व्यास नगरपालिकाका एक हजार आयोजना सम्पन्न

डिसी नेपाल
१२ भदौ २०७६ १६:०३

तनहुँ । तनहुँको व्यास नगरपालिकामा एक वर्षको अवधिमा एक हजार १३० आयोजना पूरा भएको छ।

उक्त नगरपालिकाको पुनर्संरचनापछि समावेश भएका वडाहरुको सन्तुलित र न्यायपूर्ण विकास गर्ने उद्देश्यले नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा एक हजार २३० आयोजना सञ्चालन गरेकामा ती आयोजना सम्पन्न भएको जनाएको हो।

वडा समितिको निर्णयबाट प्रत्येक वडामा एक करोड सात लाखको लागतमा सहभागितामूलक विकास आयोजनाहरु समानुपातिक आधारमा सञ्चालन भएका थिए।

सबै आयोजना वडा समितिको निर्णयबाट र नगरस्तरीय ठूला तथा साना आयोजनाहरुसमेत गरी उक्त वर्ष एक हजार १३० आयोजना सम्पन्न भई सय आयोजना क्रमागत रहेको नगरपालिकाका योजना शाखाप्रमुख तथा वरिष्ठ इञ्जिनीयर राजु पौडेलले जानकारी दिए।

उक्त अवधिमा सम्पन्न भएका सबै आयोजनामा भुक्तानी भइसकेको छ भने क्रमागत रहेको आयोजनाको भुक्तानी हुन बाँकी रहेको उनले बताए। ‘केही ठूला आयोजना गत वर्षबाट शुरु भएकामा सम्पन्न हुन बाँकी छ,’ उनले भने, ‘ती आयोजना यस वर्ष पनि सञ्चालन हुनेछन्।’

नगरप्रमुख बैकुण्ठ न्यौपानेले स्रोत र साधनको सीमितता, राजश्व असुली एवं जनशक्ति व्यवस्थापनमा विद्यमान कानूनी अस्पष्टता तथा अन्य व्यवस्थापकीय समस्याका कारण विकास निर्माण प्रक्रिया सोचेअनुरुप अगाडि बढाउन नसकिए पनि केही दीर्घकालीन महत्वका आयोजनालाई गत आर्थिक वर्षमा सञ्चालन गरिएको जानकारी दिए। नगरपालिकाले गत आर्थिक वर्षमा विकास आयोजनाका लागि ४७ करोड ४९ लाख बजेट विनियोजन गरेको थियो।

पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने पार्क निर्माणका लागि उक्त नगरपालिका–३ स्थित अनसन चौतारी नजीक रहेको खुल्ला चौरमा व्यास पराशर पार्क निर्माणका लागि विस्तृत आआयोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको नगरपालिकाले जनाएको छ। पार्क निर्माणका लागि पाँच करोड अनुमान गरिए पनि विस्तृत अध्ययन गर्दा यसको लागत परिवर्तन हुन सक्नेछ।

नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहलगानीमा मादी नदीमा बहुउद्देश्यीय कृत्रिम ताल निर्माणका लागि सम्भाव्यता अध्ययन अगाडि बढाएको र त्यसका लागि चालू आर्थिक वर्षमा ४० लाख बजेट विनियोजन गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। नगरपालिकाले गत वर्ष नै प्रदेश सरकारसँगको साझेदारीमा वडा नं १० मा कृत्रिम ताल निर्माण शुरु गरिसकेको छ।

सोही ठाउँको नारेश्वर खोलाको पानी थुनेर बनाइने ताल २८ रोपनी क्षेत्रफलमा फैलिनेछ। गत वर्ष रु २० लाख बजेट विनियोजन गरेको नगरपालिकाले सोही ताल निर्माणका लागि चालू आर्थिक वर्षमा एक करोड विनियोजन गरेको छ।

नगरपालिकाले गत आर्थिक वर्षमा वडा नं ४ र १० को वडा कार्यालय भवन निर्माण गरेको छ भने ५ र ७ को वडा कार्यालय भवन चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने जनाएको छ। नगरपालिकाले विश्व बैंकसँगको सघन शहरी विकास कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारी गरेको छ भने विद्युतीकरण, सडकबत्ती व्यवस्थापन, स्वरोजगार उन्मुख कार्यक्रमहरु, खानेपानी सिँचाइ, कृषिजन्य कार्यक्रमहरु क्रमिक रुपमा अघि बढाइने जनाएको छ।

नगरउपप्रमुख मीरा जोशीका अनुसार गत वर्षदेखि नै फोहर सङ्कलनलाई वर्गीकरण गरी व्यवस्थित गर्न थालिएको छ। फोहरलाई मोहरमा परिणत गर्न पुनः प्रयोगमा आउने फोहर बिक्री गर्न थालिएको उनले जानकारी दिइन्। ल्याण्डफिल्ड साइटको अभावमा हाल मादी नदी किनारमा रहेको भतेरीमा फोहोर विसर्जन गर्ने गरिएको छ।

नगरपालिकाले वडा नं ५ स्थित टेकनथुम्की सामुदायिक वनमा ल्यान्डफिल्ड साइट निर्माण गर्ने तयारी गरेको र त्यसको आइइई अध्ययन प्रतिवेदन प्राप्त भएको उपप्रमुख जोशीले जानकारी दिइन्। खानेपानी सेवालाई सर्वसुलभ बनाउन ‘एक घर एक धारा’ जडान गर्ने कार्यअन्तर्गत वडा नं १४ मा खानेपानी सेवा, वडा नं ७ मा लिफ्ट खानेपानी आयोजना र वडा नं ९ मा माँझफाँट खानेपानीसम्बन्धी समस्या समाधान गरिएको छ भने विभिन्न खानेपानी आयोजनासमेत सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *