूपमा गरिदिन्छ जस्तो लागेको थिएन।

सञ्चार अवरुद्ध हुनु भनेको विश्वस्नीय जानकारी पाउन कठिन हुनु पनि हो र यस्तोमा के भइरहेको छ भन्ने खबर मानिसहरूले गर्ने कुराकानीका आधारमा फैलिन्छ। बन्द भएपनि निरन्तर प्रदर्शनकारीहरूले सुरक्षाकर्मीलाई श्रीनगर र अरू ठाउँहरूमा पनि ढङ्गा हानिरहेको खबर हामीले दैनिक सुनिरहेका छौँ। प्रहरीले लखेट्दा एक प्रदर्शनकारीले नदीमा हाम फालेको र उ डुबेको पनि सुन्यौँ। कैयौँ मानिसहरू घाइते भएको र उनीहरूलाई अस्पतालमा लागिएको ठानिन्छ।

तर भारतीय सरकारले कश्मीरमा सबै ठीक छ भनेर देखाउन खोजिरहेको छ। भारतीय सञ्चारमाध्यमहरूले उग्रवादको केन्द्र भनेर व्याख्या गर्ने सोफियां गएर राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले चोकमा एउटा समूहसँग खाना खाइरहेको भिडिओ भारतीय टेलिभिजन च्यानलहरूमा बुधवार सार्वजनिक भएको थियो। त्यो विश्वलाई कश्मीरको सबैभन्दा अप्ठेरो क्षेत्रमा पनि भारत सरकारलाई लोकप्रिय समर्थन छ र त्यहाँ शान्ति र अमनचयन कायम छ भन्ने देखाउने प्रयास थियो।

तर कश्मीरीहरूले त्यसलाई नौटङ्की भन्दै खारेज गरिदिएका छन्। रिजवान मलिकको प्रश्न छ, ‘यदि मानिसहरू खुसी छन् भने किन कर्फ्यु लगाइयो, किन सञ्चार बन्द गरिएको छ?’ यो प्रश्न श्रीनगरमा घर, चोक, संवेदनशील भनिएका पुराना बजारहरूमा अनि गएको फेब्रुअरीमा सुरक्षा फौज लक्षित आत्मघाती हमला गर्ने उग्रवादीहरूको बसोबास भएको भनिएको दक्षिणको जिल्ला पुलवामा सबैतिर सोधिदैँ छ। पुलावामा आक्रमणले पाकिस्तान र भारतलाई युद्धको सङ्घारमा पुर्‍याएको थियो।

यो क्षेत्रमा म घुमिरहँदा सडक छेउ समूहमा भेला भएका वा हिँडिरहेका मानिसहरू कुरा गर्न इच्छुक रहेको इशारा गर्दै मेरो कार रोक्न सङ्केत गर्छन्।उनीहरू भन्छन्, कश्मीरीहरूको आवाज दबाइदैँ छ र उनीहरू आफ्नो आवाज सुनियोस् भन्ने चाहन्छन्। उनीहरू आफू कति आक्रोशित भएका छन् भनेर मलाई सुनाउँछन् र रक्तपात अवश्यम्भावी रहेको कठोर चेतावनी दिन्छन्।

‘कश्मीर अहिले आक्रमणमा परेको छ। जब यो अवस्था अन्त्य गरिन्छ, तनाव सुरु हुन्छ’, पुलावामाका एक वकिल जहिद हुसैन डार भन्छन्, ‘जब राजनीतिक र पृथक्तावादी नेताहरू बन्दीगृह वा नजरबन्दबाट मुक्त गरिन्छन्, आन्दोलनको आह्वान गरिनेछ र मानिसहरू बाहिर निस्कनेछन्।’ कतिपय भारतीय सञ्चारमाध्यमले अहिलेसम्म कश्मीर उपत्यकामा ठूला प्रदर्शन नभएको भन्दै मानिसहरूले भारत सरकारको निर्णय स्वीकार गरेको अर्थ लगाइरहेका छन्।

तर मैले देखेको कश्मीर उम्लिरहेको छ। बीस वर्षभन्दा लामो समयदेखि भारतीय शासनविरुद्ध चलिरहेको विद्रोहको समाचार सङ्कलन गर्ने क्रममा म नियमित रूपमा यस क्षेत्रको भ्रमणमा आइरहेकी छु। तर यसपटक व्यक्त भएका आक्रोश र प्रतिरोध अभूतपूर्व देखियो। यहाँका अधिकांश मानिसहरू सरकारले आफ्नो आदेश फिर्ता गरेर कश्मीरको विशेष हैसियत कायम गर्ने भन्दा तलको अन्य कुनै कुरा आफूलाई मान्य नहुने बताउँछन्।

आफ्नो निर्णयबाट पछि हट्न नजान्ने रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार परिचित छ र यसले विरोधमा उत्रिने विरूद्ध सरकार कठोर रूपमा प्रस्तुत हुने चिन्ताहरू बढाइदिएको छ। बिहीवार प्रधानमन्त्री मोदीले आफ्नो विवादास्पद निर्णयको बचाउ गर्ने क्रममा नयाँ युगको आरम्भ भएको बताए। उनले कश्मीरमा रोजगारीको अवसर र विकासको वाचा पनि गरे।

तर यहाँ धेरै जना पछि हट्न चाहदैनन्। यो कश्मीर वा भारत दुवैका लागि राम्रो सङ्केत होइन। हाइस्कुलमा अध्यनरत मुस्कान लतिफले अहिलेको कश्मीरको अवस्थालाई आँधी आउनुअघिको सन्नाटा का रूपमा व्याख्या गर्छिन्। ‘यो समुद्र शान्त रहेको तर सुनामीले तटलाई हान्न लागेको अवस्था जस्तै हो।’

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position