अवैध लागूऔषध सहित ४ जना पक्राउ

डिसी नेपाल
१७ असोज २०७६ ०:१०

काठमाडौं । काठमाडौं महानगरपालिका-२९ सामाखुसीबाट लागूऔषध (मनोद्विपक पदार्थ) मेथ एम्फेटामाईन (ICE) १ केजी सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-२६ विजयपुर ठेगाना भएका ३७ वर्षीय भुवन अधिकारी र पर्सा पोखरिया नगरपालिका-८ ठेगाना भएका २२ वर्षीय हाजिफ नसिम अख्तर तेली रहेका छन्।

साथै उनीहरुको सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा काठमाडौं महानगरपालिका-१४ कलङकीबाट लागूऔषध (मनोद्विपक पदार्थ) एम्फेटामाईन (YABA) ४.५ ग्राम र लागूऔषध खात जस्तो देखिने सुकेको पात १ सय ग्राम सहित थप ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पर्सा पोखरीया नगरपालिका-८ ठेगाना भएका २८ वर्षीय महमद शहिद अख्तर, तनहुँ शुक्ला गण्डकी नगरपालिका-९ ठेगाना भएकी २३ वर्षीया रजिया खातुन र भारत बेथेल ऐजोल मिजोरम ठेगाना भएका ३१ वर्षीय जोसाङ लियाना रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

कैलाली, गोदावरी नगरपालिका-२ अत्तरीया बसपार्कबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ६ केजी सहित बझाङ सुर्मा गाउँपालिका-४ बस्ने २३ वर्षीय सुरेश पुजारालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा आलुको बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो।

नवलपरासी (पश्चिम) सरावल गाउँपालिका-१ बासाचोकस्थित महेन्द्र राजमार्गबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय एम्पुल, डाईजेपाम १ सय एम्पुल र नुर्फिन १ सय एम्पुल सहित रुपन्देही सिद्धार्थनगर नगरपालिका-१० बस्ने दिपक सुनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु.१ ज ३१२९ नम्बरको भ्यानलाई जाँच गर्ने क्रममा भ्यानमा सवार सुनारको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।

उक्त भ्यान चालक सोही ठाउँ बस्ने २२ वर्षीय सेराज आलमलाई समेत अनुसन्धानको लागि भ्यान सहित प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *