चिनियाँ राष्ट्रपतिको स्वागतका लागि काठमाडौं झिलीमिली (फोटोफिचर)

डिसी नेपाल
२४ असोज २०७६ २०:१९

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको स्वागतका लागि काठमाडौंका विभिन्न स्थानहरु सिंगारिएका छन्।

उनको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्म सडकमा व्यानर तथा गेटहरु निर्माण गरिएका छन्।

राष्ट्रपति विद्यादेबी भण्डारीको निमन्त्रणामा २ दिने राजकीय भ्रमणमा चिनियाँ राष्ट्रपति सी भोलि शनिवार दिउँसो ४ बजे काठमाडौमा विमानस्थलमा अवतरण गर्नेछन्।

२१ घण्टाको नेपाल बसाईपछि आइतबार दिउँसो १ बजे चीन फिर्ता हुने कार्यक्रम छ। २३ वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार अपरान्ह काठमाडौं उत्रिदैंछन्।

राष्ट्रपतिको भ्रमणलाई मध्यनजर गर्दै सरकारले राजधानी काठमाडौंलाई बेहुली जस्तै सिङ्गारेको छ। चिनियाँ राष्ट्रपति सीको नेपाल बसाइ करिब २१ घण्टा हुनेछ। राष्ट्रपति सीको स्वागतार्थ सरकारले उनको कार्गेट चलाइने सडकलाई चिटिक्क पारेको छ।

जहाँ जहाँ राष्ट्रपतिको कार्गेट चलाइन्छ त्यहाँको सडक हेर्दा लाग्छ गरे के हुँदैन। तीनकुनेको खुल्ला चौर होस् वा अस्तव्यस्त कालीमाटी–सोल्टीमोड सडक, यी रातारात भएको विकासको ‘नमूना’ हो।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले चिनिया राष्ट्रपति सी जिनपिङको भ्रमण ऐतिहासिक भएको बताएका छन्।

नेपाल चाइना हिमालयन फ्रेण्डसिप सोसाईटीले भ्रमणबारे शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा नेताहरुले २३ बर्ष पछि हुन लागेको उच्चस्तरीय भ्रमण ऐतिहासिक हुनुको साथै यसले नेपालको विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताएका हुन्।

नेता सुवास नेम्वाङ्गले लामो समयको अन्तरालमा हुन लागेको उच्चस्तरीय भ्रमणबाट आफुहरु उत्साहित बनेको भन्दै भ्रमणले नेपालको हितमा हुने बताए।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी जिनफिङको दुई दिने नेपाल भ्रमण भव्य सफल हुने विश्वास दिलाएकी छिन् ।

उनले भनिन्, ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदैहुनुुहुन्छ, हामी हर्षित छौं । यो सबै नेपालीहरुको लागि खुशीको कुरा हो । हामी नेपाली जनता उहाँलाई भव्य स्वागत गर्न चाहन्छौं ।’ सीको नेपाल भ्रमणले देशको उचाई ठूलो हुने उनको विश्वास छ ।

उनले भनिन्,‘संसारभरि नै नेपाललाई हेर्ने दृष्टिकोणमा फरक आउँछ । सीको नेपाल भ्रमणको ठूलो अर्थ र महत्व रहेको उनको भनाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *