इरानी ट्यांकर जफत गर्न अमेरिकी पूर्जी

डिसी नेपाल
३२ साउन २०७६ १७:४३

वाशिङ्टन (एजेन्सी) । जिब्राल्टरमा गत महिना नियन्त्रणमा लिइएको एउटा इरानी तेल ट्यांकरलाई त्यहाँका एकजना न्यायाधीशले घर फर्कने अनुमति दिने निर्णय गरेको भोलिपल्टै अमेरिकाको न्याय मन्त्रालयले उक्त ट्यांकर जफत गर्नका लागि पक्राउ पुर्जी जारी गरेको छ ।

ग्रेस–वान नामक उक्त ‘सुपर ट्यांकर’लाई गत जुलाई ४ मा ब्रिटेनको स्वशासित क्षेत्र जिब्राल्टरमा नियन्त्रणमा लिइएको थियो । तेल बोकेको सो ट्यांकर अवैध रूपमा सिरियातर्फ जाँदै गरेको शंका गरिएको थियो । अमेरिकाले उक्त ट्यांकरलाई नियन्त्रणमा लिन अन्तिम कानुनी प्रक्रिया अपनाउँदै गर्दा जिब्राल्टरले बिहीवार त्यसलाई अस्वीकार गरिदिएको थियो । इरानले पहिले नै उक्त ट्यांकरको नियन्त्रणलाई ‘अवैध अवरोध’ भनिसकेको छ ।

ग्रेस–वानलाई नियन्त्रणमा लिइएको दुई साता पश्चात् गत जुलाई १९ मा इरानले ब्रिटिश झण्डावाला एउटा ट्यांकर स्टेना इम्पेरियोलाई स्ट्रेट अफ हर्मुज भनिने क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । इरानी उक्त समुद्री जहाजले अन्तर्राष्ट्रिय सामुद्रिक नियमलाई तोडेको दाबी गरे पनि उक्त कार्यलाई जिब्राल्टरमा आफ्नो ट्यांकर पक्राउको प्रतिउत्तरमा उसले त्यस्तो गरेको ठानिन्छ ।

वाशिङ्टन ग्रेस–वान र त्यसमा रहेको सबै तेललाई जफत गर्न सकिने दाबी गर्छ । उसले अन्तर्राष्ट्रिय आकस्मिक आर्थिक अधिकार ऐन, बैंक छली, सम्पत्ति शुद्धिकरण र आतंकवाद कानुनको उल्लंघन गरेको आधारमा त्यसो गर्न सकिने दाबी गर्दै आएको छ । अमेरिकाले प्याराडाइज ग्लोबल ट्रेडिङ एलएलसीसँग जोडिएको एउटा नाम थाहा नभएको बैंकको खातामा रहेको ९ लाख ९५ हजार अमेरिकी डलर रकम जफत गर्न पनि आदेश दिएको छ । अमेरिकाले उक्त व्यापार इरानको रिभ्योलुसनरी गार्डका लागि काम गर्ने व्यवसायसँग सम्बन्धित रहेको दाबी गरेको छ । अमेरिकाले इरानको इस्लामिक रिभ्योलुसनरी गार्डलाई एउटा अन्तर्राष्ट्रिय आतंकवादी संगठन भनेको छ ।

जिब्राल्टरको सरकारले उसले इरानबाट ग्रेस–वान युरोपेली संघले प्रतिबन्ध लगाएको ठाउँ अर्थात् सिरियातर्फ नजाने आश्वासन पाएको बताएको थियो । ब्रिटेनको स्वशासित क्षेत्रका मुख्य मन्त्री फाबिएन पिकार्डोले भने, ‘हामीले सिरियाको असद शासनलाई १४ करोड डलर बराबरको कच्चा तेलबाट वञ्चित गरिसकेका छौँ ।’ एकजना न्यायाधीशले उक्त ट्यांकर छाड्ने आदेश दिएपछि पिकार्डोले उक्त समुद्री जहाज चाँडै नै जानसक्ने बताएका थिए । अमेरिकाको कदमप्रति ब्रिटेन र जिब्राल्टरले कुनै प्रतिक्रिया दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *