माग अनुसार प्रदेश र स्थानीय सरकारको बजेट समायोजन गरिने

डिसी नेपाल
६ भदौ २०७६ २०:२२

काठमाडौं। संघीय सरकारले प्रदेश र स्थानीय तहलाई माग गरे अनुसारको रकम समायोजन गर्ने भएको छ । अर्थ मन्त्रालयमा शुक्रबार बसेको अन्तर सरकारी वित्त परिषद्को चालु आर्थिक बर्षको पहिलो बैठकले प्रदेश र स्थानीय तहले माग गरे अनुसार वित्तिय समानिकरण र अनुदानको रकम समायोजन गर्ने निर्णय गरेको हो ।

यस सम्बन्धी प्रस्ताव अर्थमन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा लैजाने निर्णय पनि बैठकमा भएको छ । मन्त्रालयमा भएको छलफलपछि संवाददातासंग कुरा गर्दे प्रवक्ता उत्तर कुमार खत्रीले मन्त्रिपरिषद्ले गर्ने निर्णयपछि प्रदेश र स्थानीय तहले वित्तिय समानिकरण र अनुदान रकमका लागि गरेको गुनासो हट्ने विश्वास व्यक्त गरे।

बैठकमा संघ, प्रदेश र स्थानीय तहमा लगाइएका कर तथा शुल्कहरुको कार्यान्वयनमा देखिएका समस्याबारे वृहत छलफल भएको छ । तीनै तहका सरकारले लगाएका कर असुलीमा देखिएको समस्या, राजश्व र खर्चको लेखाविधि र त्यसको प्रतिवेदन प्रणाली लगायत विषयमा पति छलफल भएको छ ।

विशेष गरेर बजेट कार्यान्वयनमा देखिएका अन्तर सरकार र अन्तर निकायगत समस्याहरुको समाधान खोज्ने विषयमा बैठक केन्द्रीत भएको थियो । बैठकमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री एवं अन्य प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरु लगायत परिषद्का सबै सदस्यहरु र विज्ञहरुले वित्तीय संघीयता कार्यान्वयनमा देखा परेका समस्या र समाधानका उपाय बारे धारणा राखेका थिए।

त्यसैगरी अर्थमन्त्रालयका सचिव राजन खनालले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका तत्कालीन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले वित्त हस्तान्तरण तथा रोयल्टी बाँडफाँडका सम्बन्धमा धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *