गुरुङ भन्छन– ‘मध्यपूर्व संयोजकमा मेरो उम्मेदवारी स्वभाविक, योगदानको मूल्यांकन अवस्य हुनेछ’

डिसी नेपाल
२ भदौ २०७६ १३:२६

काठमाडौं । २ महिनापछि अक्टोबर १३ देखि १६ तारिखसम्म गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव हुँदैछ। यतिवेला नवौँ विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने दुई महिनापछिको चुनावको गर्मी निकै बढेको छ। सम्मेलनको मिति नजिकिँदै गर्दा एनआरएनए आइसीसी तथा क्षेत्रीय नेतृत्वका लागि दाबेदारी दिनेहरू बढिरहेका छन्।

यसै क्रममा संघको मध्यपूर्व क्षेत्रीय संयोजकमा युवा व्यवसायी प्रविण गुरुङ पनि चुनावी मैदानमा उत्रिएका छन्। उनी हाल संघको मध्यपूर्व क्षेत्रीय उपसंयोजकको जिम्मेवारीमा छन्। विगत लामो समयदेखि कतारलाई आफ्नो कर्मथलो बनाएका गुरुङ मध्यपूर्वमा एक सफल नेपाली युवा व्यवसायी मानिन्छन्। उनी एनआरएनए कतारको २०१३–१५ कार्यकालमा उपाध्यक्ष हुँदै आठौं विश्व सम्मेलनबाट मध्यपूर्व उपसंयोजक पदमा निर्विरोध निर्वाचित भएका थिए।

उनी एक सफल व्यवसायीसँगै समाजसेवी पनि हुन्।केही दिन अघिमात्रै दोहामा गुरुङ उत्कृष्ट नेपाली व्यवसायीको रुपमा स्टार अवार्डले सम्मानित भएका थिए । गुरुङले कतारमा निर्माण कम्पनीदेखि क्रुजसम्ममा लगानी गरी हालै मात्र पाँच तारे होटलमा पहिलो पटक नेपाली दोहोरी रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन्। उनी व्यवसाय र समाजसेवासँगै एनआरएन अभियानमा सक्रिय रहेका छन्। गुरुङले कतारमा नेपाल आइडल, भ्वाइस अफ नेपाल, बुगीबुगी जस्ता चर्चित अन्तर्राष्ट्रिय रियालिटी शोको कार्यक्रमको ग्रान्ड फिनालेसमेत सफलतापुर्वक सम्पन्न गरिसकेका छन्।

केही दिन अघिमात्रै दोहामा उत्कृष्ट नेपाली व्यवसायीको रुपमा स्टार अवार्डले सम्मानित हुँदै गुरुङ

 

मध्यपूर्वी देशहरुमा समस्यामा परेका नेपालीलाई आर्थिक तथा नैतिक सहयोग गर्नै गुरुङले एनआरएनएले सञ्चालन गर्ने विभिन्न सामाजिक गतिविधिमासमेत सहयोग गर्दै आएका छन्।

गुरुङले आफूले पदको मोहले मध्यपूर्व संयोजक पद रोजेको नभई  संस्थाको हितको लागि उम्मेदवारी दिने बताएका छन्। उनले भने, ‘मैले केवल पदको लागि मात्र मध्यपूर्व संयोजक रोजेको होइन, मध्यपूर्वी देशमा काम गर्ने नेपालीको हित र संस्थालाई मजबुत बनाउन मेरो उम्मेदवारी हो।’

गुरुङले मध्यपूर्व संयोजकमा आफ्नो उम्मेदवारी स्वभाविक भएको बताए। ‘मध्यपूर्व उपसंयोजकपछि जाने भनेको स्वतः संयोजकमा नै हो ’ उनले भने । सहमति र सहकार्यमा विश्वास राख्ने गुरुङले मध्यपूर्वको एकताका लागि आफ्नो उम्मेदवारी दिएका थिएनन् । उनले डिसीनेपाललाई भने –‘आफ्नै साथीभाईलाई निःस्वार्थ भावानाले सहयोग र साथ दिंदा आज उनीहरुले नै धोका दिन खोज्दा मेरो मनले मानेन, त्यही भएर चुनावी मैदानमा उत्रिएको हुँ ।’

गुरुङले सकारात्मक सोच र हरेक कामलाई लगनका साथ हेर्नुपर्ने मान्यता राख्दै एनआरएनए मध्यपूर्वले धेरै मुद्दाहरूमा काम गर्न बाँकी रहेको वर्तमान अवस्थामा संस्थालाई थप गतिशील बनाउदैं प्रभावकारी कार्य दक्षता देखाउन सक्ने अनुभवी नेतृत्व चयन हुनु पर्नेमा जोड दिएका छन्।

उनले संस्थाभित्र रहेर काम गर्दाको अनुभव र भोगाइबाट संस्थालाई थप गतिशील बनाउन लिइएको लक्ष्य र केही कामको सूची रहेको बताएका छन्। मध्यपूर्वी देशहरूमा आएर नेपालीहरूले प्राप्त गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपाल र नेपालीको हितमा जोड्ने कामलाई परिणाममुखी बनाउने उनले प्राथमिक एजेन्डाका रूपमा अगाडि ल्याएका छन्।

अहिलेसम्म संस्थामा पाएको जिम्मेवारी आफूले इमान्दारी पूर्वक निभाएकोले मध्यपूर्व संयोजक बन्ने आधार नै आफ्नो योगदान र इमान्दारिता भएको गुरुङ बताउँछन् । ‘मध्यपूर्व संयोजकमा मेरो उम्मेदवारी स्वाभिक हो, सामाजिक कार्यमा मैले पुर्याएको योगदानको मूल्याकंन अवश्य हुनेछ।’

एनआरएनलाई नारामा जस्तै सबैको साझा संस्थाको रुपमा विकास गर्ने, सदस्यहरूका भावनाको प्रतिनिधित्व गर्ने, संस्थालाई आर्थिक रुपमा थप सबल बनाउने, संस्थाभित्रका विकृतिहरू हटाउन पहल गर्ने, समाजको बृहत्तर हित र नेपाली समुदायमा जो कोहीलाई पर्न सक्ने दुःख र विपदको समाधानको लागि आवश्यक पहल गर्नै जस्ता मुख्य एजेण्डाहरू उनले आफ्नो चुनावी घोषणा पत्रमा अघि सारेका छन्।

नेतृत्व आफ्नो पोल्टामा परे मध्यपूर्वमा काम गर्ने नेपालीहरुलाई धैरै नयाँ कुरा दिन आफ्नो प्राभवकारी भूमिका रहने उनले बताए। ‘मध्यपूर्वी मुलुकहरुका विभिन्न निकायसँग समन्वय गरेर आप्रवासी नेपालीहरुका समस्या समाधानमा मेरो नेतृत्वले एक किसिमको महत्वपुर्ण भूमिका खेल्नेछ’ उनले भने।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *