पहिलो पटक सचिवालय बैठकको अध्यक्षता गर्दै प्रचण्ड, बैठक बोलाउन अघि राष्ट्रपतिसँग पनि छलफल

डिसी नेपाल
८ भदौ २०७६ २०:०४

काठमाडौं। तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि बनेको नेकपाको अध्यक्षमा केपी ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड पनि अध्यक्ष बने। तर, पार्टी एकताको करिब १५ महिनापछिमात्र उनले पार्टी बैठकको अध्यक्षता गर्ने मौका पाएका छन्।

उनले सोमबार दिउँसो १ बजेका लागि पार्टी सचिवालयको बैठक बोलाएका छन्। प्रचण्डले अर्का अध्यक्ष तथा केपी ओली देशमा नभएको अवसरको उपयोग गर्दै पार्टी सचिवालयको बैठक बोलाएपछि एकीकृत पार्टी बैठकको अध्यक्षता पहिलो पटक गर्न लागेका हुन्।

प्रचण्डले बैठक बोलाउनु अघि पार्टीका नेताहरुका साथै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरेका छन्। आइबार बिहान प्रचण्ड शितल निवास पुगेका थिए। शितल निवासमा वर्तमान राजनीतिबारे छलफल भएको शितल निवास स्रोतले जनाएको छ ।

त्यसअघि प्रचण्डले पार्टी स्कुल विभाग प्रमुख तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल गरेका थिए। त्यसअघि उनले पार्टी वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेका थिए। सोमबारको बैठकमा महानगर र उपमहानगर पार्टी इन्चार्ज र सहइन्चार्जबारे छलफल हुने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *