काँग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

डिसी नेपाल
३० भदौ २०७६ १६:३४

काठमाडौं। प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडा अध्यक्षलाई मुद्दा चलाउन नपाइने भन्दै विरोध गरेपछि प्रतिवादमा कांग्रेस सांसदहरु विरोधमा उत्रिएका हुन् ।
काँग्रेस सांसदहरुले लगातार नाराबाजी गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।

बाँके घनालाई लिएर खजुरा गाउपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्ल विरुद्ध दिएको किटानी जाहेरी दर्ता भएसंगै काँग्रेस संसद संचालन गर्न सहमत भएको थियो । कांग्रेसले दोषीलाई कारवाहीको प्रतिवद्धता सरकारबाट मागिरहेका बेला सहमति विपरित सत्तापक्षकै सांसदले घटनाको बारेमा भिन्न दाबी प्रस्तुत गर्दे आफुहरुले पनि आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि सहमति भाँडिएको छ ।

बाँके घटनालाई लिएर खजुरा गाउपालिका वडानम्बर १ का अध्यक्ष मल्लविरुद्ध मुद्दा लगाउन नपाउने भन्दै सत्तारुढ दल नेकपाका सांसद नन्दलाल रोका क्षेत्रीले विरोध जनाए लगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए ।

कांग्रेस सांसदहरु उभिइरहेकै समयमा सांसद रोकाले बाँके घटनामा नेपाली काँग्रेसकै कार्यकर्ता जिम्मेवार भएको जिकिर गर्दे वडा अध्यक्षलाई मुद्दा चलाए आफुहरु पनि आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि बैठकको वातावरण अस्वभाविक बनेको हो ।

सांसद रोकाले भने, ‘कसैले पनि त्यहाँ हातपात गरेको छैन । कुनै पनि केही घटना घटेको छैन । त्यहाँ कसैले कसैलाई छोएकै छैन । त्यसै आक्षेप लगाएर हुँदैन । तर वडा अध्यक्ष वेकसुर छ । त्यो वडा अध्यक्षलाई मुद्दा लगाउने भन्ने कुरा कतै पनि सहन सक्दैनांै । यदि नेपाली काँग्रेसले आन्दोलन गर्छ भने हामीले पनि आन्दोलन गर्छौ । आन्दोलन किन नगर्ने ? हामी सत्य कुरा मात्रै स्वीकारछौं । असत्य कुरा कुनै पनि हालतमा स्वीकार गर्दैनांै । समिति गठन गरेर छानविन गर्नुपर्छ । जो दोषी छ कारवाही गरांै । समिति गठन विना हुन सक्दैन । समिति गठन गरेर छानविन गर्नुपर्छ ।”

सांसद रोकाको अभिव्यक्ति पछि नेपाली कांग्रेसका सांसदहरुले बोल्न समय मागेका थिए । तर सभामुखले समय नदिएपछि उनीहरुले वेल घेराउ गरि नाराबाजी गरेका हुन् । कांग्रेस सांसदहरुले “संसदमा निश्पक्षता कायम गर , दोषीलाई कारवाही गर । राज्य आतंक बन्द गर । ” भन्दै झण्डै आधाघण्टा नाराजाबी गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *