आलोचना नचाहने ओली र अपमान नसहने नेपालबीच घम्साघम्सी!

डिसी नेपाल
६ भदौ २०७६ ७:३४

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवायलय सदस्य माधवकुमार नेपालको लिखित असहमतिबारे छलफल भएन। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा नेता नेपालको लिखित असहमतिले छलफलका लागि प्रवेश नै पाएन।

नेता नेपालले पार्टी विधि, पद्धति र विधानअनुसार नचलेको भन्दै मंगलबार सचिवालयमा लिखित असहमति दर्ज गरेका थिए । नेता नेपालले विधानअनुरूप पार्टी विधि, पद्धति, मापदण्ड र कमिटी प्रणालीअनुसार चल्नुपर्नेमा त्यसो नभएको उल्लेख गरेका थिए ।

उनले ‘एक व्यक्ति एक प्रमुख जिम्मेवारी’ को कुरा अघि सार्दै यो वैधानिक व्यवस्था पार्टी अध्यक्षद्वयदेखि सबै व्यक्तिमा लागू हुनुपर्ने माग गरेका छन् । उनको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद रोज्नुपर्नेछ।

सचिवालय बैठकले नेता नेपालले दर्ज गराएको सातबुँदे असहमतिमाथि छलफल आवश्यक नठानेको सचिवालय सदस्य बामदेव गौतमले संचारकर्मीलाई बताए। नेपालले दर्ता गराएको असहमतिबारे सचिवालयमा कुनै छलफल नभएको उनको भनाइ थियो।

आफ्नो अपमान सहन नसक्ने नेता नेपाल र आलोचना सुन्न नचाहने ओलीबीचको टकराव उत्कर्षमा पुगेको छ। अहिले नेता नेपाल पार्टीभित्र अल्पमतमा छन्। नौ सदस्यीय सचिवालयमा उनी एक्ला देखिएका छन्।

त्यति मात्रै होइन बिहीबारको सचिवालय बैठकमा अध्यक्ष केपी ओली र नेता माधव नेपालबीच चर्का चर्कीसमेत भएको छ। तेस्रो वरियता खोसेर चौथोमा पुर्याएदेखि नै आक्रोशित भएका नेता नेपालले आफू दर्ता गराएको लिखित असहमतिका विषयमा सचिवालय बैठकमा छलफल नभएपछि उनी थप आक्रोशित भएका थिए।

बिहीबार प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जानु अगाडि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसेको थियो। बैठक सुरु हुनासाथ प्रधानमन्त्री ओलीले एजेण्डामा छलफल नहुने भन्दै आफ्नो स्वास्थ्यलाभको कामना गर्न र त्यही शुभकामना लिएर आफू उपचारमा जाने बताएका थिए।

साथै ओलीले आफ्नो अनुपस्थितिमा बैठक बोलाउने र निर्णण गर्ने जिम्मा प्रचण्डलाई लिएको र प्रचण्डले आफ्नो अनुपस्थितिमा बैठक बोलाउन र निर्णय गर्न सक्ने बताएका थिए। प्रधानमन्त्री ओलीले सबै निर्णय सहमतिका आधारमा गर्न भनेपछि माधव नेपालले प्रतिवाद गरे।

स्रोतका अनुसार नेता नेपालले कुनै पनि हालतमा सर्वसम्मत निर्णय हुन नसक्ने अडान लिए। ‘सबै निर्णय एकलौटी गरेर कसरी सर्वसम्मत हुन्छ? असहमतिकै बीचमा तपाईहरूले थुप्रै निर्णय गर्नुभएको छ । अबचाहिँ कसरी सहमति? मैले आफ्नो असहमतिका कुरा लिखित रूपमा रखिसकेको छु। त्यसलाई पनि प्रस्तावका रूपमा छलफल गरेर लैजाऔं,’ नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

नेता नेपाल आक्रोशित भएपछि अर्का अध्यक्ष प्रचण्डले स्थितिलाई साम्य पार्ने प्रयास गरेका थिए।  प्रचण्डले प्रधानमन्त्री उपचार गर्न सिंगापुर जान लागेको बेला आवेश, आक्रोशले नभइ संयमता अपनाउनु पर्ने बताएका थिए। प्रचण्डले प्रधानमन्त्रीको स्वाथ्यलाभको कामना गर्न प्रस्ताव गरेका थिए।

‘म प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गर्छु। छिट्टै पार्टीको एजेन्डामा छलफल गर्नका लागि प्रधानमन्त्रीले भनेझैं पार्टीको बैठक बोलाउँछु । छलफल, बहस गर्दै सहमतिकै आधारमा हामीले पार्टी सञ्चालन गर्ने हो। मिलेरै पार्टीलाई अगाडि लैजानुको विकल्पै छैन,’ प्रचण्डलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

आफ्नो अपमान सहन नसक्ने नेता नेपाल र आलोचना सुन्न नचाहने ओलीबीचको टकराव उत्कर्षमा पुगेको छ। अहिले नेता नेपाल पार्टीभित्र अल्पमतमा छन्। नौ सदस्यीय सचिवालयमा उनी एक्ला देखिएका छन्। यद्यपी नेता नेपाललाई ‘बाइकट’ गरेर जानसक्ने स्थिति भने पार्टी भित्र छैन। यदि दुई वर्षभित्रै महाधिवेशन हुने हो भने नेकपाभित्र नेता नेपाल नै निर्णायक हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *