नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबार हुने

डिसी नेपाल
२ भदौ २०७६ ६:४५

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक यही भदौ ४ र ५ गते राजधानीमा हुने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुव्रमन्यम् जयशङ्करले आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्वका साथ बैठकको सहअध्यक्षता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा दुईपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै सम्पर्क सञ्जाल विस्तार, आर्थिक साझेदारी, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत पारस्परिक सहयोगका विविध क्षेत्र र आपसी चासोका अन्य विषयमा विचार विमर्श हुनेछ।

सन् १९८७ मा नेपाल–भारत संयुक्त आयोग स्थापना भएको हो । आयोगको बैठक नेपाल र भारतमा पालैपालो हुने गरेको छ । यसअघि सन् २०१६ को अक्टोबरमा नयाँदिल्लीमा आयोगको चौथो बैठक भएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा भारतका बाह्य मामिलामन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मन्त्री सुब्रमन्यम्को सम्मानमा परराष्ट्रमन्त्री ज्ञवालीले रात्रिभोजको आयोजना गर्नेछन् ।

भारतका बाह्य मामिलामन्त्री भदौ ४ गते काठमाडौँ आउने र भदौ ५ गते नयाँदिल्ली प्रस्थान गर्ने कार्यतालिका बनेको पनि उक्त मन्त्रालयले जनाएको छ। रासस




प्रतिक्रिया

One thought on “नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबार हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *