पदमार्गमा झोलुङ्गे पुल निर्माण

डिसी नेपाल
१९ भदौ २०७६ ८:३५

म्याग्दी । धार्मिक पर्यटकीयस्थल मालिका धुरी जाने पदमार्गमा रघुगङ्गा गाउँपालिका-६ ठाडाखानीस्थित उपल्लो ठूलोखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ। झोलुङ्गे पुल सहयोग कार्यक्रमकमो प्राविधिक तथा गाउँपालिकाको आर्थिक सहयोगमा ५७ मिटर लामो उक्त झोलुङ्गे पुल निर्माण भएको हो।

पुल निर्माणपछि ठाडाखानी, दुखु र बिमका साथै मालिका आवतजावत गर्ने पर्यटक र भक्तजनलाई सहज भएको वडाध्यक्ष मनकुमार शेरपुजाले बताए। “खोलामा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ”, उनले भने। बर्खामा बाढी आउँदा आवतजावत बन्द हुने गरेको थियो। रु ३३ लाख ८० हजारको लागतमा पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर छन्त्यालले जानकारी दिए।

पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक परिचालन र प्राविधिक सहयोग गरेको थियो। मजदुरको ज्याला र निर्माण सामग्री खरीद गाउँपालिकाले गरेको हो। समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा मालिका धुरी रहेको छ। यहाँ बुद्धजयन्ती, तिहार र जेष्ठ पूर्णिमामा पूजाआजा गर्नेको घुइँचो लाग्छ । यहाँबाट धवलागिरि, अन्नपूर्ण, निलगिरि र माछापुच्छ्रे हिमालको दृश्यावलोकन गर्न सकिन्छ।

मालिका गाउँपालिकाको बिम, दुखु, रघुगङ्गाको ठाडाखानी, मङ्गलाको टोड्के र हिदी भएर मालिका पुग्न सकिन्छ। मालिका गाउँपालिकाले गत आर्थिक वर्षमा बिम बाइन्दफाँट हुँदै मालिका धुरी नजिकैको नुनथलासम्म सडक खनेको छ।

यसैगरी मन्दिर परिसरमा पूजा स्थललाई फराकिलो बनाउनुको साथै रेलिङसहितको पदमार्ग र आश्रयस्थल निर्माण गरिएको बिमका वडाध्यक्ष रेशम जुग्जालीले बताए। रघुगङ्गा गाउँपालिकाले गत आवमा ठाडाखानीदेखि मालिका धुरी जाने पदमार्ग निर्माण गरेको थियो। पूर्वाधार निर्माण भए पछि मालिका जाने पर्यटक र भक्तजनलाई सहज भएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *