रवि लामिछाने धरौटीमा रिहा, रुकु कार्की साधारण तारेखमा रिहा

डिसी नेपाल
९ भदौ २०७६ १८:१९

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको शंकास्पद मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन अभियोगमा हिरासतमा रहेका न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने धरौटीमा रिहा भएका छन्।

थुनछेक बहसपछि सोमबार जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनीसँगै सोही अभियोगमा पक्राउ परेका युवराज कँडेल पनि धरौटीमा रिहा भएका छन् । कँडेललाई ३ लाख धरौटीमा रिहा भएका छन् । अर्की अभियुक्त रुकु कार्की साधारण तारेखमा रिहा भएकी छन् ।
अदालतले लामिछाने र कँडेललाई अदालतको अनुमतिबिना देशबाहिर जान नपाउनेसमेत आदेश दिएको छ। यस्तै लामिछानले यो विषयमा कुनै टेलिभिजन कार्यक्रम पनि बनाउन नपाउने अदालतले आदेश दिएको छ।

सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

२० साउनमा चितवनको कंगारु होटलमा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण मर्न बाध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्याद थपेर अनुसन्धान गरेको थियो । प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयलाई पेश गरेको फाइलको आधारमा जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *