गाउँमा कोदोको बीउ पाउनै मुस्किल

डिसी नेपाल
१९ भदौ २०७६ १०:४१

बैतडी । पछिल्लो समय कोदो खेतीतर्फ किसानको आकर्षण घट्नुका साथै बीउ पाउनसमेत मुस्किल भएको छ। जिल्लामा कोदो बाली लोप हुने अवस्थामा पुगेको छ। पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन्। केहीले फाट्टफुट्ट रुपमा घरायसी प्रायोजनका लागि मात्र कोदोखेती गर्ने गरेको पाइन्छ।

कुनै समय सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरामा प्रशस्त मात्रामा कोदोखेती गरिन्थ्यो। अहिले ती जिल्लामा कोदो लोप हुने अवस्थामा पुगेको छ । स्वास्थ्यका लागि निकै फाइदाजनक मानिएको कोदोखेतीतर्फ किसानको आकर्षण घट्दै गएको सुर्नया गाउँपालिका–३ का प्रेमसागर भट्ट बताउँछन्।

आयातित खाद्यान्नमा पोषक तत्व कम पाइने भएकाले पछिल्लो समय बालबालिकामा कुपोषणबाट ग्रस्त भएको श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटले बताए। कोदो, मादुरो, भटमासलगायत बालीको महत्वबारे जानकारी दिनुपर्नेमा उनको जोड छ। “पुराना बालीमा पाइने पोषकतत्वका विषयमा ज्ञान नहुँदा लोप हुन थालेका हुन्”, उनले भने।

दार्चुलाको लेकम गाउँपालिकाका गणेश कार्की कोदो, मादुरो, जौँलगायत बाली लगाउन किसानलाई प्रेरित गर्नुपर्ने बताउँछन्। “भैँसीपालन घटेसँगै यी बाली पनि लोप हुँदै गएका छन्”, उनले भने। कोदो खेतीतर्फ किसानलाई आकर्षित गराउन स्थानीय तहले विषेश योजना ल्याउनुपर्नेमा कार्कीले जोड दिए। अन्य खेतीभन्दा कोदोखेतीमा बढी मेहनत गर्नुपर्ने भएकाले पनि आकर्षण घट्दै गएको हो।

बैतडीमा गत वर्ष ४६४ मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए। जिल्लामा गत वर्ष करीब ३०० हेक्टरमा कोदोखेती गरिएको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *