सिंहदरबारको पुतली बगैंचामा यस्तो बन्दै संघीय संसद्को नयाँ भवन (फोटो/भिडियो)

डिसी नेपाल
१ असोज २०७६ १३:५७

काठमाडौं। सरकारले सिंहदरबारभित्र बनाउन लागेको संघीय संसद्को भवनको शिलान्यास गरिएको छ। उक्त भवनको बुधबार आयोजना गरिएको एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन्।

सिंहदरबार भित्र रहेको पुतली बगैंचामा बन्न लागेको सो भवन ५ अर्ब २६ करोड लागतमा निर्माण गर्न लागिएको हो।

१ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा बनाउन लागिएको संघीय संसद भवनको निर्माण तीन वर्षभित्र सकिने जनाइएको छ।
कार्यक्रममा शहरी विकास मन्त्री मोहमद इस्तियाक राईले संघीय ससद भवन निर्धारित समयमै सम्पन्न गरिने प्रतिवद्धता जनाए।

संघीय संसद भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमन लबि,अति विशिष्ट व्यक्तिहरुको लागि कार्यालय भवन, पुस्तकालय र संग्राहलय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, चमेना गृह, प्रेस/छपाई भवन र ७ सय वटा सवारी साधन पार्किङ एवं सुरक्षाकर्मीको भवन बन्ने छन्। परिसर भित्रका भवनहरु ३ देखि ५ तलाका सम्म निर्माण गरिनेछ। प्रतिनिधिसभाको भवन ४ सय सिट क्षमताको र राष्ट्रियसभाको भवन १ सय सिट क्षमताको बन्नेछन्।

संसद भवन परिषरलाई भवन क्षेत्र, खुल्ला, हरियाली क्षेत्र र पार्किङ्ग क्षेत्र तथा सडक पूर्वाधार क्षेत्र गरि तीन वटा क्षेत्रमा विभाजन गरिएको छ । भवनले २७, खुल्ला हरियाली क्षेत्रले ४५ र २८ प्रतिशत क्षेत्रफल सडक पूर्वाधारले ओगटेको हुने छ।

परिसरको मूल ढोका दक्षिणतर्फ रहने छ। उत्तर पश्चिमको गेटबाट सांसदहरुलाई प्रवेश गराईने छ भने दक्षिण पुर्वमा कर्मचारी तथा सर्वसाधरण प्रवेशको लागि गेट रहने छ। सबै गेटमा जाँचका लागि आधुनिक सुरक्षा प्रविधि जडान गरिएको हुनेछ।

संसदको आफ्नै भवन नहुँदा अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिई संघीय संसदका दुवै सदनको बैठक संञ्चालन हुदै आएको छ। सचिवालय र समितिका बैठकहरु भने सिंहदरबारभित्र सञ्चालन हुदै आएका छन्। नयाँ भवन निर्माण सम्पन्न भएपछि संघीय संसदका आवश्यक सम्पूर्ण कार्यालयहरु एकै स्थानमा व्यवस्थित ढंगले हुने छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *