कांग्रेसको दोस्रो चरणको जागरण अभियान आजबाट सुरु, निसानामा सरकार

डिसी नेपाल
२४ भदौ २०७६ ७:१९

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आजबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान गर्दैछ। जागरण अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

कमजोर प्रतिपक्षको आरोप लाग्दै आएको कांग्रेसले दोस्रो चरणको जागरण अभियानमा सांगठनिक सुधार र सरकारका गलत कामको खबरदारी गर्ने र सरकार विरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने जनाएको छ।

कांग्रेसका संस्थापक नेता विपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर मंगलबार (आज) देखि कांग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु गर्न गालेको हो। दोस्रो चरणको जागरण अभियान असोस सात गते समापन हुने बताइएको छ।

अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासन लगायत विभिन्न १५ उद्देश्य निर्धारण गरिएका छन्। यसक्रममा कांग्रेसले सरकारका गलत कामकारवाहीको भण्डाफोर गर्ने जनाएको छ।सरकारले ल्याएका विधेयकहरु लोकतन्त्र र संविधान विरोधी भएको भन्दै जनतामा चेतना जागृत गराउने उद्देश्य कांग्रेसले लिएको छ।

कांग्रेसले जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिसमेत खटाइसकेको छ। जागरण अभियानका लागि खटाइएका केन्द्रीय प्रतिनिधिहरूमा अधिकांश प्रदेशसभा तथा प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मदेवार, पार्टीका पूर्वसभापति र पूर्वसांसद छन्।

अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासन लगायत  सरकारका गलत कामकारवाहीको भण्डाफोर गर्ने, सरकारले ल्याएका विधेयकहरु लोकतन्त्र र संविधान विरोधी भएको भन्दै जनतामा चेतना जागृत गराउने उद्देश्य कांग्रेसले लिएको छ।

दोस्रो चरणको अभियानअन्तर्गत कांग्रेसले प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा युवा केन्द्रित ‘विशेष संवाद’ कार्यक्रम गर्दै युवासँग संवाद गर्ने जनाएको छ।

कांग्रेसले पार्टीमा आवद्ध र पार्टी बाहिर रहेका युवासँग ‘देश, लोकतन्त्र र कांग्रेसको आजको सन्दर्भ’ विषयक खुला बहस आयोजना गर्ने जनाएको छ। बहस कार्यक्रमबाट नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघ लगायतका पार्टीका भ्रातृ संस्था र शुभेच्छुक संस्थामा आबद्ध युवा र अन्य असंगठित युवाका विचारहरू संकलन गरिने कांग्रेसले जनाएको छ।

जागरण अभियानको समापनका दिन कांग्रेसले बढ्दो महँगी, वाइड बडी, न्यारो बडी प्रकरण लगायतका भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या, सरकारले ल्याएका अलोकतान्त्रिक विधेयकहरू र सरकारको सम्पूर्ण कुशासनविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना गर्ने तयारी गरेको छ।

अभियानको अन्तिम दिन असोज ७ गते कांग्रेसले ७७ वटै जिल्लामा विभिन्न पाँचवटा मुद्दामा केन्द्रित रहेर विरोध प्रदर्शन र सभा गर्ने कांग्रेसले जनाएको छ। समापनका दिन गरिने जिल्लास्तरीय प्रदर्शनमा स्थानीयस्तरका मुद्दाहरूलाई पनि प्राथमिकताका साथ उठाइने कांग्रेसले जनाएको छ।

अभियानका क्रममा कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगतिविरुद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडास्तरीय अन्तरक्रिया, अग्रज, शहीद परिवार र द्वन्द्वपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समीक्षा लगायतका कार्यक्रम तय गरेको छ।

दोस्रो चरणको जागरण अभियानका क्रममा कांग्रेसले ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा झण्डै ३५ हजार विरुवा रोप्ने कांग्रेसले जनाएको छ। वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको प्रतीकस्वरूप प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा १०६ विरुवा रोपेर दोस्रो चरणको जागरण अभियानको उद्घाटन गरिनेछ।

‘हिमाल, पहाड, तराई–मधेश ९हिपतम० जागरण’ नाम दिएर १५ दिने दोस्रो चरणको अभियान सञ्चालन गर्न लागेको हो । यसअघि, कांग्रेसले वैशाख २५ गतेबाट ७७ वटै जिल्लामा पहिलो चरणको एकमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको थियो ।

राष्ट्रव्यापी रूपमा पार्टी पंक्तिमा सांगठनिक गति, एकता, समन्वय र हार्दिकता अभिवृद्धि गर्दै पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउँदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्ने कार्यक्रमको उद्देश्य रहेको कांग्रेसले प्रष्ट पारेको छ ।

कांग्रेसले आफ्नो नेतृत्वमा मुलुकले विगतमा हासिल गरेका राजनीतिक उपलब्धि र समृद्धिको दिशामा गरिएका कामका बारेमा नागरिक पंक्तिमा व्यापक ढंगले सम्प्रेषण गर्ने, वर्तमान सरकारका अनेक भ्रष्टाचार लगायतका विसंगतिपूर्ण जनविरोधी क्रियाकलापका बारेमा आमनागरिकलाई प्रष्ट्याउने उद्देश्यसमेत राखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *