दशैं घरमा यसरी राखियो जमरा (फोटोफिचर)

डिसी नेपाल
१२ असोज २०७६ १३:१५

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ। यसै अवसर पारेर आइतबार काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा घटस्थापना गरिएको छ। आइतबार बिहान दशैं घरका गुरु ईश्वरप्रसाद अधिकारद्वारा श्रीमहकाली, श्रीमहालक्ष्मी र महाशक्ति स्वरुपा दूर्गा भवगतीको आराधनासहित जमरा रोपण गरी दशैं घरमा घटस्थापना गरिएको हो। घटस्थापनालाई दशैंको पहिलो दिनको रुपमा लिइन्छ।

दशैं घरमा सबैको दिर्घायू, आरोग्य, सदगुण, सत्शिक्षाको कामना गर्दै द्धीप, गणेश र कलशको पूजा गरी घटस्थापना गरी जमरा राखिएको गुरु अधिकारीले जानकारी दिए।  बिहान १० बजेर ३५ मिनेटको शुभसाईतमा दशैं घरमा घटस्थापना गरिएको हो। त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले तोप पड्काएर हर्ष बढाई गरेको थियो भने दशैं घरमा शंख, घण्टा र डमरु बजाएर दूर्गा भगवतीको पूजा, आराधना गरिएको थियो।

दशैंको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौंको जमरा राख्ने गरिन्छ। यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरुपा दूर्गा भगवतीको पूजाआराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो।

घटस्थापनाको दिन रोपिएको जमरालाई विजया दशमीको दिन शक्तिकी देवी दूर्गा भगवतीको प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ। जौलाई औषधीय गुणले युक्त मानिन्छ । यसलाई उमारेर बनाइएको जमराले पनि मानवलाई निरोधी रहन सघाउ पुर्याउने विश्वास रही आएको छ।

दशैंमा शक्तिकी देवी दुर्गाको नौं स्वरुपको पूजा गरिन्छ। नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजा गरिन्छ।

बडा दशैंको मुख्य दिनको रुपमा सातौं दिन फूलपाती, आठौं दिन महाअष्टमी, नवौ दिन महानवमी र दशांै दिन विजया दशमी हो। फूलपातीमा फूलपाती भित्र्याईन्छ भने महाअष्टमी र महानवमीका दिन बली पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठहरुमा बलिसहित विशेष पूजा पनि गर्दछन्। नवरात्रभर शक्तिपीठहरुमा दर्शन गर्नेहरुको भीड लाग्ने गर्दछ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *