सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा : नेता थापा
धनुषा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको परकाष्ठा भएको आरोप लगाएका छन् । नेता थापाले सत्तामा बसेर सरकारको निर्णयको बर्खिलापमा उत्रिने उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई गाईजात्रे शैलीको सङ्ज्ञा दिँदै आलोचना गरेका हुन्।
सरकारमा बसेर संविधान दिवस यही असोज ३ गते देशभर हर्षउल्लासका साथ मनाइरहँदा समाजवादी पार्टीले बहिष्कार गरेको थियो । यसलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य थापाले आपत्ति जनाएका हुन्।
जनकपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता थापाले प्रदेश नम्बर २ को सरकारतर्फ सङ्केत गर्दै भने, “उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष यादवसँग भिड्न नसक्ने प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले सरकारमै बसेर विरोधाभाष अभिव्यक्ति दिनु निर्लज्जताको पराकाष्ठा हो।”
नेता थापाले अधिकारको नाममा लडिरहेको देखाउन जनतालाई भ्रममा नपार्न प्रदेश सरकारलाई आग्रह गर्दै आफ्ना अध्यक्षसँग लडेर सङ्घीय सरकारबाट बाहिरिएर देखाउन चेतावनी दिए। उनले अहिलेको संविधानमा केही कमजोरी रहे पनि जनताको संविधान रहेको भन्दै संविधानको रक्षा गर्दै संशोधनका लागि काङ्ग्रेस लागीपर्ने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment