एनआरएनए आईसीसी कोषाध्यक्षमा युरोपबाट सापकोटाले उम्मेदवारी दिँदै

डिसी नेपाल
२४ भदौ २०७६ १७:३९

काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आईसीसी) को कोषाध्यक्षमा युरोपबाट सोम सापकोटाले उम्मेदवारी दिने भएका छन्।

वर्तमान कार्यसमिमा सहकोषाध्यक्षको जिम्मेवारीमा रहेका सापकोटाले संस्थालाई आर्थिक रुपमा बलियो बनाउने योजनासहित आगामी कार्यकालका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

सन् १९९६ मा स्वीजरल्याण्डबाट प्रवासी जीवन सुरु गरेका सापकोटा २००६ मा एनसीसी पोर्चुगलको कार्यसमिति सदस्य चयन भएका थिए ।

त्यसपछि सापकोटाले २००९–०११ कार्यकालमा डेनमार्कको संस्थापक अध्यक्ष, २०११–०१३ कार्यकालमा एनआरएनए केन्द्रीय सदस्यका साथै २०१३–०१५ कार्यकालमा युरोप सहसंयोजकको भूमिका निर्वाह गरिसकेका छन्।

२०१७–०१९ कार्यकालमा आईसीसीको सहकोषाध्यक्ष रहेर जिम्मेवारीपूर्ण काम गरेका सापकोटाले यो कार्यकाल बाँकी रहेका अधुरा योजना सम्पन्न गर्न पनि कोषाध्यक्षका लागि चुनावी मैदानमा उत्रन लागेको बताए।

एनआरएनएको कोष पारदर्शी राख्दै यसलाई वैज्ञानिक तथा प्रभावकारी ढङ्गले चलाउने ज्ञान, सीप, अनुभव र योग्यता आफूसँग भएकाले तथा संस्थालाई आर्थिक समृद्धितिर अगाडि बढाउन तयार रहेर आफूलाई कोषाध्यक्ष पदको उम्मेदवारका रुपमा अगाडि सारेको उनले बताएका छन्।

‘मेरो ऊर्जालाई अझ बढी प्रभावकारी रुपमा समाजको हितमा यसै साझा संस्था मार्फत समर्पित गर्ने सोचका साथ अघि बढेको छु । मेरो अहिलेसम्मको कार्यअनुभवले पनि मलाई सहयोग गर्ने भएकोले यो जिम्मेवारी सफलताका साथ निर्वाह गर्न आत्मविश्वास बढेको छ ।’–उनले भने।

संस्थाका लागि आर्थिक पाटो महत्त्वपूर्ण भएको बताउँदै सापकोटाले कोषलाई दरिलो बनाउन अधिकतम प्रयास गर्ने, कोषको पारदर्शिता र मितव्ययी परिचालनमा आफू केन्द्रित रहने प्रतिवद्धतासमेत गरेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *