‘हेल्थ असिस्टेन्ट’ का भरमा अस्पताल

डिसी नेपाल
२८ भदौ २०७६ १२:३०

डडेल्धुरा । जिल्लाको परशुराम नगरपालिकामा रहेको जोगबुडा अस्पताल चिकित्सकविहीन बनेको छ । उक्त अस्पताल हाल स्वास्थ्य सहायकका भरमा चलिरहेको छ ।

भित्री मधेश जोगबुडाको परशुराम नगरपालीका र आलिताल गाउँपालिकाको प्रमुख उपचार केन्द्रका रुपमा रहेको जोगबुडा अस्पताल तीन सातादेखि चिकित्सकविहीन बनेको हो । उक्त अस्पतालका एकमात्र चिकित्सक करुणा बज्राचार्य समायोजन भएर अन्यन्त्र गएपछि १५ श्ययाको अस्पताल तीन सातादेखि चिकित्सकविहीन बनेको हो ।

एक जना नवौँ तह र दुई जना मेडिकल अधिकृतको दरबन्दी रहेको जोगबुढा अस्पताल तीन सातादेखि ‘हेल्थ असिष्टेण्ट’ को भरमा सञ्चालन भइरहेको छ । देशँै भर डेङ्गु, स्क्रबटाइफस र भाइरल ज्वरोका बिरामीको चाप बढेका समयमा जोगबुडा अस्पताल चिकित्सकविहीन हुँदा बिरामीलाई उपचारका लागि समस्या भइरहेको छ ।

समान्य उपचारका लागि पनि जिल्ला सदरमुकाम वा तराईका अस्पताल धाउनुपर्ने बाध्यता बनेको स्थानीय कैलाश पाण्डेयले बताए ।आजभोलि दैनिकरुपमा १०० देखि १५० सम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका हेल्थ असिष्टेण्ट एवं निमित्त प्रमुख तारादत्त बोहराले बताए । समायोजनमा सरुवा भएर गएपछि अहिले अस्पताल चिकित्सकविहीन बन्दा उपचार गर्न समस्या भइरहेको अस्पतालका निमित्त प्रमुख बोहराको भनाइ छ ।

समायोजनपछि सरुवा भएर चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी गएको तर त्यसको सट्टामा कोही आइनसकेकोले उपचारमा समस्या भइरहेको परशुराम नगरपालिका प्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष भीमबहादुर साउँदले बताए । बारम्बार चिकित्सकको माग गरिए पनि अहिलेसम्म अस्पतालमा चिकित्सक तथा स्वस्थ्यकर्मी नआएको उनले बताए ।

अस्पतालमा चिकित्सक नहुँदा यस क्षेत्रका बिरामी उपचारका लागि धनगढी, महेन्द्रनगरलगायत भारत जान बाध्य भएका छन् । भाइरल ज्वरोका बिरामीको चाप बढेको भए पनि जोगबुढा अस्पतालमा चिकित्सक नहुँदा अस्पतालका शैया खाली रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *