डेंगु नियन्त्रण गर्न महानगरपालिकाको प्रयास शुरु

डिसी नेपाल
२९ भदौ २०७६ ९:२८

विराटनगर। डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ। शुक्रबार शिक्षादीपमा अध्ययनरत विद्यार्थीको डेंगुबाट मृत्यु भएपछि विराटनगर महानगरपालिकाले यो कार्र्यक्रम ल्याएको हो।

शनिबारबाट विद्यालय र सरकारी कार्यालयमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ। महानगरपालिका प्रमुख भीम पराजुलीले नगरस्थित आदर्श माध्यमिक विद्यालयमा फगिङ गर्दै यस कार्यको थालनी गरेका हुन्।

यसभन्दा अगाडि बस्तीहरुमा मात्र फगिङ गरिएको थियो। लामखुट्टे धेरै हुने ठाउँको खोजी र तिनलाई मार्ने अभियान पटक–पटक गर्दै आएको महानगरले यसपटक भने विद्यालय र सरकारी कार्यालय हाताभित्र फगर मेसिनबाट यो अभियान शुरु गरेको छ। यससँगै बस्ती क्षेत्रमा समेत पुनः फगिङ गरिने महानगर स्वास्थ्य शाखाका अधिकृत एपोलो भगतले जानकारी दिए।

शनिबार मात्रै वडा नं ७ र वडा नं १० का सरकारी, गैरसरकारी कार्यालय, सामुदायिक विद्यालय, निजी विद्यालयमा फगर मेसिनबाट लामखुट्टे मार्ने काम भएको छ। यो अभियान महानगरका १९ वटै वडामा क्रमशः गर्दै जाने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *