११ किलो चाँदीसहित भारतीय युवक पक्राउ

डिसी नेपाल
१७ असोज २०७६ १३:०९

महोत्तरी । महोत्तरीको जलेश्वर–भिठ्ठामोड सडकखण्डमा पर्ने खैराचौकमा बिहीबार ११ किलो चाँदीसहित एक भारतीय युवक पक्राउ परेका छन्।

पक्राउपर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको हनुमाननगर ग्राम पञ्चायत वडा नं १ बस्ने राजेन्द्र साहका छोरा २५ वर्षीय सीताराम साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

१२ प ७३३ नंम्बरको मोटरसाइकलमा चढी जलेश्वरबाट भिठ्ठामोडतर्फ जाँदै गरेका साहलाई खैराचौकमा खटिएका प्रहरीको टोलीले शङ्का लागि चेकजाँच गरेका थियो । चेकजाँचको क्रममा उनको साथबाट १० किलो ९०० ग्राम चाँदी बरामद भएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।

युवक साहले नेपालबाट चाँदी तस्करी गरी भारतमा लैजान लागेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । चाँदीसहित पक्राउ परेका युवक साहलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *