पाकिस्तानसँग वार्ता अब पीओकेबारे मात्र : रक्षामन्त्री सिंह

डिसी नेपाल
१ भदौ २०७६ १६:२३

नयाँ दिल्ली (एजेन्सी) । भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानसँग वार्ता पाकिस्तान प्रशासित कश्मीरबारे मात्र हुने बताएका छन् । भारतको हरियाणामा एक चुनावीसभालाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले यस्तो बताएका हुन् । २०१६ मा भारतको उरीमा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच वार्ता रोकिएको छ भने तनाव बढिरहेको छ ।

रक्षामन्त्री सिंहले पाकिस्तानले ‘आतंकवाद’लाई सहयोग गरेको फेरि आरोप लगाए । भारतले यस्तो आरोप सँधै लगाउने गर्छ । पाकिस्तानले सँधै त्यसको खण्डन गर्दै आएको छ । भारतले ‘आतंकवाद र वार्ता’ सँगै हुन नसक्ने अडान लिँदै आएको छ । पाकिस्तानले ‘आतंकवाद’लाई समर्थन गरेसम्म उसँग वार्ता नहुने रक्षामन्त्री सिंहले भारतको अडान फेरि दोहोर्याए । उनले देश विकास गर्नका लागि जम्मू कश्मीरको विशेषाधिकार खारेज गरिएकोसमेत दावी गरेका छन् ।

भारतले जम्मू कश्मीरलाई विशेषाधिकार दिने संविधानको धारा ३७० खारेज गरेपछि भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ । केही दिनअगाडि रक्षामन्त्री सिंहले आणविक हतियारबारे पनि बयान दिएका थिए ।

उनले आणविक हतियारको प्रयोग सम्बन्धि नीतिमा भारतले परिवर्तन गर्न सक्ने बताएका थिए । उनले भारतको पोखरणमा भनेका थिए, ‘आणविक हतियार पहिला प्रयोग नगर्ने नीतिमा भारत हालसम्म अडिग छ, तर अब अवस्थाअनुसार निर्णय लिनुपर्ने हुन्छ ।’

आणविक हतियारबारे रक्षामन्त्रीको यो भनाईबारे पाकिस्तानले कडा प्रतिक्रिया दिएको थियो । पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेशी र पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले भारतीय रक्षामन्त्रीको भनाई भड्काउ खालको भएको टिप्पणी गरेका थिए ।

पाकिस्तानले दक्षिण एसियाको डेढ अर्ब जनसंख्या आणविक हतियारको जोखिम रहेकोसमेत चेतावनी दिएको थियो । भारत र पाकिस्तान दुबै आणविक शक्ति सम्पन्न मुलुक हुन् । यी मुलुकहरुबीच तनाव हुँदा पूरा दक्षिण एसियामा अशान्ति हुने गर्दछ । भारत र पाकिस्तानबीच युद्ध भए यो युद्धबाट टाढा रहने अन्य दक्षिण एसियाली मुलुकले पनि क्षति ब्यहोर्नुपर्ने हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *