प्रधानमन्त्री ओलीलाई काम गर्न दिनुको विकल्प छैन

डिसी नेपाल
१ भदौ २०७६ ११:१८

मुलुकमा जनताले पत्याएका र जनआकाँक्षा पूरा गर्छु भनेर अगाडि सरेका जुनसुकै पार्टीका नेता हुन्, यदि जनताको र मुलुकको काम गर्छु, मुलुक बनाउँछु, जनतालाई सुखी बनाउँछु भन्छन् भने त्यसलाई सबैले समर्थन गर्नुपर्छ।

यस्तै प्रतिबद्धता लिएर र राष्ट्रियताको नारा दिएर कम्युनिष्ट पार्टीलाई एकीकृत गर्दै झण्डै दुई तिहाइ बहुमत नजिक पुर्याउने काम केपी ओलीले गरेको हो र यो काम सराहनीय नै हो। त्यसलाई सबैले अन्यथा भन्नु हुँदैन। लामो राजनीतिक अस्थिरतापछि मुलुकमा बहुमतको स्थिर सरकार गठन भएको छ।

सरकारले सुरुवाती चरणमा राम्रै काम गर्ने प्रयत्न गरेपनि त्यसपछि केही बाटो बिराएका थियो। बीचमा प्रधानमन्त्री स्वयं र उहाँको सल्लाहकार समूहमा बढेको अहंकार कारण सरकारको चौतर्फी आलोचना हुनुका साथै सरकार घेराबन्दी पनि परेको थियो। तर सरकारले अहिले गति लिएको अवस्था छ।

लोकतान्त्रिक शक्ति एकीकृत भएर अबको निर्वाचनमा लोकतान्त्रिक परिपाटी र पद्धतिलाई सार्थकता दिन र जनताको विश्वास जितेर समृद्ध मुलुक बनाएर लैजान सशक्त नेतृत्व अगाडि नआए यिनै बामपन्थी नेतृत्व राज्यसत्तामा नदोहोरिएला भन्न सकिँदैन।

तर, ओलीको अघिल्लो साताको सिंगापुर यात्रालाई फलोअप चेकअप र आराम गर्न भनेर प्रचारमा ल्याइयो । र, त्यस लगत्तै प्रधानमन्त्री ओलीको स्वास्थ्यको विषयमा जे हल्ला चल्यो, त्यसले राजनीतिक स्थायित्व र शान्ति चाहने आम नेपाली जनतालाई निराश बनाएको छ। सिद्धान्तको हिसावले र भोट हाल्ने कुराले कैयौं मानिस प्रधानमन्त्री ओलीको विचारधाराभन्दा फरक छन्। तर, उहाँले पाएको जनसमर्थनलाई शान्ति र स्थायित्वका लागि उहाँले काम गर्न खोजेको र गर्दै गरेको काम समर्थन योग्य छ।

त्यस्तो नेताको स्वास्थ्यका विषयमा चलाइएको हल्लाले म जस्तै धेरै नेपाली दुखी भए होलान्।  यो राम्रो कुरा होइन। र, त्यसै हल्ला चलेको पनि छैन। ओलीले लिएको राष्ट्रियताको अडान र ओलीले पाएको जनसमर्थन, ओलीले गर्न खोजेको राजनीतिक स्थायित्व र समृद्ध मुलुकको काम भने उहाँ पनि आउने नेताले पनि गर्नुपर्छ। त्यसलाई निरन्तरता दिनुपर्छ। ओलीलाई सफल बनाउन साथ दिनेहरुले त्यो कामलाई निरन्तरता दिने नै छन्।

लेखक

प्रजातान्त्रिक परिपाटी र पद्धतिको हिसावले अहिलेसम्मको ओलीको कार्यकाल भने आलोच्य नै रह्यो। लोकतान्त्रिक परिपाटी, लोकतान्त्रिक पद्धति र लोकतन्त्रका लागि भने जनताले लडाइँ गरे, संघर्ष गरे र त्यस्ता संघर्ष सफल हुँदै पनि आए। तर आखिर परिणाम भने त्यसको उल्टो हुँदा जनता निराश देखिएका छन्।

लोकतन्त्रको दुहाइ दिने र लोकतन्त्रका लागि काम गर्ने नेपाली कांग्रेस आफैंमा यति कमजोर भयो कि नेतृत्वलाई कसैले विश्वास नै गर्न नसकिने भयो। नेतृत्व आफ्नो स्वार्थ र आफ्नो गुटको स्वार्थ पूरा गर्न र अकुत आर्जन गर्नका लागि मात्रै लालायित भयो। त्यसको परिणाम स्वरुप लोकतन्त्रको अनुभूति जनतालाई नदिलाएपनि राष्ट्रियता, राजनीतिक स्थायित्व र स्थिरतका लागि जनताले कम्युनिष्टलाई समर्थन गरे।

लोकतान्त्रिक शक्ति एकीकृत भएर अबको निर्वाचनमा लोकतान्त्रिक परिपाटी र पद्धतिलाई सार्थकता दिन र जनताको विश्वास जितेर समृद्ध मुलुक बनाएर लैजान सशक्त नेतृत्व अगाडि नआए यिनै बामपन्थी नेतृत्व राज्यसत्तामा नदोहोरिएला भन्न सकिँदैन। तर, दोहोरिए पनि स्थिर र स्थायित्वका लागि काम भइरहोस्। ओली स्वस्थ रहुन्, उनलाई हेरेर जनताले अहिलेको जनमत दिएका हुन्। उनले यो कार्यकाल पूरा गरुन्। अहिले जनताले चाहेको पनि यही हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *