दुई लाख नगदसहित सुर्खेतबाट १४ जना जुवाडे पक्राउ

डिसी नेपाल
२३ असोज २०७६ २२:५१

सुर्खेत । सुर्खेत प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा १४ जनालाई पक्राउ गर्नुका साथै रु दुई लाख भन्दा बढी नगद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकाबाट सात-सातजनालाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंले विजयादशमीको अघिल्लो दिन भेरीगङ्गा नगरपालिका–११ को काठेघारी सामुदायिक वन क्षेत्रबाट रु एक लाख ९१ हजार ५९५ नगदसहित सात जनालाई पक्राउ गरेको जानकारी दिए ।

उनका अनुसार भेरीगङ्गा नगरपालिका–१२ का कर्णबहादुर चन्द, दीपक थापा, भेरीगङ्गा–२ का दीपक वली,–४ का भानु खड्का, वीरेन्द्रनगर नगरपालिका–६ का सन्दीप श्रेष्ठ, वीरेन्द्रनगर–१० का धीरज अधिकारी र–११ का चिरञ्जीवी वली पक्राउ परेका छन् ।

प्रहरीले वीरेन्द्रनगरबाट रु २५ हजार ४५० नगदसहित सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–१० का चेत भट्टराई, लोकबहादुर ठाडा, खगेन्द्र शाही, वीरेन्द्रनगर–३ का भोजकुमार डाँगी, दीपेन्द्र गिरी, वीरेन्द्रनगर–५ का दिल पुलामी र अम्मर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता रवी रावलले जानकारी दिए ।

पक्राउ परेकाको अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको उनको भनाइ छ ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *