मध्यपूर्वबाट एनआरएनए युवा संयोजकका दाबेदार कार्कीको चुनावी घोषणा-पत्र सार्वजानिक

डिसी नेपाल
९ असोज २०७६ १२:४३

काठमाडौं। गैर आवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समन्वय परिषद (एनआरएनए/आईसीसी) युवा संयोजकमा मध्यपूर्वबाट उम्मेदवारी दिने तयारीमा रहेका   सुदिप कार्कीले आफ्नो चुनावी घोषणा पत्र सार्वजानिक गरेका छन्।

संघको नवौं विश्व सम्मेलनको मिति नजिकिँदै गर्दा हालका आईसीसी सदस्यसमेत रहेका कार्कीले युवाहरुको हितमा काम गर्ने भन्दै आगामाी कार्यकाल २०१९–०२१ का लागि युवा संयोजक पदमा उम्मेदवारी घोषणा दिंदै छन्।

लामो समयदेखि युएईलाई कर्मथलो बनाउँदै आएका कार्कीले एनआरएन अभियानमा एक सशक्त अभियान्ताको छवी बनाएका छन्। कार्की एनसीसी यूएईको निवर्तमान अध्यक्ष हुन्।

३० वर्षकै उमेरमा एनसीसी यूएईको अध्यक्ष बनेका कार्की सम्भवत: सबैभन्दा कम उमेरमा एनसीसी अध्यक्ष बन्ने पहिलो थिए। उनले एनआरएनए युएईको २०१५–०१७ कार्यकालको सफलतापूर्वक नेतृत्व गरेका थिए।

युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा भएको बताउने कार्कीले विश्वभरका नेपाली युवाको सीपलाई नेपालका युवासम्म ल्याउने र उनीहरुसँगको सहकार्यबाट देशको विकासमा योगदान दिने योजना आफ्नो चुनावी घोषणा पत्रमा रहेकाे बताए।

‘विभिन्न देशहरुमा छरिएर रहेका नेपाली युवाहरुको सीप, क्षमता र दक्षतालाई नेपाल निर्माणमा जोड्ने प्रयास गर्नेछु’, उनी भन्छन्, ’अबको युग युवाहरुको युग हो भन्ने मान्यतालाई स्थापित गर्न लाग्नेछु, जसको लागि मसँग खास योजनाहरु छन्। त्यसलै युथ कोअर्डिनेटर पद रोजेको हुँ।’

कार्कीले नेपाली मौलिक उत्पादनलाई विश्वभर व्यापक प्रचार प्रसार गर्न र उपभोगमा ल्याउन विश्वका हरेक कुनाबाट साथ सहयोग जुटाउनेका साथै विभिन्न मुलुकमा रहेका नेपाली कुटनीतिक नियोगसँगको सहकार्यलाई विश्वसनीय बनाउन भूमिका खेल्नेलगायतका प्रतिबद्धता पनि घाेषणा पत्रमा उल्लेख गरेका छन्।

युवालाई उत्प्रेरित गराई उनीहरुभित्र रहेको रचनात्मक सोच समाज विकासमा लगाउन सकिन्छ भन्ने कुरामा कार्की विश्वस्त छन्। ‘युवा माँझ हातेमालो गर्दै एकताका साथ अघि बढ्ने हो भने जस्तोसुकै चुनौतीको सामाना गर्न सकिन्छ। युवावर्गलाई लक्षित कार्यक्रम गरी उनीहरुलाई उत्प्रेरित गर्न सकिएमा मात्रै परिवर्तन सम्भव छ,’ सुदिप भन्छन्।

उनले संसारका कुनाकुनमा छरिएर रहेका नेपाली युवाहरुको शक्तिलाई एकीकृत गर्दै खेलकुदको बिकासमा जोड दिने पनि आफूले चुनावी एजेण्डामा अघि सारेको बताए ।

कार्कीले एनआरएनएमा युवावर्गको आर्कषण न्युन हुनुमा चिन्ता व्यक्त गर्दे सक्षम युवाहरु संघमा समेट्न आफूले युवामैत्री कार्यमा विशेष कदम चाल्नेसमेत बताए। उनले संघमा युवावर्गको रुची नहुनुमा राजनीतिक कारण प्रमुख रहेकोसमेत बताए।

डिसी नेपालसँगको कुराकानीमा कार्की भन्छन्, ‘एनआरएनए भित्रको राजनीतिक कारणले पनि काम गर्न सक्ने धेरै सक्षम युवाहरु संघदेखि बाहिर छन्। ती सबैलाई समेट्न सक्नुपर्छ। राजनीतिक रुपमा सक्रिय भएकालाई मात्र अवसर मिल्ने परम्पराको अन्त्य हुनु पर्दछ। म यो परम्पराको अन्त्यको लागि जिम्मेवार भएर लाग्नेछु र युवामैत्री एनआरएनए बनाउनेछु।’

आउने चुनावमा युवा संयोजक पदका लागि चर्चमा अरू पनि छन् तर, मध्यपूर्वबाट कार्कीले गरेको उम्मेवदारी घोषणालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ। नेपालबाट रोजगारका लागि जाने अधिकाशं युवाहरु मध्यपूर्वी देशहरुमा कार्यरत छन्। खाडी मुलुकमै काम गरेर एनआरएनए अभियानमा लागेका कार्कीबाट युवा पिँढीले धेरै अपेक्षा राखेका छन्।

चुनावी सरागर्मी बढेसँगै सुदिप अहिले निकै दौडधूपमा छन्। मध्यपूर्वी देशभन्दा बाहिरी मुलुकहरुमा पनि उनी पूग्ने गरेका छन्। विश्वभरबाट साथ र सहयोग मिल्ने बताउने कार्कीले मध्यपूर्वबाट भने पूर्णरूपमा साथ पाउने दावी गरे।

 

यस्ताे छ कार्कीकाे चुनावी घाेषणापत्र

आदरणिय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,

गैर आवासीय नेपाली संघको नवौँ अन्तरास्ट्रिय महाधिबेशन आगामी अक्टोबर १५ देखि शुरु हुँदैछ । यस महाधिबेशनले २०१९- २०२१ कार्यकालको लागि नयाँ कार्यसमिती चयन गर्ने सर्बबिदितै छ । तसर्थ यस महाधिबेशनमा हुने निर्वाचनमा मैले आइसीसी युवा संयोजक पदमा उम्मेदवारी दिएको कुरा यहाँहरु समक्ष सविनय अनुरोध गर्न चाहन्छु । हजुरहरुले बहुमुल्य मतदान गरी मलाई बिजय गराईदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु ।
‘एनआरएनएमा अब युवाको पालो, अग्रजहरुसँग सदैब हातेमालो’ भन्ने आफ्नो मुल नाराका साथ एनआरएनए आइसीसी युवा संयोजकका उम्मेद्वार कार्कीका प्रतिबद्धताहरु:-
१.एक नेपालीले ३ बिदेशी पर्यटक नेपाल भित्र्याऔं !
भिजिट नेपाल २०२० लाई भब्यताका सफल बनाऔं !!
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । यसलाई सफल बनाउन मेरो नेतृत्वमा बिश्व भरिमा आफ्नो राम्रो पकड बनाउन सफल एनआरएनए आइसिसिका सम्पुर्ण क्षेत्रीय युवा संयोजकहरु सग तत्काल उचित समन्वय गरि युवा प्रतिनिधिहरुको परिचालनमा एनआरएनएका प्रत्येक एक जना युवाले आफू बसेको मुलुकमा रहेका आफ्ना ३ जना बिदेशी साथीलाई नेपाल पठाउने विश्वव्यापी अभियान सञ्चालन गर्न प्रोत्साहन गर्नेछु । भिजिट नेपालको व्यापाक प्रचारप्रसार गरी सकारात्मक सन्देश फैलाउन सामाजिक सञ्जालको प्रयोग गर्ने र त्यसमा अधिकतम युवा सहभागिता गराउने प्रतिबद्धता जाहेर गर्दछु । यसका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रचार गर्न विदेशस्थित युवाको सञ्जाल विस्तार गर्न पहल कदमी लिनेछु ।
२. देस बिकास र समृद्धिमा युवा जाँगर !
दीर्घकालीन विकल्पमा युवा स्वरोजगार !!
भन्ने मुल नाराका साथ मेरो अभियान अगाडी बढाउने छु । नेपाल एउटा सुन्दर देश र स्वरोजगारीको धेरै श्रोतहरु छन । म जस्तै लाखौं युवा अब सधै घर परिवार र देश देखि टाढा रहेर होइन अब स्वदेशमै स्वरोजगारीको लागी पहल गर्न स्वरोजगारी युवा कोष खडा गरी नेपालमा नै केही गर्नको लागी ५०% ऋणको ब्यबस्था गरी साना किसान तथा घरेलु उद्योग मार्फत नेपाल सरकार बाट नै उक्त कोषको परिचालन हुने गरी युवाहरुलाई बिदेश जाने होइन बरु स्वदेशमै स्वरोजगारीको वातावरण बनाउन मेरो पहिलो प्राथमिकता रहने र गर्ने घोषणा गर्दछु ।
३.सामुहिक लगानी कोषमा युवा सहभागिताको लागी प्रोत्साहन गर्ने
गैरआवासीय नेपाली संघले दश अरब रुपैयाँको सामुहिक लगानी भिर्त्याउन नेपाल सरकारसँग सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको छ । खासगरी जलविद्युत, पर्यटन, कृषि, उद्योग, वाणिज्य, व्यापार, बैंकिङ्ग र शिक्षाजस्ता उच्च प्राथमिकताका क्षेत्रहरुमा लगानीका लागि प्रशस्त सम्भावना समेत रहेका छन् । यस्तो अवस्थामा विशेषगरी मध्यपूर्वका युवाको मेहनत अधिकतम हिंसा अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । तसर्थ सो मेहनतबाट आर्जन गरिएको रकमलाई नेपालमा रोजगार उन्मुख र उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण निर्माणमा लागि पहल कदमी लिनेछु ।
४। युवा उद्यमशीलताको प्रवर्द्धन गर्ने
युवा उद्यमशीलतामा जोड दिनेछु । विदेशमा आर्जन गरेको पूँजी अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रतर्फ लगानी गर्न प्रोत्साहन गर्दै युवालाई विभिन्न साना तथा मझौला व्यवसायमा लाग्न हौसला प्रदान गर्ने । महिला उद्यमशीलतालाई बृद्धि गर्न सीपमुलक तालिम सञ्चालन गर्ने र साना लगानीकर्ताको होष्टेमा हैसेँ गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
५.महिला, युवा तथा दोश्रो पुस्ताका गैरआवासीय नेपालीको वृत्ति विकास र सहभागिता बढाउने
विशेषगरी महिला उद्यमशिलता, सशक्तिकरण र जनचेतनाका अभियान सञ्चालन गर्ने विषयमा मेरो विशेष जोड रहनेछ । मलेशिया र मध्यपूर्वका विभिन्न मुलुक मात्रै नभई विश्वका अन्य कयौं मुलुकमा पनि महिलाहरु विविध समस्यामा पर्ने गरेका छन् । त्यसमाथि पनि मध्यपूर्व र मलेशिया यस्तो क्षेत्र हो जहाँ हजारौँ महिला दिदीबहिनीहरुले घरेलु कामदारको रुपमा रहँदा हिंसाबाट प्रताडित हुनुपर्ने स्थिती रहेको छ । कतै बेचविखनमा परेका घटना समेत रहेका छन् । तसर्थ त्यस्तो अवस्था आउन नदिन सचेतना अभियान सञ्चालन गर्न पहल गर्नेछु र त्यस्तो घटना र समस्यामा परेकालाई तत्काल उद्दार, राहत तथा सहयोग गर्नेछु ।
युवा वर्षेनी ४ लाखको हाराहारीमा नेपाली युवा विश्व श्रम बजारमा प्रवेश गर्ने गरेका छन् । त्यसका लागि युवा स्वरोजगार केन्द्रिकृत कार्यक्रमहरु सञ्चालन गर्नेछु । साथै स्वरोजगारी सिर्जना गर्न सकिने सम्भावनाका क्षेत्र पहिचान गरि ती क्षेत्रमा लगानी प्रवर्दन गर्नेछु । युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने लगायतका योजनालाई पूर्णता दिई कार्यन्वयन गर्ने प्रतिबद्धता जाहेर गर्दछु । यसका साथै कुलतमा फसेका वा फस्न सक्ने अवस्थालाई निराकरण गर्नका लागि विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
दोश्रो पुस्ताका गैरआवासीय नेपालीमा नेपाल र नेपालीलाई चिनाउने अभियान सञ्चालन गर्नेछु । त्यसका लागि विभिन्न कला, संस्कृति र मौलिकता समेटिएका अभियान कार्यक्रम गर्ने र दोश्रो पुस्ताको सहभागिता वृद्धिका लागि वर्षमा एक पटक मात्रै भएपनि एनआरएनए भएका आफ्ना छोराछोरीलाई नेपाल लैजाऊ भन्ने अभियानको थालनी गर्नेछु ।
६. युवापुस्ता र खेलकुदको विकास
हालै नेपालमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली खेलाडीहरुले विभिन्न इभेन्टमा १४ वटा मेडल जितेको परिप्रेक्ष्यमा हाम्रा युवकहरुमा खेलकुद, अनुशासन र विकासको अवधारणालाई अगाडि बढाउँदै उनीहरुमा अर्न्तनिहित क्षमतालाई प्रस्फुटन गर्नका लागि विभिन्न योजना कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । यसै योजना स्वरुप देशैभरी एनआरएनए स्पोर्ट्स एकेडेमी अवधारणाको बिकास गरि संबंधित निकाय र नेपाल सरकारको खेलकुद मन्त्रालय सग तत्काल समन्वय गरि यथासिग्रह कार्ययोजना तर्जुमा गरि पुरा गर्ने प्रतिबद्धता जाहेर गर्न चहान्छु र सम्पूर्ण आवस्यक काम पुरा गर्न पहल गर्नेछु । विश्वभर छरिएर रहेका नेपालीको संख्या ८० लाखको हाराहारीमा रहेको छ । त्यसमा पनि उत्पादनशिल र युवा जमात बढी छ । तसर्थ तीमध्ये पनि खेलप्रमि युवाहरुको संगठन विस्तारका लागि कार्ययोजना बनाई युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याटफर्म प्रदान गर्नका लागि पहलकदमी लिनेछु । त्यसका लागि नेपाल सरकार र सरोकारवालासँग समन्वय गर्नेछु ।
७.ज्ञान सीप र प्रविधिको नेपाल भित्र्याउने विभिन्न पेशा–व्यवसायमा रहेका बौद्धिक समुदायको ज्ञान, सीप, र प्रविधिलाई नेपालको हितमा उपयोग गर्ने गरी व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । एनआरएनको ‘नलेज ट्रान्सफर कमिटि’ मार्फत यस कार्यलाई संयोजन गर्ने योजना अघि सार्दछु ।
८.नेपालको मौलिक भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन हाम्रो मौलिक पहिचानलाई गुमायौं भने आफ्नो अस्तित्व पनि संकटमा पर्नेछ । तसर्थ यसलाई जोगाइराख्न विदेशमा रहेका अग्रज र दोश्रो फुस्ताबीच विविध अन्तर्क्रियात्मक काार्यत्रम सञ्चालन गरिनेछ । भाषा, साहित्य, कला र संस्कृति पुस्तान्तरण गर्ने कुरालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता अहिले प्रमुख एजेन्डा हो । यसका लागि तीनै फुस्ताको संयुक्त सांस्कृतिक कार्यत्रमहरु, भाषाकक्षाहरु र नेपाली चाडपर्वलाई प्राथमिकतासाथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।
९.गैरआवासीय नेपाली परिचय पत्रको उपभोगका लागि प्रोत्साहन
हाल विश्वभर करीब ५० लाख भन्दा बढी नेपाली रहेका छन् । तर गैरआवासीय नेपालीको सदस्यता लिएका ७० हजारको हाराहारीमा छन् । अझै मलेशिया र मध्यपूर्वमा त त्यो संख्या न्यून छ । त्यसैले पनि भएका सदस्यको व्यवस्थित अभिलेखिकरण गर्ने र संघको सदस्यता विस्तार गरी गैरआवासीय नेपाली अभियानमा सहभागी हुन प्रोत्साहन गर्नेछु । यसका लागि सो सदस्यता बापत प्रयोग गर्न सकिने सेवा सुविधा विस्तार र उपभोगमा लागि सचेत गराउनेछु ।
१०. लागु पदार्थ सेवन र दुर्व्यसनी बिरुद्धको सामाजिक अभियानमा युवाहरुको सहभागिता
युवा वास्तविक रुपमै राज्यको एउटा शक्ती हो । युवा देश बिकास र समृद्धिको मेरुदण्ड हो । युवा रास्ट्रको महत्त्वपूर्ण नयाँ खोज अनुसन्धान र चिन्तनको अभिन्न अङ्ग हो । तर अफ्सोच आज हाम्रो देशका धेरै देश बिकास र परिबर्तनमा दुरदर्शिता अपनाउन सक्ने लाखौं युवाहरु बिदेश पलायन छन भने अधिकांश युवा बेरोजगार र अशिक्षाको मारमा परि दुई तिहाई युवा पिढि लागु पदार्थ सेवन र यस्को दुर्बशनीमा फसेका छन् । म एक जुझारु र नयाँ विकसित सोचको युवा पिढीको निर्माण गर्न चहान्छु । कुलत संगतले, बिरोजगार र गरिबीको मारले पिल्सिएकाहरुको विकल्प लागु पदार्थ सेवन र दुर्ब्यसनी होइन भन्ने चेतनाको बिकास गर्दै नयाँ खोज अनुसंधान र ब्यापक जनचेतना मुलक कार्यहरु गरी यस्ता युवा पिढीलाई रास्ट्रको कुनै योजनाहरुमा एक अपरिहार्य जन शक्तीको रुपमा खडा गरेर परिचालन गर्ने मेरो ठुलो कोशिस रहने छ । म सम्बन्धित निकाय, बिभागीय प्रमुख र सरकारसँग परस्पर र पारदर्शी समन्वय गरी एउटा ब्राण्ड कल्चरको बिकास गर्नेछु र एक चोटीमा कम्तीमा १० हजार लागुपदार्थ र दुर्ब्यसनीमा फसेका र बेरोजगार युवाहरुलाई स्वरोजगारीको ग्यारेन्टी गरी उक्त ब्राण्डमा उनिहरुकै स्वामित्व रहने गरी मालिक बनाएर उद्दमशील युवा जनसक्तीको निर्माण गर्ने अठोट गर्न चहान्छु । उक्त टिमले नै लागुपदार्थ सेवन र दुर्ब्यसनी बिरुद्ध जनचेतनामूलक कार्यहरु गर्न समाजमा एउटा प्रेणाको श्रोतको रुपमा युवा जमात खडा गर्नेछु । युवाहरु राष्ट्रका धरोहर हुन भनी बिश्वमा युवाहरुको जनशक्ती र आवाजलाई चिनाउने छु ।
११.रेमिटेन्सले देश धान्ने युवाको बलिदान, मलेशिया र खाडीका जेल खाली गर्ने अभियान
नेपाल देखि जिम्मेवारीको भारी बोकेर सुन्दर सपना देख्दै हरेक नेपाली युवा जमात अध्यागमनको लाइनमा खडा हुन्छ र मलिशिया र खाडीको तातो बालुवा र हावामा कडा परिश्रम गर्न उड्छ । यिनै बहादुर र इमान्दारी नेपालीको पसिनाले सजिएको गगन चुम्ब्बी अग्ला अग्ला भवनहरु हेर्न लायक अर्को देशका सहरहरु हुन दुबई, मस्कट, दोहा, क्वालालम्पुर, सल्लला, बहराईन, जेद्दा र कुबेत । यिनै नेपालीका पसिनाले बनाएका देशहरुका सहरहरुको जेलहरुमा अधिकांश नेपाली युवा युवतीहरु जानअन्जानमा गरेका वा नगरेका गल्ती र कमजोरीको शिकार कारागारमा कैदी जीवन बिताईरहेका छन् । धेरै जना निर्दोष नेपालीहरु केवल भाषा नजान्दा, सम्बन्धित देशको नियम र कानुन नबुझ्दा कतिपय झुटा मुद्दाहरूको शिकार बनी खाडीका कारागारहरुमा कैदी जिबन बिताईरहेका छन् । कतिपय मदिरा सेवन र झैझगडा लडाई कुटपिटका कारण पनि बिभिन्न देशहरुका जेलहरुमा नारकीय जीवन बिताउन वाध्य छन् । रेमिटेन्स पठाउन्जेल उनिहरु काम लाग्ने अनि दु:ख पर्दा के हामीले बेवास्ता गर्ने ? पक्कै होइन । तसर्थ मेरो पहिलो कर्तव्य भनेकै विश्वभरका नेपाली श्रमिक युवा युवतीहरुलाई सम्बन्धित मुलुकमा अवस्थित नेपाली दुताबाससँग तत्काल समन्वय गरी बिदेशी कारागारहरुबाट नेपालीहरुलाई उद्दार गरी जेल खाली अभियान चलाउने मेरो धृढ प्रतिबद्धता जाहेर गर्न चहान्छु ।
अन्त्यमा, म आफ्नो कार्यकाललाई सम्पुर्ण नेपाली समुदायको हीत र प्रतिष्ठाको लागि समर्पित हुने प्रतिवद्धता व्यक्त गर्दछु । यहाँहरुबाट यसपटक मलाई अपार माया, साथ र सहयोग पाउने भरोसाका साथ मतदान गरी मलाई बिजय गराउनु हुन्छ भन्ने पुर्ण बिश्वास लिएको छु । हजुरहरुको साथ समर्थन र बहुमुल्य मतदानको म कदर गर्ने प्रतिबद्धता दोहोर्याउन चहान्छु । साथै यहाँहरुको साथ समर्थन र सहयोग प्रति हार्दिक कृतज्ञता तथा आभार प्रकट गर्दछु । धन्यवाद ।
जय युवा !
जय एनआरएन !!
जय समाजसेवा !!!
सुदिप कार्की
एनआरएनए आइसीसी

युवा संयोजकको उमेदवार




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *