श्याम परदेशीको विरुद्धमा बुधबार माईतीघरमा धर्ना

डिसी नेपाल
१० भदौ २०७६ १६:५२

काठमाडौं । श्याम परदेशी पीडित संघर्ष समिति, सर्लाहीले सर्लाही मलंगवा नगरपालिका वडा नम्बर ४ बस्ने श्याम परदेशी भनिने श्यामकृष्ण साह कलवारले सर्लाहीलगायत विभिन्न ठाउँका सोझासिधा गरिब, निमुखाहरुलाई ऋण लगानी गर्ने नाममा एउटै ऋणमा परिवारका विभिन्न व्यक्तिहरुसँग फरक–फरक कागज गराउने, ऋण लिएको रकमभन्दा दशौं गुणा बढिको कागज गराउनेलगायत धेरै अन्याय र शोषण गरेको भन्दै भदौ ११ गतेबाट काठमाडौंको माईतीघर मण्डलामा धर्नामा बस्ने घोषणा गरेको छ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले यस्तो घोषणा गरेको हो। पीडितहरुलाई न्याय दिलाउनको लागि संघर्ष समितिले प्रमुख दलका प्रमुख नेताहरु, गृहमन्त्री, कानूनमन्त्री, महान्यायाधिवक्ता, सभामुख र प्रमुख पार्टीका संसदीय दलका कार्यालयहरुमा पत्र बुझाउने पनि जनाएको छ।

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सोझासाझा गरिबहरुले कयौंले कति रकमको कागज गरियो थाहा पाउनुपर्ने कानूनी प्रावधानको विपरित तमसुक गराउने, थाहा पाउनुपर्ने यो व्यवहारिक चलनलाई उल्लंघन गर्ने, लिएको ऋण तिरपेपछि सबै कागज च्यातिदिई हाल्छु भन्ने तर कागज नच्याती साुह शाम परदेशीले झुक्याएर गरेका सबै कागजको एकमुष्ट साँवा ब्याज दाबी गरेपछि ऋणीहरु आपतमा पर्ने र त्यस्तो बखत घरका जवान महिलाहरुलाई साँझ पठाईदिए ब्याज मिनाह गर्नेलगायतका प्रस्ताव राख्ने, कतिपय ऋणीलाई ऋण–ब्याज बुझाउन घरमा जाँदा हातपातको प्रयाससमेत गर्ने गरेको, उसले भनेको कुरा नमान्दा अदालतमा लेनदेनको मुद्दा हालि केहीलाई अहिले थुनामा राखेको छ। केही मान्छेहरु भागेका छन्। कैयौं माथि अदालतमा मुद्दा चलिरहेको छ। कतिपय मान्छेहरुको निजले हडपेको छ।’

समितिका अनुसार हालसम्म आफूहरुसँग जोडिएका १५० जना व्यक्तिले ल्उिको बास्तविक ऋण एक करोड ९ लाख ५१ हजार साँवा हो। विभिन्न पटक १ करोड ४७ लाख ४ हजार तिरिसकेको छ। तर, निज कलवारले अझैपनि ७ करोड तिर्नुपर्ने भन्दै दाबी गरेको छ। जुन कुरा झुठो हो।

निज कलवारको केही वर्षअघि सम्म मात्रै सामान्य आर्थिक हैसियत रहेको तर अहिले सोझा सिधा मान्छेको शोषण गरेर आफ्नो नाममा, आफ्नी श्रीमती, छोराछोरी, ज्वाँई आदिको नाममा करोडौंको जायजेथा जोडेको पनि समितिको दाबी छ। समितिले भनेको छ,‘यतिका श्रीसम्पत्ति थोरै समयमा कसरी आर्जन गर्न सम्भव छ ? यसलाई समेत छानबिनको दायरामा ल्याई हामी शोषित पीडितलाई न्याय दिलाई दिनु हार्दिक अनुरोध छ।’

पीडितहरुले आफूहरुले लिएको बास्तविक ऋणको साँवा र ब्याज तिर्न भने अहिलेपनि तयार रहेको बताए। तर, झुक्याएर गराएको लिखित रकम तिर्न सक्ने अवस्था नभएको उनीहरुको स्पष्टोक्ति थियो। पीडितहरुले आफूहरु यतिवेला ठूलो मारमा परेको दुःखेसो पोखेका छन्।

विगत दुई वर्षदेखि आफूहरु ठूलो डर, त्रास र चिन्तामा बस्न बाध्य हुँदै आएको पनि उनीहरुको गुनासो छ।
समितिले जारी गरेको विज्ञप्तीमा थप भनिएको छ,‘सर्लाही गएर यथार्थ बुझि हामीले लिएको ऋणको नियमाअनुसारको साँवा, ब्याज निजलाई हस्तान्तरण गरि गराई अनावश्यक हामी माथि थोपारिएको ठूलो धनराशी र कानुनी झनझटबाट मुक्ति दिलाई हामीलाई यो शोषणबाट मुक्त गराउन सबैमा अपिल गर्दछौं।’

समितिले संघर्षका कार्यक्रमहरुसमेत घोषणा गरेको छ। उसले घोषणा गरेबमोजिम यही भदौ ११ गते पीडितहरु माईतीघर मण्डलामा धर्नामा बस्ने, प्रमुख दलका प्रमुख नेताहरुसँग भेटवार्ता गरेर ज्ञापनपत्र बुझाउने, गृहमन्त्री, कानूनमन्त्री, सभामुख, महान्यायाधिवक्ता, प्रमुख पार्टीका संसदीय दलको कार्यालयमा पत्र बुझाउनेलगायत छन्।

कार्यक्रममा पीडितहरु रुक्मिणि चौधरी, फत्मा खातुन, रीना साह, उर्मिला चौधरी र सुमित्रा चौधरीलगायतले आ–आफ्नो पीडा सुनाएका थिए। उनीहरुले राज्यले आफूहरुलाई न्याय दिलाउनुपर्ने माग गरेका छन्।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला ईन्चार्ज डाचाराज वाग्लेले राज्यले गरिब, निमुखाहरुमाथि भएको यस्तो शोषणबाट उनीहरुलाई मुक्ति दिलाउनुपर्ने बताए।

आफूहरुले दुई वर्षदेखि जिल्लाबाट न्याय दिलाउनको लागि पहल गरेको पनि उनले सुनाए। कार्यक्रमको सञ्चालन भने नेकपाका प्रदेश कमिटी सदस्य कमल बुढाथोकीले गरेका थिए। उनले भारतको हरियाणा र दिल्लीका किसानहरु ऋण तिर्न नसकेर झुण्डिएर मर्न बाध्य भएको सुनाउँदै त्यस्तो अवस्था नेपालमा नआओस भन्ने कामना गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *