माधव नेपाललाई ताकेको ‘प्रचण्ड गोली’ ओली तिरै फर्किएपछि…

डिसी नेपाल
१९ भदौ २०७६ ७:४२

काठमाडौं। प्रधानमन्त्री केपी ओली गत भदौ पाँच गते स्वास्थ्योपचार गर्न सिंगापुर जाने कार्यक्रम तय भइसकेको थियो। नेकपाका अध्यक्षसमेत रहेका ओलीले आफू सिंगापुर जानु केही घण्टा अगाडि आफ्नो सरकारी निवास बालुवाटारमा सचिवालयको बैठक बोलाएका थिए। बैठकमा कुनै राजनीतिक एजेण्डामा छलफल हुने कार्यसूचि थिएन।

बैठक बस्नासाथ ओलीले कुनै राजनीतिक एजेण्डा नभएका कारण आफ्नो स्वास्थ्य लाभको कामना गरी बैठक सक्न आग्रह गरे। ओलीले आफ्नो अनुपस्थितिमा सचिवालयको बैठक बोलाउने र निर्णय गराउने अधिकारी अर्का अध्यक्ष प्रचण्डलाई दिएको र कुनै पनि निर्णय गर्दा आफ्नो सहमति लिन आग्रह गरे। ओलीको यो प्रस्ताव माधव नेपाललाई मन परेन।

उनले तत्काल प्रतिवाद गर्दै आफ्नो सहमति विना धेरै निर्णय भएको र अब निर्णय गर्दा तपाइँको सहमति किन चाहियो भन्दै प्रश्न गरे। यही विवादको ठूलै रुप लियो र दुवै नेताबीच अशोभनीय भनाभन पनि भयो। पछि प्रचण्डलगायतका नेताले हस्तक्षेप गरेर विवाद सामसुम बनाए। पछिल्लो समय ओली माधव नेपालसँग विच्किएका छन्।

ओलीले नेता नेपालको तेस्रो बरियता खोसेर झलनाथ खनाललाई लिएका छन् भने सचिवालयमा माधव नेपाल एक्लिएका छन्। माधव नेपालसँग ओली रुष्ट हुनुको कारण नेता नेपालले प्रचण्ड, खनाल र बामदेवसँग मिलेर नौ सदस्यीय सचिवालय बैठकमा अध्यक्ष ओलीलाई अल्पमतमा पार्ने काम गरेका थिए।

प्रचण्डले ओली शुक्रबार सिंगापुरबाट फर्किनु अगाडि नै फेरि सचिवालय बैठक बोलाउने तयारी गरेपछि आफू पक्षीय नेता महासचिव विष्णु पौडेल र उपाध्यक्षमा प्रस्तावित बामदेव गौतमलाई सिंगापुर बोलाएका हुन्।

ओलीसँग बिच्किएका गौतमले त्यतिबेला दुई अध्यक्षबीच भएको सहमति अनुसार आलोपालो प्रधानमन्त्री चलाउनुपर्ने अभिव्यक्ति दिन थालेका थिए। आफ्नो बरियता खोसिएपछि बिच्किएका झलनाथ खनाल पनि ओलीसँग रुष्ट थिए। नेपालले त्यही फाइदा उठाउँदै पार्टीभित्र आफ्नो पकड बलियो बनाउँदै लगेपछि ओली झस्किएका थिए।

ओली उचित मौकाको पर्खाइमा थिए। आफ्नो सचिवालयमा अल्पमतमा परेपछि ओलीले बामदेवलाई उपाध्यक्ष बनाउने र प्रचण्डलाई कार्यकारी अधिकार दिने गरी सहमति गरी नेपाललाई एक्ल्याउने रणनीति लिए। र प्रचण्डलाईसमेत साथमा लिएर ओलीले नेपालको तेस्रो बरियता खोसेर झलनाथलाई दिए।

उपाध्यक्ष पाएपछि बामदेव ओली पक्षीय बने भने कार्यकारी अध्यक्षको भूमिका पाउने भएपछि प्रचण्ड दंग परे। ओलीले आफ्नो अनुस्थितिमा सचिवालय बैठक बोलाउने र निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएपछि सचिवालय बैठक बोलाए। कार्यकारी अधिकार पाएका प्रचण्डले सचिवालय बैठकमा ओलीसँग सल्लाह नै नगरी धमाधम निर्णय गरे।

उनले चार जनालाई केन्द्रीय सदस्यमा नियुक्त गरे भने केही जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्जसमेत तोक्ने काम गरे। ती सबै जिम्मेवारी पूर्व माओवादी पक्षीय नेतालाई दिए। आफ्नो अनुपस्थितिमा एकपछि अर्को निर्णय प्रचण्डले गर्न थालेपछि ओली झस्किए।

प्रचण्डले ओली शुक्रबार सिंगापुरबाट फर्किनु अगाडि नै फेरि सचिवालय बैठक बोलाउने तयारी गरेपछि आफू पक्षीय नेता महासचिव विष्णु पौडेल र उपाध्यक्षमा प्रस्तावित बामदेव गौतमलाई सिंगापुर बोलाएका हुन्।

सचिवालय बैठक बस्न महासचिव अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था छ। विष्णु पौडेल अनुपस्थित हुने भएपछि सचिवालय बैठक बस्न नसक्ने भएको छ। माधव नेपालसँग बद्ला दिन प्रचण्डलाई कार्यकारी भूमिका दिएका ओली अहिले प्रचण्डबाट सशंकित बनेको नेकपावृत्तमा चर्चा चल्न थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *