भक्तपुरमा डेङ्गुको उच्च जोखिम
देशभरि फैलिएको डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ। एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेङ्गु रोग रहेको पुष्टि भएको जानकारी दिए। यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उहाँले अहिले प्रत्येक टोल, गल्ली र विद्यालयहरु डेङ्गु रोगको जोखिममा रहेको बताए।
उनले टोल, नगर, विद्यालय लगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रमहरु भइरहेको जानकारी दिई सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहरहरु नराख्ने कार्य गर्नुपर्ने बताए।
यता भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै ४० जना डेङ्गु रोगका बिरामी फेला परिसकेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। उनले भक्तपुर नगरपालिका क्षेत्रभित्रका ३७ र यहाँ आएका अन्य क्षेत्रका तीन जना गरी ४० जनामा डेङ्गु रोग भएको बताए।
उनले भक्तपुर नगरपालिकाले डेङ्गु रोग नियन्त्रणसम्बन्धी वडा र विद्यालयमा अभिमुखीकरण कार्यक्रम, खाल्डाखुल्डी पुर्ने र चुन तथा फिनेल छर्ने, घरदैलो नर्सिङ सेवामार्फत डेङ्गु रोगबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताए। सूर्यविनायक, चाँगुनारायण नगरपालिकाले पनि यो रोगबारे जनचेतना फैलाउँदै आएको छ।
Facebook Comment