रवि लामिछानेको बैंक खाताको खोजी गरिँदै, प्रहरीले राष्ट्र बैंकलाई पत्र लेख्यो

डिसी नेपाल
९ भदौ २०७६ १७:००

काठमाडौं। प्रहरीले पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन कसुर अपराधका आरोपी तीनै जनाको बैंक खाता र सो खाताको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले भदौ ४ गते नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको बैंक खाता विवरण माग गरेको हो।

चितवन जिल्ला अदालतमा दर्ता अभियोगपत्रमा समावेश पत्रअनुसार तीनै प्रतिवादीहरुको नेपालका वाणिज्य बैंकहरुमा भएका खाता र तिनको विवरण माग गरिएको छ। सरकारी वकिलले अदालतमा बुझाएको मिसिलको सबुत प्रमाण क्रम संख्या ६६ मा पत्र पठाएको विवरण उल्लेख छ।

चितवनको होटल कंगारुमा साउन २० मा आत्महत्या गरेका पत्रकार शालिकरामले मर्नुअघि बनाएको भिडियोमा प्रस्तोता रविसहित सिधाकुरा जनतासँगको टिमले करोडौं रकम उठाएको उल्लेख गरेका थिए। रविले ठूला ब्यापारी र तस्करसँग रकम असुलेको र आफूलाई थोरै रकम दिएको आरोप लगाएका थिए। यो बाहेक उनले मासिक १५ लाख रुपैयाँ अमेरिका पठाउने गरेको विषय सार्वजनिक भएपछि प्रहरीले उनको बैंक खाता तथा कारोबार खोजबिन सुरु गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *