डेङ्गुबारे सचेतना कार्यक्रम शुरु

डिसी नेपाल
२५ भदौ २०७६ १२:०७

बनेपा। पनौती नगरपालिका स्वास्थ्य शाखाले मङ्गलबार पनौतीको बजार क्षेत्रलगायत विभिन्न ठाउँमा सचेतना कार्यक्रम गरी आम नागरिकलाई डेङ्गु रोगबाट बच्ने उपायसहितका सचेतना कार्यक्रम गरेको छ।

शुक्रराज ट्रपिकल सेन्टर (टेकु अस्पताल) काठमाडौँबाट जनस्वास्थ्य कार्यालयमा प्राप्त विवरणको आधारमा पनौती नगरपालिका–१२ मा एक जना सङ्क्रमित भएको देखिएपछि सचेतनाको लागि सो अभियान शुरु गरेको पनौती नगरपालिका प्रमुख भीमप्रसाद न्यौपानेले बताए।

“मङ्गलबारबाट शुरु गरिएको अभियान नगरको सबै वडामा विभिन्न कार्यक्रम गरी नागरिकलाई डेङ्गु सर्नबाट बच्ने उपायसहितको सर्तकता रहन सन्देश प्रवाह गर्दैछौँ ।” प्रमुख न्यौपानेले भने।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले नागरिकलाई सचेत रहनको लागि आजबाट डेङ्गु रोग नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने काम शुरु गरेको बताए। “पहिलो दिन मङ्गलबार गरेको अभियानमा मानेश्वरी बसपार्क क्षेत्र, बजार क्षेत्र र दूध मिलसम्म र्याली गरी सचेनताका साथै लामखुट्टे बस्ने स्थान खोज्ने र लार्भा नष्ट गर्ने काम गर्यौँ ।” उनले भने, “आज नगरको प्रायः सबैजसो वडामा सोही अभियानलाई निरन्तरता दिँदैछौँ।”

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जिल्लाको १३ वटा नै स्थानीय तहमा डेङ्गु रोगसम्बन्धी सचेतना अभियान सञ्चालन गर्न पत्राचार गरिसकेको बताए। “शुक्रराज ट्रपिकल सेन्टर (टेकु अस्पताल) काठमाडौँबाट जनस्वास्थ्य कार्यालयमा प्राप्त विवरणको आधारमा पनौती नगरपालिका–१२ र चौरीदेउराली गाउँपालिका–५ मा एक/एक जना सङ्क्रमित भएको विवरण पठाएपछि त्यसैको आधारमा जिल्लाका सबै स्थानीय तहमा सचेतना अभियान सञ्चालन शुरु गरेका हौँ।” झाले भने, “मङ्गलबार पनौती नगरपालिकामा ग¥यौँ, आज धुलिखेल र पाँचखाल नगरपालिका र त्यस्तै अन्य नगर/गाउँपालिकामा पनि क्रमशः सञ्चालन गर्ने छौँ।”

उनका अनुसार शुक्रराज ट्रपिकल सेन्टर(टेकु अस्पताल) काठमाडौँबाट जनस्वास्थ्य कार्यालयमा प्राप्त विवरणको आधारमा पनौती नगरपालिका–१२ का १७ वर्षीया एलिना हुमागाईं र चौरीदेउराली गाउँपालिका–५ का ३२ वर्षीया कमला गौतमलाई सङ्क्रमित पाइएको छ। पनौतीमा भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *