कांग्रेस केन्द्रीय समिति बैठकले भातृ संगठनको महाधिवेशन गराउने निर्णय गर्ला ?

डिसी नेपाल
१५ भदौ २०७६ ७:३९

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको १३ औं महाधिवेशन भएको आगामी फागुनमा चार वर्ष पूरा हुँदैछ। प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने कांग्रेस विधानमा उल्लेखछ। विशेष परिस्थितिमा ६/६ महिना गरी एक वर्ष म्याद थप गर्न सक्ने संविधानले पनि व्यवस्था गरेको छ।

यतिबेला कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पनि जारी छ। बैठकमा विशेष गरी भातृ संगठनको महाधिवेशनका विषयमा छलफल केन्द्रीत छ। कांग्रेसका सशक्त मानिएको नेविसंघ यतिबेला नेतृत्वविहीन अवस्थामा छन्। त्यतिमात्र होइन केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १ सय ८२ विभागसमेत अपूर्ण छन्।

विभागले पूर्णता नपाउँदा पार्टीका केन्द्रदेखि तल्ला तहका नेता फुर्सदिला छन् भने पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेको छैन।

सरकार एकपछि अर्को गर्दै जनताको दैनिक जनजीविका विषयमा चुक्दै जाँदासमेत प्रमुख प्रतिपक्षको हैसियत पाएको कांग्रेसको भूमिका सशक्त हुन नसकेको टिप्पणी भइरहेको छ। कांग्रेस विधानमा केन्द्रमा २८ र प्रत्येक प्रदेशमा २२ गरी कुल १ सय ८२ विभाग रहने व्यवस्था छ।

कांग्रेस नेताहरुले जारी केन्द्रीय कार्यसमितिको बैठक सकिए लगत्तै रिक्त विभाग गठन हुने बताएका छन्। प्रदेश तहमा विभाग गठन गर्न कांग्रेसको प्रदेशमा संरचना नबनेका कारण पहिला केन्द्रका विभाग गठन गर्ने कांग्रेसको तयारी छ। कांग्रेसले भर्खर मात्रै विधानले व्यवस्था गरेअनुसारको तल्लो तहको संरचना गठन गर्न तयारी अघि बढाएको छ।

हाल कांग्रेसको नेपाल विद्यार्थी संघ नेतृत्वविहीन अवस्थामा छ । यस्तै, तरुण दलको केन्द्रीय कार्यसमितिसमेत अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षकै भरमा चल्दै आएको छ। दलित संघ, किसान संघलगायतका संगठन पनि वर्षौंदेखि निष्क्रिय छन् भने शुभेच्छुक संगठनहरूले पनि वर्षौंदेखि महाधिवेशन नै नगरी आलटाल गर्दै आएका छन्।

भातृ संगठन नेतृत्व विहीन अवस्थामा भएपनि त्यसलाई पूर्णता दिनु भन्दा शीर्ष नेताहरु आगामी महाधिवेशन लक्षित गतिविधि गर्न थालेका छन्। महाधिवेशन आगामी फागुनमा हुने नहुने तय नभएपछि शीर्ष नेताहरु भने आगामी नेतृत्वका लागि देश दौहाडामा निस्किने गरेका छन्।

विशेष गरी केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी महाधिवेशनका लागि रुची देखाएका छन्। उनी पछिल्लो समय देश दौडाहामा समेत छन्। १४ औं महाधिवेशनपछि कांग्रेसको नेतृत्व कोइराला परिवारले गर्ने कोइराला परिवारबाट सक्रिय राजनीति गर्दै आएका डा.शेखर कोइराला, डा. शशांक कोइराला र सुजता कोइरालाले बताउँदै आएका छन्।

वर्तमान सभापति शेरबहादुर देउवा पनि आगामी कार्यकालका लागि इच्छुक देखिएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल एक कार्यकाल जसरी पनि सभापति बन्ने दाउमा छन्। शीर्ष नेताहरुको आफ्ना स्वार्थका कारण पार्टी कमजोर बन्न थालेको भन्दै कार्यकर्ताले भने चिन्ता जनाउन थालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *