उपनिर्वाचनको तयारीमा कांग्रेस, कास्की दुईमा खेमराज पौडेललाई उम्मेद्वार बनाउने तयारी

डिसी नेपाल
३ भदौ २०७६ ७:३५

काठमाडौं। सरकारले आगामी मंसिरमा देशभरका रिक्त स्थानमा उपनिर्वाचन गर्ने तयारी गरेको गरेसँगै राजनीतिक दलहरूले चुनावी अभियान सुरु गरेका छन्। उपनिर्वाचनलाई नै लक्षित गरेर साउन ३१ शुक्रबार प्रमुख विपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरू कास्कीको पोखरा पुगेका थिए।

कांग्रेसको गण्डकी प्रदेशस्तरीय महाधिवेशन प्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा सहभागी हुन सभापति शेरबहादुर देउवा शीर्ष नेताहरूका साथ पोखरा पुग्नुलाई उपनिर्वाचनको तयारीका रूपमा हेरिएको छ। कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा सभापति देउवाले आउँदो उपनिर्वाचनमा एकजुट भएर कांग्रेसका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिएका थिए।

यसैबीच कांग्रेसले कास्की क्षेत्र नम्बर दुईमा पार्टीकातर्फबाट उम्मेद्वारको टुंगो लगाएको छ। स्रोतका अनुसार कांग्रेसले कास्की क्षेत्र नम्बर दुईमा कांग्रेसका पुराना नेता खेमराज पौडेललाई उम्मेद्वार बनाउने भएको हो। साउन ३१ गते पोखरा पुगेका सभापति देउवाले सबै जसो आकाँक्षीसँग भेटघाट गरेका थिए।

नेता तथा कार्यकर्ताको सुझावपछि सभापति देउवाले खेमराज पौडेललाई उम्मेद्वार बनाउँदा पार्टीले जित्ने र पौडेलमाथि पनि न्याय हुने भन्दै कांग्रेसका तर्फबाट पौडेललाई नै उम्मेद्वार बनाउने बताएको स्रोतले जनायो।

कांग्रेसले कास्की क्षेत्र नम्बर दुईमा कांग्रेसका पुराना नेता खेमराज पौडेललाई उम्मेद्वार बनाउने भएको हो।

यद्यपी यसको आधिकारिक घोषणा भने भइसकेको छैन। कास्कीमा कांग्रेसका अभिभावक समेत भनिने पौडेल प्रतिबन्धित अवस्थादेखि कांग्रेसका सक्रिय सदस्य हुन्। लामो समय शिक्षक पेशामा संलग्न पौडेललाई  कास्की क्षेत्र नम्बर दुईबाट उम्मेद्वार बनाउने  भन्दै २०४८ सालमा राजीनामा  दिन लगाइएको थियो। तर पछि उनको ठाउँमा शुक्रराज शर्मालाई उम्मेद्वार बनाएकाे थियाे। शर्मा पनि तत्कालीन एमाले उम्मेद्वार तुलबहादुर गुरुङसँग पराजित भएका थिए।

‘विपी र किशुनजीका अनुयायी र सागदी जीवन बिताउँदै आएको थापा पाएपछि सभापतिजीले उहाँलाई नै टिकट दिने वचन दिनु भएको छ,’ स्रोतले डिसी नेपालसँग भन्यो, ‘यो बीचमा समापति दुई पटक पोखरा आउनु भयो। तर, पछिल्लो समय उम्मेद्वारका आकाँक्षी कसैलाई पनि भेट्नु भएन। किन भने उहाँले पहिला नै खेमराज पौडेललाई टिकट दिने वचन दिइसक्नु भएको छ।’

सर्वस्वीकार्य र आदर्शवादी व्यक्ति भएका कारण पौडेललाई टिकक दिँदा विवाद नहुने र सबैले सहयोग गर्ने देखिएपछि पौडेलले टिकट पाउने निश्चित भएको कांग्रेस स्रोतले जनाएको छ।

त्यसो त कास्की क्षेत्र नम्बर दुईबाट उम्मेद्वार बन्न वरिष्ठ नेता रामचन्द्र पौडेल पनि लागी परेको स्रोतले जनायो। पछिल्लो समय रामचन्द्र पौडेल र धनराज गुरुङले कास्कीबाट चुनाव लड्न चासो देखाएका छन्। यी बाहेक यसअघि रवीन्द्र अधिकारीसँग पराजित देवराज चालिसे र सोवियत बहादुर अधिकारी पनि उम्मेद्वारका आकाँक्षी हुन्।

वैद्य र विप्लव समूहले सक्रिय बहिष्कार गर्ने र नेकपाप्रति पहिलाको जस्तो आकर्षण नरहेकाले पुराना नेता पौडेललाई टिकट दिँदा कांग्रेसले जित्ने भन्दै सभापतिलाई आश्वस्त पारेपछि पौडेलले टिकट पाउने निश्चित भएको स्रोतले जनायो।

सो क्षेत्रबाट निर्वाचित नेकपा सांसद एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएकाले सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। उक्त क्षेत्रमा सम्पूर्ण शक्ति लगाएर जित हासिल गर्ने लक्ष्य कांग्रेसले बनाएको  छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *