पसाएन गरिमा जातको धान

डिसी नेपाल
६ असोज २०७६ १३:०९

चितवन। जिल्लामा लगाइएको आयातीत ‘हाइब्रिड’ गरिमा जातको धानको बालाको शुरुआती चरण नै हुन नसकेपछि कृषक चिन्तित बनेका छन्।

रत्ननगर नगरपालिका वडा नं १० का कृषक ओमप्रसाद रेग्मीले आफ्नोे पाँच कट्ठा खेतमा लगाएको गरिमा जातका धानको गाँज ठूलो भएको तर पसाउन नसकेको बताए।

स्थानीय साझा एग्रोभेटबाट प्रतिकिलो रु ३५० का दरले किनेर लगेको बीउको धान नपसाएपछि आइतबार कृषि ज्ञान केन्द्रमा पुगेर सो समस्याका बारेमा अवगत गराएको उनले बताए। तीन वर्षअघि सोही जातको धान लगाउँदा उत्पादन राम्रो भएपछि यस वर्ष पनि लगाएको उनको भनाइ थियो।

रत्ननगर नगरपालिका वडा नं ३ का कृषक जयराम पराजुलीले ज्ञान केन्द्रमा क्षतिपूर्ति माग गर्दै निवेदन दर्ता गराएका छन्। उनले आफ्नो १७ कट्ठा १० धुर जग्गामा लगाएको धानमा समस्या देखिएको जानकारी दिए।

गरिमा जातको धान गएको जेठ २ गते बीउ राखेर असार ३ गते रोपेकामा पसाउँदै नपसाएको दुखेसो उनले गरे। जिल्लाका कृषकले धानको बीउ किनेका एग्रोभेटमा पुगेर दबाब दिने काम गरिरहेका छन्।

ज्ञान केन्द्रका प्रमुख राजन ढकालले इच्छाकामना गाउँपालिकाबाहेक जिल्लाभरमा सो धानको बालाको शुरुआती चरण नै हुन नसकेको गुनासो आएको छ भने। केही दिनदेखि दैनिकजसो कृषकले गुनासो गर्ने गरेको भन्दै उहाँले प्रत्यक्षरुपमा आफूहरुले हेर्दासमेत त्यस्तो देखिएको छ भने।

धानको गाँज ठूलो भएको भए पनि प्रजननमा समस्या देखिएको केन्द्रका प्रमुख ढकालले बताए। प्रारम्भिक चरणमा लिइएको जानकारीअनुसार सो जातको बीउ बिक्री गर्ने यहाँको डिलरले १३ हजार ४०० किलो बिक्री गरेको पाइएको छ।

नेपालमा सो जातको बीउ भित्र्याउने आधिकारिक कम्पनी सनराइज एग्रिकल्चर रिसर्च सेन्टर दाङ हो। सो कम्पनीले गत वर्ष ४० मेट्रिकटन उक्त जातको धानको इजाजत लिएको उहाँले जानकारी दिए।

वास्तविक तथ्याङ्क आइनसके पनि करीब एक हजार ३०० बिघामा गरिमा धान लगाइएको अनुमान छ। जसबाट पाँच हजार हाराहारी कृषक प्रत्यक्ष प्रभावित भएको अनुमान गरिएको केन्द्रका प्रमुख ढकालले बताए।

यस विषयमा माथिल्लो निकायमा जानकारी गराइसकेको उनको भनाइ थियो। छिट्टै प्राविधिक कार्यदल वनाएर स्थलगत निरिक्षण गरी प्रतिवेदन तयार गरिने ढकालले जानकारी दिए।

कार्यालयका बाली विकास अधिकृत माधव पौडेलका अनुसार यो विसं २०७२ मा सूचीकृत जात हो। गरिमा भारतीय उत्पादन हो । यसको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल खेली सक्नुपर्छ।

तर त्यसो हुन नसकेको उनले जानकारी दिए। सो बीउ नेपालमा आयात गर्ने सेन्टरका प्रतिनिधि अनुजकुमार चौधरीका अनुसार अनुमति धेरै लिइएको भए पनि नेपालमा २५ टन आएको र त्यसमध्ये केही फिर्ता भएको थियो।

चितवन, नवलपरासीमा बढी खपत भएको भन्दै उनले बाँकी बाँके र दाङमा बिक्री गरेको बताउनुभयो । सबै ठाउँमा यही समस्या देखिएको उनको भनाइ थियो। उत्पादन कम्पनीलाई यस विषयमा जानकारी गराइसकिएको चौधरीले बताए। धान नपसाएपछि पराल पनि काम नलाग्ने बताइएको छ।

जिल्लामा गरिमा, गोरखनाथ, युएस ३१२ जातका आयातीत हाइब्रिड र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावामन्सुली धान बढी क्षेत्रफलमा कृषकले लगाउने गरेको बाली विकास अधिकृत पौडेलले जानकारी दिए।

गत वर्ष वर्षे धान एक लाख १९ हजार ७०० मेट्रिकटन र चैते धान २६ हजार मेट्रिकटन उत्पादन भएको कार्यालयले जनाएको छ। यस वर्ष पाँच हजार हेक्टरमा चैते धान लगाइएको थियो भने वर्षे धान २८ हजार ५०० हेक्टरमा लगाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *