प्रधानमन्त्रीलाई आराम गर्न दियाैं, नेकपाले सजिलै प्रधानमन्त्री छान्न सक्छ : गगन थापा

डिसी नेपाल
१८ भदौ २०७६ १४:२८

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीले लगातार काम गर्न नसक्ने अवस्था नआए आराम गर्न दिनुपर्ने बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद थापाले स्वास्थ्यले साथ नदिने प्रधानमन्त्रीलाई आराम गर्न दिनु पर्ने बताएका हुन्।

सांसद थापाले संसदमा गरेको सम्वोधनको संपादित अंश

प्रधानमन्त्री उपचारको क्रममा हुनुहुन्छ। स्वास्थ्यलाभको कामना गरौं। सरकारले प्रधानमन्त्रीको उपचारको यथार्थ जानकारी संसदमा गराएको छैन। प्रधानमन्त्रीको निजी चिकित्सकलाई उद्धृत गरेर छापामा आएका सीमित जानकारीका आधारमा प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख भएको अनुमान लगाउन सकिन्छ।

हामी चाहन्छौं उहाँको सम्पूर्ण स्वास्थ्य सुधार होस्। मृगौला प्रत्यारोप गराउनु भएका प्रधानमन्त्रीको इच्छाशक्ति क्रियाशीलता, योगदान संसारका लागि नमुना बनोस्। तर केही चिकित्सकले संकेत गर्नु भएको जस्तो प्रधानमन्त्री अहिले जस्तो (पटक पटक विदेशमा गएर) उपचार गर्नु पर्ने भयो भने के गर्ने?

नेकपाको बहुमत छ। सजिलैसँग नेकपाले प्रधानमन्त्री छान्न सक्छ। एकसे एक प्रधानमन्त्री भएको व्यक्ति यो पार्टीमा हुनुहुन्छ। प्रधानमन्त्री हुने इच्छा राख्ने व्यक्तिहरु हुनुहुन्छ।

संविधानको धारा ७५ अनुसार नेपालको कार्यकारी अधिकार मन्त्रिपरिषदमा निहीत छ र मन्त्रिपरिषदको प्रमुख प्रधानमन्त्री हुनुहुन्छ। संसदीय पद्धतिमा संसदीय कामको सृजना पनि प्रधानमन्त्रीबाटै हुन्छ। प्रधानमन्त्री सेरेमोनियल जिम्मेवारी होइन, प्रधानमन्त्रीले दैनिक काम गर्नुपर्छ। पछिल्ला दिनमा प्रधानमन्त्रीको कार्य बोझ बढाइएको छ।

हाम्रो प्रधानमन्त्रीले यी सबै कुरा गर्ने इच्छा शक्ति राख्नुहुन्छ भन्ने कुरामा दुईमत छैन। तर, इच्छाशक्तिमात्रै सबै कुरा होइन। साविक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्न सक्छ। प्रधानमन्त्री राष्ट्रिय सुरक्षा, अखण्डता, सार्वभौम सत्ताको प्रमुख हुनुहुन्छ।

कार्यकारिणी प्रमुख एकै पटक लामो समय देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कुटनीतिक मर्यादा आदिमा जोखिमको प्रश्न त छँदैछ, प्रत्येक दुई तीन महिनामा विदेश गएर १०/१२ दिनमा भिडियोमार्फत मन्त्रीहरुको ब्रिफिङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पूरा हुन सक्दैन।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था भएको भए फेरि निर्वाचनमा जानुपर्छ भनेर कष्ट दिएर पनि प्रधानमन्त्रीलाई निरन्तरता दिएर राख्ने कुरा स्वाभाविक हुन्थ्यो। तर यहाँ यस्तो अवस्था छैन। नेकपाको बहुमत छ। सजिलैसँग नेकपाले प्रधानमन्त्री छान्न सक्छ। एकसे एक प्रधानमन्त्री भएको व्यक्ति यो पार्टीमा हुनुहुन्छ। प्रधानमन्त्री हुने इच्छा राख्ने व्यक्तिहरु हुनुहुन्छ।

यस्तो बेलामा हामीले विश्राम दिन किन चाहिरहेका छैनौं। मैले धेरै पटक नेकपाका युवा सांसदहरुले प्रधानमन्त्रीलाई ‘बा’ भनेर सम्वोधन गरेको सुनेको छु। प्रधानमन्त्री हाम्रो पनि ‘बा’ सरह हुनुहुन्छ। हामी हाम्रो बा बिमारी हुनु भएको भए के भन्थ्यौं।

बा धपेडी नगर्नुस्, बा बिश्राम लिनुस्, बा आराम गर्नुस्। हामी हाम्रो बालाई त्यसो भन्छौं, प्रधानमन्त्री बालाई किन त्यसो भन्न सक्दैनौं? यो कसैलाई भनिरहेको छैन। यो गल्ती हिजो हामीले पनि गर्यौं। यो अन्याय हिजो हामीले पनि गर्यौं। र, यो सबै भन्दा नजिक बस्ने मानिसले अन्याय गर्यो। यो अन्याय तपाइँहरु नगर्नुस्। गो गल्ती तपाइँहरु नदोहोर्याउनुस्।

प्रधानमन्त्रीलाई बिश्राम गर्न दिनुस्। किनकी नेपालको आन्दोलनमा यत्रो ठूलो योगदान पुर्याउनु भएको, नेपालको शान्ति प्रक्रियामा यत्रो ठूलो योगदान पुर्याउनु भएको, यत्रो ठूलो राष्ट्रिय जिम्मेवारी निर्वाह गर्नु भएको, स्वाभिमानको लडाइँको एउटा अथक योद्धाको काम गर्नु भएको प्रधानमन्त्री हामी लामो समयसम्म हामीबीचमा हाम्रो अभिभावको रुपमा देख्न चाहन्छौं।

तर यो कुरा त्यतिबेला मात्र संभव छ, शरीर सबैको शरीर हो। मन पनि सबैको मन हो। प्रधानमन्त्रीको मनको, इच्छाशक्तिको म प्रशंसा गर्छु। म फेरि पनि कामना गर्छु त्यहाँबाट फर्केर आइसकेपछि सम्माननीय प्रधानमन्त्रीले यो रोष्टमा उभिएर यो बताइने वातावरण बनोस् हामी सबै प्रार्थना गर्छौं, कामना गर्छौं, की म लगातार कुनै विश्राम नलिकन काम गर्न सक्ने अवस्थामा छु।

आवश्यकता पर्दा २४सै घण्टा काम गर्न सक्छु भन्ने आओस्। तर यस्तो अवस्था आउँदैन भने म सबैलाई आग्रह गर्छु प्रधानमन्त्री एउटा मान्छे हुनुहुन्छ भन्ने कुरा नबिर्सौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *