इलाममा विशेषज्ञ सेवासहितको अस्पताल सञ्चालनको तयारी

डिसी नेपाल
१७ भदौ २०७६ १०:२४

इलाम । इलाममा विशेषज्ञ सेवासहितको आधुनिक अस्पताल सञ्चालनको तयारी गरिएको छ। एक मात्र सरकारी जिल्ला अस्पताल रहेको इलाममा निजी क्षेत्रबाट अस्पताल सञ्चालनको तयारी गरिएको हो। युवा व्यवसायी प्रकाश चापागाईँको पहलमा सञ्चालन हुने अस्पताल विशेषज्ञ सेवासहित आइसीयुलगायत अत्यावश्यक सेवा प्रदान गर्ने बताइएको छ।

यस विषयमा सरोकारवालासँग छलफल गरी दर्ताका लागि पहल शुरु भएको उनले बताए। चापागाईँसहित केही चिकित्सकसहितको टोलीले केही समयअघिबाट निजी क्षेत्रबाट अस्पताल सञ्चालनका लागि पहल गर्दै आएको थियो।

उनले दर्ताको काम शुरु गरिएको जानकारी दिइए । चापागाईँका अनुसार कूल लागतको ६० प्रतिशत चिकित्सकबाट र अन्य ४० प्रतिशत लगानी स्थानीयवासीबाट गरिने छ।

‘इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टर’का नामबाट सञ्चालन गरिने उक्त अस्पताल आगामी फागुन महीनाबाट शुरु गरिने बताइएको छ।
अस्पताल सञ्चालनका लागि जिल्ला समन्वय समितिको निर्माणाधीन भवन भाडामा लिइने बताइएको छ। प्रबन्ध सञ्चालक चापागाईँले स्थानीयवासीलाई लगानी गर्नसमेत आग्रह गरेका छन् ।

जिल्ला अस्पतालमा सामान्यभन्दा सामान्य उपचारमा पनि समस्या हुँदै आएको छ। सामान्य ज्वरो आउँदा पनि झापा र भारतका विभिन्न क्षेत्रमा उपचारमा जानुपर्ने बाध्यता हट्ने भन्दै स्थानीयवासीले पनि सहयोग गर्ने इच्छा व्यक्त गरेका छन्। जिल्ला अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नबस्ने, बसे पनि अत्याधुनिक सेवा नभएकाले जिल्लावासीलाई समस्या भएको छ।

सदरमुकाममा रहेको एक मात्र सामुदायिक अस्पताल पनि बन्द भएपछि समस्या उत्पन्न भएको छ। राम्रो र गुणस्तरीय सेवा दिनसके यहाँ खुल्ने अस्पतालमा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका स्थानबाट समेत बिरामी आउने बताइएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *