प्रधानमन्त्री ओली ‘प्राचीन कम्युनिष्ट’ निस्किए : काँग्रेस नेता पौडेल

डिसी नेपाल
१३ भदौ २०७६ २०:३२

डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ‘प्राचीन कम्यूनिष्ट’ निस्किएको बताएका छन्।

नेपाल प्रेस युनियन डोटी शाखाको आयोजनामा शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। नेता पौडेलले प्रधानमन्त्रीको सरकार सञ्चालन प्रक्रिया, गतिविधि र लागू गर्न खोजेका ऐनकानुनको विश्लेषण हेर्दा प्राचीन कम्युनिष्टको झल्को देखिन थालेको दाबी गरे।

‘हामीले नाममात्र कम्युनिष्ट भएपनि नेपाली परिवेशमा लोकतन्त्र स्वीकारेको शक्तिका रुपमा बुझेका थियौ। जनताले पनि त्यही बुझेर मतदान गरे,’ उनले भने, ‘तर होईन रहेछ १ सबै अवस्था हेर्दा प्राचिन कम्युनिष्टको झल्को देखिन थालेको छ।’

प्रधानमन्त्रीको शक्तिको मोह, सरकारी नियन्त्रण कायम गर्नेगरी आईरहेका मिडिया काउन्सील, आमसञ्चार, गुठी, मानवअधिकारलगायतका विधेयकहरुमा प्राचीन कम्युनिष्ट शासनको गन्ध झल्किरहेको उनको भनाई छ।

‘वर्तमान सरकारले सबै शक्तिहरु मुठ्ठीमा राखेर राज्यका सबै अंगहरुमा नियन्त्रण राख्न खोजेको प्रष्ट छ। जुन तानाशाही राज्य व्यवस्थामा हुन्छ । विश्व ईतिहासका प्राचीन कम्यूनिष्टहरु यस्तै भएका उदाहरण छन्,’ उनले थपे।

वर्तमान सरकार ईतिहासकै सबैभन्दा भ्रष्ट रहेको नेता पौडेलले आरोप लगाए। ‘वाईडबडी, सुनकाण्ड, मेलम्ची लगायतमा प्रष्ट भईसकेको छ, यो सरकार कति भ्रष्ट छ भन्ने,’ उनले अगाडी भने, ‘यसबाहेक ठुला योजना ठेक्का प्रक्रियाबिनै निर्माण गर्नेगरी विधेयक ल्याउने तयारी भईरहेको छ। जुन नीतिगत भ्रष्टाचार निम्त्याउने रणनीति हो।’

सरकार संविधानप्रति उत्तरदायी नभएको पनि उनले दाबी गरे। उनले भने, ‘हाम्रो राज्यव्यबस्था संविधानको सर्वोच्चताभएको व्यवस्था हो। तर, सरकारले संविधानको धज्जी उडाउनेगरी व्यवहार गरिरहेको छ।’

सरकार लोकतान्त्रिक राज्यव्यवस्थाप्रति जनतामा घृणा जगाउन उद्दत रहेको पनि उनले विश्लेषण गरे। ‘यो राज्यव्यवस्थाप्रति घृणा जगाएर आफ्नो अभिष्ट पुरा गर्ने दाउमा सरकार छ। यसप्रति सबै जनता सचेत रहन आग्रह गर्छु’, उनले भने।

कांग्रेस अब एकीकृत भएर सरकारका गलत प्रवृत्तिका बिरुद्ध जुट्ने पनि उनले बताए। पत्रकार सम्मेलनको अध्यक्षता नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *