डल्फिन चरन क्षेत्र अनुसन्धानकर्ताको रोजाइमा

डिसी नेपाल
३१ भदौ २०७६ ६:३६

धनगढी । डल्फिन चरन क्षेत्रका रुपमा रहेका कैलालीको दक्षिण–पूर्वका विभिन्न नदीका दोभान क्षेत्र प्राणीशास्त्रका विद्यार्थीको थप अध्ययन, सोध, खोज र अनुसन्धानका लागि पहिलो रोजाइमा पर्न थालेका छन्। नजिक र छोटो दूरीबाट विभिन्न उमेर समूहका डल्फिन सहजरूपमा देख्न सकिने भएपछि कैलालीका ती नदीका दोभान क्षेत्र सोध, खोज र अनुसन्धानकर्ताका लागि पहिलो रोजाइमा पर्ने गरेका हुन्।

जिल्लाका काँडा, कान्द्रा, पथरैया र मोहना नदीका दोभान क्षेत्र डल्फिन चरन क्षेत्रको रुपमा रहेका छन्। नेपालसहित विभिन्न देशका प्राणीशास्त्रमा अध्ययन गर्दै गरेका विद्यार्थीले यस क्षेत्रमा आएर डल्फिनको विषयमा सोध, खोज, अनुसन्धान गरी शोधपत्र लेखेको पाइएको डल्फिन संरक्षण केन्द्र कैलालीका विजयराज श्रेष्ठले बताए ।

“यो क्षेत्र डल्फिनको प्राकृतिक बासस्थान पनि हो”, श्रेष्ठले भने, “पानीको सतह बढेको वर्षायाममा भारतको घाँघरा नदी हुँदै कैलालीका यी नदीमा डल्फिन बच्चा जन्माउन आउने र पानीको सतह घटेपछि पुनः घाँघरा नदीमै फर्किने गरेका प्रमाणित भइसकेको छ।” उक्त क्षेत्रलाई डल्फिन अवलोकनको प्रमुख पर्यटन गन्तव्यका रुपमा चिनाउने प्रयास स्वरुप विसं २०६२ देखि विभिन्न सङ्घसंस्था र डल्फिन संरक्षण केन्द्रको संयुक्त प्रयासमा डल्फिन महोत्सवको आयोजना हुँदै आएको छ।

डल्फिन अवलोकनका लागि यसअघि नै कतिपय ठाउँमा दृश्यावलोकन स्तम्भ निर्माण भइसकेकामा हाल अर्को स्तम्भ निर्माणधीन छ । डल्फिन संरक्षण केन्द्र र अन्तरगतका इ–को क्लबका साथै विभिन्न विद्यालयमार्फत बेलाबखत चेतनामूलक विभिन्न गतिविधिसमेत गर्ने गरिएको छ।

डल्फिन संरक्षण, संवद्र्धन र प्रचार–प्रसारसम्बन्धी गतिविधिको फलस्वरुप अवलोकन गर्न आउने स्वदेशी र विदेशी पर्यटक पनि वर्षेनी बढ्दै गएका पाइएको संरक्षणप्रेमी भोजराज ढुङ्गाना बताउँछन् । “हालै स्पेन, थाइल्याण्ड, अस्ट्रेलिया, बेलायत, स्कटल्याण्डका गरी १६ विदेशीले यो क्षेत्रको भ्रमण गरेर फर्किएका छन्”, उनले भने, “यसबाहेक भारत र नेपालका समेत गरी झण्डै एक हजार ५०० पर्यटक घुमेर फर्किएका छन्।‘‘

राज्यका तर्फबाट सो क्षेत्रलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गर्दै पर्यापर्यटनको विकासका लागि पहल हुनुपर्नेमा स्थानीय बासिन्दाको जोड छ। संरक्षण, संवद्र्धन र प्रचारप्रसारका लागि भइरहेका गतिविधिसँगै यो क्षेत्रलाई ‘टीकापुर सर्किट डल्फिन संरक्षण क्षेत्र’का रुपमा नेपाल सरकारको १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिएको छ।

सन् २०२० लाई सरकारले नेपालमा भ्रमण वर्ष मनाउने घोषणा गरेको अवस्थामा कैलालीमा आयोजना हुने गरेको डल्फिन महोत्सवले नेपाल भ्रमण वर्षको लक्ष्यलाई पूरा गर्न मद्दत पुर्याउने स्थानीय कृष्ण धमला बताउँछन् ।

स्थानीय युवाहरु घुम्न आउने पर्यटकहरुलाई डल्फिन अवलोकन गराउन नदी तटीय क्षेत्रतर्फ लैजाने, डल्फिनले गर्ने गतिविधि, संरक्षणका लागि भइरहेका कामका बारेमा सक्रिय हुने गर्दछन् । कैलालीको टीकापुर बजारको बाटो र भजनीको बाटो हुँदै डल्फिन चरन क्षेत्रमा पुग्न सकिन्छ । यी नदीहरुमा झण्डै १३० सङ्ख्यामा डल्फिन रहेको दाबी स्थानीय संरक्षणकर्मीको छ।

यसैबीच होटल व्यवसायी सङ्घ टीकापुर र डल्फिन संरक्षण केन्द्रको संयुक्त पहलमा सो क्षेत्रमा चौथो चरणको डल्फिन महोत्सव गरिएको छ । महोत्सवको पूर्वतयारीस्वरुप अवलोकनका लागि आउने पर्यटकका लागि सो क्षेत्रमा केही दिनअघिदेखि नै डल्फिन घरवाससमेत सञ्चालन गरिएको छ।

‘‘घुम्न आउने पाहुनको स्वागत र बसाइँ सहज बनाउन छ घरमा घरवास सञ्चालन गरिएको छ”, डल्फिन संरक्षण केन्द्रका उपाध्यक्षसमेत रहेका ढुङ्गानाले भने महोत्सवका क्रममा नदीमा जलयात्रा ९र्याफ्टिङ० गरेर डल्फिन अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ। शनिबारदेखि शुरु भएको महोत्सवमा देउडा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, स्थानीय खानाका परिकार र बेतबाँसका सामग्रीको प्रदर्शनीलगायतका गतिवविधि भइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *