छिन्नमस्ता र कङ्कालनी भगवती मन्दिरमा दर्शनार्थीको भीड शुरु

डिसी नेपाल
१२ असोज २०७६ १२:१२

राजविराज । नेपालीको महान चाड बडादशैँका अवसरमा जिल्लामा रहेको दुई शक्तिपीठसहित धार्मिकस्थलहरुमा आज बिहानदेखि श्रद्धालु भक्तजनको चहलपहल शुरु भएको छ। विजयादशमीको शुरु भएसँगै आज घटस्थापनाको दिन प्रदेश नं २ मा रहेको प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ र भारदहमा रहेको श्री कङ्कालनी भगवती मन्दिरमा भक्तजनको भीड लाग्न शुरु भएको छ।

प्रदेश नं २ मा रहेको प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ मन्दिरमा ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन पूजापाठ गर्नका लागि आज बिहानदेखि लाइनमा बस्ने गरेको छिन्नमस्ता मन्दिरका पीठाधीश एवम् मूल पुजारी महाकान्त ठाकुरले बताए । शुरुको दिन आज उल्लेखनीय सङ्ख्यामा माता भगवतीको दर्शन एवं पूजापाठका लागि भक्तजनहरु आउने गरेको उनले जानकारी दिए।

त्यस्तै सप्तरीको सदरमुकाम राजविराजमा रहेको भगवती मन्दिर राजदैवी र हुनुमाननगर कङ्कालनी नगरपालिका–१ स्थित भारदहमा रहेको प्रसिद्ध कङ्कालनी भगवती मन्दिरमा पनि दर्शनार्थीको आज बिहानदेखि घुइँचो लागेको स्थानीयवासी वीरेन्द्र प्रमाणीले बताए। त्यस्तै छिमेकी मुलुक भारतबाट समेत लाखौँको सङ्ख्यामा छिन्नमस्ता र कङ्कालनी मन्दिरमा दर्शनार्थी प्रत्येक वर्ष विजयादशमीका बेला दर्शन गर्न आउने गरेको उनले बताए ।

विजयादशमीको अवरसमा छिन्नमस्ता भगवती र कङ्कालनी मन्दिरमा खसीबोकाको बलिसमेत प्रदर्शन गर्ने गरेको हुनाले भारतको बिहार र नेपालको राजधानी काठमाडौँसहित विभिन्न ठाउँबाट समेत दर्शनका लागि भक्तजन यहाँको शक्तिपीठमा आउने गरेको कङ्कालनी मन्दिर विकास समितिले जानकारी दिएको छ।

घटस्थापनाका दिन आज शुभसाइतमा गहुँ, जौको जमरा राखी विजयादशमीको दिन माता भगवतीलाई अर्पण गरी प्रसादका रूपमा लगाइने गरेको छ। गहुँ तथा जौको नवअङ्कुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने पौराणिक मान्यता रहेको पण्डित रामकुमार शास्त्रीले बताए ।

नौ रात्रिसम्म पूजा गरेर अङ्कुरित जमराको रस बनाएर खानाले विभिन्न रोग निको हुने बताउँदै पौराणिक मान्यताअनुसार निधारमा विजयस्वरुप टीका लगाएर जमरा शिरमा राख्दा शिरको पीडा र मानसिक अशान्ति दूर हुने उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *