इन्द्रजात्रा व्यवस्थापनका लागि ५ करोडको कोष स्थापना

डिसी नेपाल
२६ भदौ २०७६ २०:३१

काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्राको व्यवस्थापन तथा संचालनका लागि पाँच करोडको कोष स्थापना गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले बिहीबार काठमाडौंमा एक कार्यक्रममा बीच इन्द्रजात्राको व्यवस्थापन तथा संचालनका लागि सो कोषको स्थापना गरिएको घोषणा गरेका हुन्।

कोषमा संघीय सरकारले १ करोड ५० लाख, प्रदेश ३ को सरकारले १ करोड, काठमाडौं महानगरपालिकाले २ करोड र गुठी संस्थानले ५० लाख रकम योगदान गरेका हुन्।

तीन वटै तहको साझेदारीमा सो पर्वको संरक्षण तथा संचालनका लागि ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष’ स्थापना गरिएको मन्त्री भट्टराईले जानकारी दिए।

काठमाडौं उपत्यकाकै विशेष महत्व बोकेको यो पर्वलाई संरक्षण गर्न गत भाद्र २२ गते बसेको मन्त्रीपरिषद बैठकले सो कोष स्थापना गर्ने निर्णय गरेको थियो।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको सबै सांस्कृतिक पर्वहरुको संरक्षणका लागि आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताए।

सो कोष काठमाडौं महानगरपालिकाका प्रमुखको नेतृत्वमा संचालन हुने कार्य योजना पनि तय गरिएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *