ज्यावलका देवता विश्वकर्माको पूजा गरिँदै
महोत्तरी । मिथिला क्षेत्रमा आज ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दू मैथिल परम्पराअनुसार आज महोत्तरीसहितका तराई क्षेत्रमा ज्यावलका देवता मानिने विश्वकर्माको पूजाआराधना गर्न लागिएको हो।
पर्वका अवसरमा आज यस भेगका मेशिनरी पार्टस्का औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा विश्वकर्माको पूजाआराधना विशेष समारोहबीच धार्मिक विधिबाट गरिँदैछ।पर्वका अवसरमा सामान उत्पादन गरिने स–साना उद्योग, अन्नपात कुटान/पिसान र पेलान गर्ने मिल, यातायातका साधन तथा धातुबाट बनेका स–साना ज्यावललाई पनि धोइपखाली पूजा गरिने चलन छ । ठूला–साना सबै कलकारखानामा विश्वकर्मा पूजनोत्सव मुख्य पर्व मानिँदै आइएको छ।
यस पर्वमा कारखाना वा कुनै पनि उद्योगमा काम गर्ने कामदारलाई सञ्चालकले विशेष भोजन गराउने, बोनस दिने र नयाँ वस्त्र दिने परम्पराले श्रमिकका लागि यो पर्व खास अवसर पनि बनेको कारखाना र उद्योगका कामदार बताउँछन्। यो पर्वका अवसरमा दारीकपाल सेताम्य फुलेको आकृतिका श्री विश्वकर्माका प्रतिमा सबैजसो औद्योगिक तथा व्यापारिक प्रतिष्ठान र गाउँनगर बस्तीका चोक–चोकमा स्थापित गरिएका छन्।
झट्ट हेर्दा ब्रह्माकै आकृति देखिने विश्वकर्माले आफ्ना चारहातमध्ये दुई हातमा तार, डोरी र फलामे ज्यावल हातमा लिएका प्रतिमामा देखिन्छ । कैयौँ ठाउँमा विश्वकर्मा पूजा पर्वका अवसरमा धार्मिक मेला र विशेष नाचगान कार्यक्रम आयोजना गरिएका छन्।
सत्ययुगमा देवता र दैंत्यले संयुक्तरूपमा समुद्रमन्थन गर्दा उत्पत्ति भएका विश्वकर्मालाई ब्रह्माले ज्यावलको संरक्षण र उपयोग गराउने जिम्मेवारी दिएको बताइन्छ। आज असोज सङ्क्रान्तिका दिन विश्वकर्माको पूजाआराधनाले ज्यावल खिया नलाग्ने, टिकाउ हुने र सधैँ शुभ फल दिने विश्वास गरिन्छ।रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment