दक्षिणसँग वार्ता नगर्ने उत्तर कोरियाको घोषणा

डिसी नेपाल
३१ साउन २०७६ १८:३२

प्योङयाङ (एजेन्सी) । उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गर्दै आइन्दा दक्षिण कोरियासँग वार्तामा नबस्ने बताएको छ । दक्षिण कोरिया र अमेरिकाबीच सैन्य अभ्यास भएकोमा आक्रोशित प्योङ्याङले दक्षिणका राष्ट्रपतिको सम्बोधनप्रति तीखो प्रतिक्रिया जनाएको छ ।

उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेपछि पनि वार्तामा बस्न सकिन्छ भन्ने भ्रम नपाल्न दक्षिण कोरियालाई सजग गराएको छ । सो समितिको वक्तव्यमा दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन ले सन् २०४५ सम्म दुई कोरियाको एकता गरिसक्ने भनी दिएको भाषणको कटु आलोचना गरिएको छ । शुक्रवार सबेरै उत्तर कोरियाले दक्षिण कोरियाको पूर्वी तट पर्तिर दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ जुन गत केही सातामा छैटौँ त्यस्तो प्रहार हो ।

छ दिनअघि उत्तर कोरियाले दुईवटा छोटो दुरीका बलिस्टिक क्षेप्यास्त्र जापानको सागरमा प्रहार गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ–अनबीच जुनमा भएको भेटघाटमा परमाणु निरस्त्रीकरणबारे वार्ता पुनः सुरु गर्ने सहमति भएपश्चात् यी शृंखलाबद्ध परीक्षण भएका छन् । परमाणुअस्त्र विकासको आरोपमा उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गरिरहेको छ । जापानी शासनबाट कोरियाले पाएको मुक्तिको वार्षिकीका अवसरमा दक्षिण कोरियाका राष्ट्रपति मुनले कोरियाली प्रायःद्वीपको सन् २०४५ सम्ममा एकीकरण गरिने बताएका थिए । दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजन भएका थिए ।

उत्तर कोरियाको वक्तव्यमा अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासले ट्रम्प तथा मुन जे–इनसँग उसको सहमति तोडेको उल्लेख छ । दक्षिण कोरिया र अमेरिकाले गरेको संयुक्त सैन्य अभ्यासको मुख्य भाग अगस्ट ११ मा सुरु भएको थियो । ती अभ्यासहरू मुख्यतः कम्प्युटर सिम्युलेशनमा आधारित भएको बताइन्छ । तर त्यस्ता अभ्यासलाई उसले युद्धको तयारी भन्ने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *