बेसहारा दम्पतिलाई नगरप्रमुखले बनाइदिए नयाँ घर

डिसी नेपाल
१० भदौ २०७६ १६:२१

बाग्लुङ । गलकोट नगरपालिका–९ छिसका ७८ वर्षीय चन्द्रबहादुर रामजालीसँग बासको नाममा खरको झुपडी थियो।

के खाने के लाउने चिन्ताले उसैगरी सताउँथ्यो। न सम्पत्ति न कमाइ। सामाजिक सुरक्षा भत्ताको भरमा गर्जो टथ्र्यो। रामजाली र उनकी श्रीमती ८० वर्षीया सरस्वतीको जीवन यसरी नै गुज्रदै थियो।

वृद्ध अवस्थामा पुगेको रामजाली दम्पतीको कष्टपूर्ण दैनिकी देखेर सहयोगी हात अघि बढ्न थाले। खानेकुरा र बिछ्यौना नै नभएको देखेपछि गत फागुनमा स्थानीय सामाजिक संस्थाले सहायता दिएका थिए।

वडा नं ७ मल्मको घुम्टे युवा परिवारले दश हजार बराबरको खाद्यान्न र कपडा प्रदान गर्यो। स्थानीय नवज्योति युवा क्लबले पनि सहयोग गर्यो। बुढेसकालमा बेसहारा बनेका दम्पतीलाई व्यक्तिगत सहयोग पनि आउन थाल्यो।

रामजाली दम्पत्तिको दयनीय अवस्थाबारे थाहा पाएपछि ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई पनि सहयोगको भावना जाग्यो। उनले घर निर्माणका लागि व्यक्तिगत रुपमा दुई लाख दिने निर्णय लिए। सोही सहयोगबाट बनेको दुई कोठे घर र शौचालय सोमबार रामजाली दम्पतीलाई हस्तान्तरण गरियो।

घर हस्तान्तरणपछि नगरप्रमुख पौडेलले रामजाली दम्पतीको पालनपोषणमा पनि सघाउने प्रतिबद्धता व्यक्त गरे। ‘वृद्ध अवस्थामा बेसहारा बनेको र बस्नलाई घरसमेत नभएको कुरा सुनेपछि सहयोग गर्ने सोच आयो’, उनले भने, ‘बेसाहारा दम्पतीका लागि सहयोग गर्न पाउँदा खुशी लागेको छ।’

‘मेरो मान्यता सबै नेपाली सुखी भएर बाँच्नुपर्छ भन्ने हो, सोहीअनुसार मैले सक्दो सहयोग गर्दै पनि आएको छु’, उनले भने। रामजाली दम्पतीको घर निर्माणको जिम्मा नवज्योति युवा क्लबले लिएको थियो। ‘पिलर’ राखेर भूकम्प प्रतिरोधी हिसाबले घर निर्माण गरिएको क्लबका अध्यक्ष सुरेन्द्र केसीले बताए।

गत वर्ष क्लबकै कार्यक्रममा प्रमुख अतिथि बनेर आएका नगरप्रमुख नेपालीले रामजाली दम्पतीलाई घर बनाइदिने घोषणा गरेका थिए।

सोमबार नयाँ घर पाएपछि रामजाली दम्पती खुशी देखिएका थिए। घर हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका अगुवा र सर्वसाधारणसमेतले नगरप्रमुख नेपालीले गरेको सहयोगको प्रशंसा गरेका थिए।

सम्पत्ति र जग्गा केही नभएपछि रामजाली दम्पतीले सामाजिक सुरक्षा भत्ताको भरमा जीविका चलाउँदै आएका छ। भएकी एउटी छोरी पनि बिहे गरेर गएपछि उनीहरु बुढ्यौलीमा बेसहाराझैँ बनेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *