गैरआवासीय नेपालीको नेता बन्न पैसावाला हुनैपर्ने, अध्यक्षमा उठ्न मात्रै १० लाख

डिसी नेपाल
२४ भदौ २०७६ १३:३०

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय कार्यसमितिको निर्वाचनमा उम्मेदवार हुन पैसावाला हुनैपर्ने देखिएको छ। उम्मेदवारीको शुल्क गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएपछि कम आए भएका विदेशमा बस्ने नेपालीहरू चुनावमा उम्मेदवार बन्न समेत नसक्ने स्थिति आएको छ। अन्तर्राष्ट्रिय कार्यसमितिको अध्यक्ष पदमा उम्मेदवार बन्न मात्रै १० लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने भएको छ।

एनआरएनएको अन्तर्राष्ट्रिय कार्यसमितिको चुनाव अक्टोबर १५ देखि १८ तारिखसम्म काठमाडौंमा हुँदैछ। यतिबेला नवौँ विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने चुनावको गर्मी निकै बढेको छ । सम्मेलनको मिति नजिकिँदै गर्दा एनआरएनए आईसीसी तथा क्षेत्रीय नेतृत्वका लागि दाबेदारी दिनेहरू बढिरहेका छन्।

तर, आगामी कार्यकालमा विभिन्न पदको नेतृत्व गर्नै इच्छासहित चुनावी मैदानमा उत्रिन तम्सिएका उम्मेदवारहरूलाई भने निकै गाह्रो पर्ने देखिएको छ । स्थिति यस्तोसम्म भएको छ कि कम आम्दानी भएका विदेशमा बस्ने नेपालीहरू चुनावमा उम्मेदवार नै बन्न नसक्ने अवस्था छ । अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्णयसहितको सिफारिसका आधारमा गत शुक्रबार बसेको निर्वाचन समितिको बैठकले नवौँ विश्व सम्मेलनमा चुनाव लड्ने उम्मेदवारहरूका लागि मनोनयन शुल्क दोब्बरले वृद्धि गरेको हो।

नयाँ निर्णयसँगै आगामी कार्यकालको अध्यक्षका लागि १० हजार अमेरिकन डलर, उपाध्यक्षहरू तथा महासचिवका लागि ६ हजार अमेरिकन डलर,  सचिव तथा कोषाध्यक्षका ५ हजार अमेरिकन डलर, सहकोषाध्यक्षमा उम्मेदवारी दर्ता गर्न ४ हजार अमेरिकन डलर शुल्क तोकिएको छ। अघिल्लो सम्मेलनमा अध्यक्षका लागि ४ हजार ५ सय अमेरिकन डलर, उपाध्यक्षहरू तथा महासचिवका लागि ३ हजार ७ सय ५० अमेरिकन डलर, सचिव तथा कोषाध्यक्षका ३ हजार अमेरिकन डलर, सहकोषाध्यक्षमा उम्मेदवारी दर्ता गर्नको लागि २६ सय २५ अमेरिकन डलर शुल्क तोकिएको थियो।

त्यस्तै महिला, युवा तथा क्षेत्रीय संयोजकमा उम्मेदवारी दिनका लागि ३ हजार ५ सय अमेरिकन डलर शुल्क तोकिएको छ। जुन अघिल्लो कार्यकालमा २ हजार २ सय ५० डलर बुझाए पुग्थ्यो । क्षेत्रीय उपसंयोजक र क्षेत्रीय महिला तथा युवा संयोजकका लागि २ हजार ५ सय डलर तोकिएको छ। अघिल्लो निर्वाचनमा क्षेत्रीय उपसंयोजकका लागि १ हजार ५ सय डलर र  क्षेत्रीय महिला तथा युवा संयोजकका लागि १ हजार डलर तिरे पुग्थ्यो।

यसअघिको चुनावमा अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसी सदस्यमा उम्मेदवार बन्न चाहनेले ५ सय डलर शुल्क तिर्नु पर्दथ्यो भने यसपटक १ हजार डलर दर्ता शुल्क तिरेपछि मात्रै उम्मेदवार बन्न पाउने छन्। त्यसमाथि यो शुल्क ‘नन रिफण्डेबल’हो जुन पछि फिर्ता हुँदैन। नेपालमा भविष्यको प्रधानमन्त्रीको लागि योग्य हुने प्रतिनिधिसभाको निर्वाचनमा उठ्ने उम्मेदवारको उम्मेदवारी शुल्क समेत योभन्दा कैयौँ गुणा कम छ । त्यसमाथि कूल मतदाताको १० प्रतिशत मत पाउनेले धरौटी फिर्ता पाउँछन्।

पछिल्लो नियमले मध्यपूर्वी देशमा रहेका नेपालीहरू एनआरएनएको नेतृत्वमा पुग्न निकै कठिन देखिएको छ । युरोप, अमेरिका वा अस्ट्रेलियामा बस्ने नेपालीको आम्दानीको तुलनामा मध्यपूर्वी देशमा बस्ने नेपालीको आम्दानी निकै कम छ । यहाँ बस्ने अधिकांश नेपालीको वर्षभरीको कमाइ नै १० हजार डलर पुग्न मुस्किल छ । यस्तोमा यति धेरै शुल्क बुझाउनु उनीहरुको लागि असम्भवजस्तै देखिन्छ।

पछिल्लो समय निर्वाचनमा उम्मेदवार बन्न तम्सिएका कतिपयले उम्मेदवारी नै फिर्ता लिने मनस्थितिमा पुगेका छन्।अघिल्लो वर्षकै हाराहारीमा उम्मेदवारी दर्ता शुल्क हुने अपेक्षा गरिएका उनीहरु एक्कासी दोब्बरभन्दा बढीले शुल्क वृद्धि भएपछि उम्मेदवारी दर्ता गराउनै तर्सिएका छन्।

मध्यपूर्व तथा कम आयश्रोत हुने देशहरुमा कार्यरत नेपालीहरूको एनआरएनए प्रतिको सोच सकारात्मक भन्दा नकारात्मक बढी भेटिन्छ। बेला बखत विभिन्न टिका टिप्पणीहरु पनि सुनिन्छन्। धेरुलै एनआरएनएलाई हुने खाने पैसावालहरुको संस्था भनेर चिन्ने गर्छन् । मध्यपूर्वी देशमा एनआरएनए अनावश्यक ठान्नेको संख्या पनि बढ्दै गएको पाइन्छ। सबै अटाउन सक्ने साझा चौतारी नभएको भन्दै चिन्ता प्रकट गर्नेहरु पनि छन्।

विश्वभर रहेका एनआरएनहरु सबै एउटै दर्जाको भनिएतापनि खाडीमा बस्ने नेपालीहरू यसलाई मान्न तयार छैनन्। ‘नेपालीका लागि नेपाली’ भन्ने पवित्र उद्देश्य रहेको एनआरएनए जस्तो सामाजिक संस्था प्रतिको यो वितृष्णालाई मेटाउन प्राभावकारी योजना ल्याउँदै सबैको साझा एनआरएन बनाउनु पर्ने आवश्यकता रहेको एनआरएनएकै कतिपय सदस्यहरु बताउँछन्।

एनआरएनएको २०१३ देखि २०१७ सम्मको अवधिमा १ अर्बभन्दा धेरै स्रोत जम्मा भएको थियो र संघको खातामा मात्र ५० करोडभन्दा धेरै रकम थियो। तर, अहिले यो सबै रकम सकिएर कोष ऋणात्मक भइसकेको छ । यही कारण कोषमा पैसा जम्मा गर्ने उद्देश्यसहित शुल्क वृद्धि गरिएको समेत अनुमान गरिएको छ।

आगामी महाधिवेशनका लागि तोकिएको दर्ता शुल्क

अघिल्लाे महाधिवेशनकाे दर्ता शुल्क




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *