एनआरएनए एनसीसी कुवेतका पञ्जीकृत सदस्यको पर्खाइ

डिसी नेपाल
७ असोज २०७६ ११:०४

कुवेत । कुनै पनि संगठनमा रहेर काम गर्नु र यसलाई अघि बढाउनु अत्यन्त चुनौती पूर्ण कार्य हो। अझ गैर आवसीय नेपाली संघ जस्तो संगठनलाई अघिबढाउनु, मध्यपूर्वमा मेरो एनआरएनए भन्ने बनाउनु झनै कठिन कुरा हो। नजिकिएको विश्व सम्मेलनमा एनसीसी कुवेत एवं समस्त मध्यपूर्वका एनसीसीहरुले धेरै योजना ल्याउनेछन् । ठूला ठूला कुरा हुनेछन् त्यसमा पनि यी विषहरू भुल्नै नहुने विषय हुन्।

भर्खरै मात्र बनेको नयाँ कार्य समितिमा अनेकन अवसर छन् भने अर्को तिर चुनौति पनि त्यतिकै छ। विगत डेढ महिनाको कार्य हेर्ने हो भने सबैसँग सहकार्य गरेर जाने चाहना एनसीसी कुवेतले देखाएको छ । यति हुँदाहुँदै पनि आफ्नो २ वर्षे कार्य योजना के कस्तो हुने हो, कुनै पनि पञ्जीकृत सदस्यहरूले समेत थाह पाउन सकेका छैनन्। एनसीसी कुवेतले विश्व सम्मेलनलाई लक्षित गरेर सुझाव संकलन गरी एउटा राम्रो सन्देश भने दिएको छ। उक्त सुझावहरुको टिपोट र बुझाउने रिपोर्ट तथा मागहरू कम्तिमा सुझाव कर्ता र पञ्जीकृत सदस्यहरूलाई विश्व सम्मेलन पुर्व नै जानकारी गराउँदा सबै पञ्जीकृत सदस्यहरू तथा सुझावकर्ताहरुमा अपनत्व बढ्ने कुरामा दुई मत हुन सक्दैन । यसका साथै यस संघले यस पटकको विश्व सम्मेलनमा निम्न कुरामा ध्यान दिन जरुरी देख्छु।

१. सामूहिक लगानी तथा स्वरोजगारको विषयमा

एनसीसी कुवेतको संयोजनमा नै यस कुवेतमा सम्भवतः पहिलो पटक सामूहिक लगानी र स्वरोजगार शीर्षकमा चेतनामूलक कार्यक्रम भएको थियो र सो कार्यक्रमबाट नै युएई, ओमन र कुवेतमा कार्यरत युवाहरू मिलेर सूचना प्रविधि सम्बन्धी कम्पनी खोली अफिस समेत खोलिसकेको छ, भलै यसमा एनसीसीका कुनै पनि पदाधिकारीहरू सम्मिलित छैनन् । त्यस्तै वर्तमान अध्यक्ष सम्मिलित कृषि सम्बन्धी कम्पनी पनि चितवनमा स्थापना भई सकेको छ। सामूहिक लगानी मूलरूपमा थुप्रै साना लगानीको सँगालो हो, जसलाई कुनै उचित ठाउँमा लगानी गरिन्छ। यदि यसको प्रवद्धन गरि अझ बढाएर लैजाने हो, भनै यसमा ठुलो लगानी संकलन हुनुका साथै भविष्यमा वैदेशिक रोजगारीको अन्त्यपछि पनि पक्कै टेवा पुग्नेछ। यस प्रकारको योजना खाडीलाई लक्षीत गरी बनाउन यसपटक कुवेत एनसीसीले दबाब दिन जरुरी छ।

२. सुरक्षित र मर्या्दित वैदेशिक रोजगारी

खाडी तथा मलेशियामा कार्यरत नेपालीहरु दोहोरो श्रम सम्झौता तथा अन्य कारणहरुले असुरक्षित त बन्दै छ नै भने विशेष गरी घरेलु कामदारहरु पुर्णतः असुरक्षित नै छन् । यसका लागि आईसीसी र सरकारसँग सम्मन्वय गरी सुरक्षित र मयादित बनाउन अहम भुमिका खेल्नु पर्ने हुन्छ । जीवनको आधाकाल विदेशमा विताउँदा पनि वैदेशिक रोजगारीमा जानेहरुको लागि न त कुनै सामाजिक सुरक्षाको व्यवस्था छ, न त अन्य कुनै सुविधाको नै । सामाजिक सुरक्षाको नाम दिएर गैर आवासीय नेपाली संघले सुरु गरेको हजारे अभियान तत्काल कार्यन्व्यन गर्न समेत दवाव दिन जरुरी छ। वैदेशिक रोजगारीको अन्त्य गरी नेपाल जान चाहनेहरुको लागि नेपाल पुग्न अगावै रिण स्विकृत गर्न पर्ने व्यवस्था समेत गराउन पहल गर्नु पर्छ ताकी नेपाल गएर योजना बनाउने र बैंक धाउनमा नै समय खेर नजाओस।

कुवेतको हकमा घरेलुकामदारको डाटा स्वयं संघले समेत राख्न पहल गर्ने र यसको लागि आइसीसीसँग सहयोग माग्न सकिन्छ । यसो गर्दा कसले अवैधानिक बनाउछ र किन अवैधानिक बन्नु हुदैन भन्ने कुराको जानकारीसमेत सबैलाई दिलाउन सकिन्छ् भने समस्यामा परेकाहरुको छिटो उदार गर्न सकिन्छ र मेरो एनआरएनए भन्ने भावना सवैमा जगाउनेछ । त्यस्तै अवैधानिक कार्यमा संलग्न भै नेपाल र नेपालीकै अविश्वास बढाउने एवं बदनाम गराउने खालका गतिविधि बढीरहेको अवस्थामा विभिन्न सचेतनामुलक कार्य गर्न जरुरी छ । यसका लागि केन्द्रको सहयोग आवश्यक परेको खण्डमा सहयोग लिन सक्ने अवस्था श्रृजना गर्नु पर्ने हुन्छ ।

बूँदागत रुपमा,

क. दुतावासको सहयोगमा सबै घरेलु कामदारको डेटाबेस तयार गर्ने

ख. विभिन्न चेतनामूलक कार्य गर्ने

ग. सामाजिक सुरक्षा को व्यवस्था मिलाउने एवं हजारे अभियानको कार्यन्व्ययन गर्ने

घ. एनआरइ को सेवा–सुविधाको व्यवस्था गराउन पहल गर्ने

ङ. मृतकको शरीर दुतावासले प्रमाणित गरेपछि मात्र पठाउने र सर्वाङ्ग हुनपर्ने व्यवस्था मिलाउने

३. राष्ट्रिय मतदानमा मताधिकार

सवैको आ–आफ्नै प्रकारका समस्या होलान, मध्यपूर्व एवं मलेशियामा कार्यरतहरुको अर्को आवश्यकता भनेको आफ्नो मताधिकारको प्रयोग गर्न नपाउनु हो । सम्माननीय सर्वोच्च अदालतले समेत आदेश दिइसेको अवस्थामा अझ सम्म पनि यसबारे खासै प्रगति भएको छैन । निकट भविश्यमै हुन लागेको उपनिर्वाचनमा समेत यो अधिकार गुम्ने निश्चित छ। जसरी दोहोरो नागरिकताको बारेमा आवाज बुलन्द गर्न हामीले सहयोग ग¥यौं , त्यसरी नै मताधिकारको आवाज बुलन्द पार्न सरकार र आइसीसीलाई दबाबमुलक अनुरोध गर्ने।

४. उम्मेदवारको छनौटः

विश्व सम्मेलनमा उम्मेदवारी दिनेहरु सबै नै राम्रा छन् । तर पनि सहि उम्मेदवारलाई जिताउनु या चुन्नु भनेको फलामाको चिउरा चपाए सरी नै हुनेछ। यति हुँदाहुँदै पनि हामी मध्यपूर्वको सबै एनसीसीहरुको साझा समस्या रहेको छ र हाम्रो समस्या बुझ्ने भनेको मध्यपूर्वकै उम्मेदवारहरु हुन्छन्। कुनै पनि वैचारीक संगठनबाट या गोप्य कोठे बैठक भन्दा पनि पहिला मध्यपूर्वका उम्मेदवारलाई जिताउन सबै एनसीसीसँग सम्मनवयकारी भुमिका एनसीसी कुवेतले खेल्नु पर्नेछ । मताधिकार नितान्त व्यक्तिगत अधिकारको कुरा भएता पनि कुन उम्मेदवार किन भन्ने कुराको ज्ञान सबै पार्षदहरुलाई दिन पनि एनसीसीको कर्तव्य हो। यस पटक कुवैतबाट कुनै पनि पदकालागि उम्मेदवारी नपरेका कारण पनि सबै पार्शदहरु मतको लागि अन्य एनसीसी भन्दा स्वतन्त्र पनि छन्।

यसका साथै विश्वसम्मेलनमा भएको कृयाकलापहरुको प्रतिवेदन हेर्न सुन्न र बुझ्ने अधिकार सबै पार्षदहरुको रहेको छ , एक पञ्जीकृत सदस्यको हैसियतले यसको प्रतिक्षामा व्लगर स्वयं पनि रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *