कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः निर्माणको काम सुरु

डिसी नेपाल
१ कार्तिक २०७६ ११:१३

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिकामा दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि प्राविधिक टोलीले स्थलगत काम थालेको छ।

विसं २०५६ देखि असुरक्षाका कारण उडान बन्द गरिएको उक्त विमानस्थल पुनः सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा रियलपात ईन्जिनियरीङ कन्सलटेन्सीको पाँच सदस्यीय प्राविधिक टोली भीमदत्तनगर आएको हो।

टोलीले बिहीबारदेखि काम थालेको प्राविधिक टोलीका प्रमुख ईन्जिनीयर गुणदत्त अधिकारीले जानकारी दिए । अध्ययनपछि मन्त्रालयमा प्रतिवेदन पेश गरिने उहाँको भनाइ छ । टोलीले विमानस्थलको पुराना भौतिक संरचना, हवाइमैदान, रन–वे, विमानस्थलको लम्बाइ/चौडाइलगायत प्राविधिक र अन्य विषयको अध्ययन गर्नेछ।

बहत्तर सिट क्षमता भएको जहाज सञ्चालनका लागि एक हजार आठ सय ८० मिटर लामो रन–वे आवश्यक पर्ने अधिकारीले बताए । ठूला जहाज सञ्चालनका लागि ७० बिघा जमिन आवश्यक परे पनि मझगाउँ विमानस्थलसँग ६५ बिघा जमिन छ ।

विमानस्थलको शुक्लाफाँटा दक्षिणतर्फ रहेको राष्ट्रिय निकुञ्जको जमिन अधिग्रहण गर्न सकेमात्र विमानस्थल सञ्चालनमा ल्याउन सकिने बताइएको छ। रियलपात ईन्जिनियरीङ कन्सलटेन्सीका ईन्जिनीयर गुरुदत्त अधिकारी, स्मरण भट्ट, सन्देश पौडेल, अविशेक बर्मा र सव ईन्जिनियर सविन पौडेलको टोली यहाँ खटिएको छ।

केही महिनायता विमानस्थल सञ्चालनका लागि दबाब दिँदै आएको मझगाउँ विमनास्थल पुनः सञ्चालन संघर्ष समितिका संयोजक रमेश चन्दले विमानस्थल सञ्चालनका लागि सबैको हातेमालो आवश्यक रहेको बताए । “हामीले यहाँका जनप्रतिनिधी र स्थानीय तह, नागरिक समाजसहितको प्रतिवद्धता लिएर केन्द्रमा प्रधानमन्त्रीसम्मलाई गुहा-यौंँ”, उनले भने ।

विमानस्थल संरक्षण एवम सञ्चालनका निम्ती सहयोग पुगोस भनेर यहाँको भीमदत्तनगरपालिकाले रु २० लाख बजेट चालु आर्थिक वर्षमा विनियोजन गरेको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए ।

उनले विमानस्थल पुनः सञ्चालनका लागि प्रदेश र सङ्घीय सरकारमा समेत लगातार पहल गरिरहेको बताए। झण्डै ६५ विघा क्षेत्रफलमा फैलिएको मझगाँउ विमानस्थलको लम्वाइ एक हजार ६६५ मिटर र चौडाइ पाँच सय मिटर छ।

सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले विमानस्थलको लम्बाइ बढाउन सम्बधित निकाय र विभागसँग पहल गर्न सकिने बताए ।

विमानस्थलको दक्षिणमा जग्गा अधिग्रहण गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग समन्वय गर्न सकिने उनले बताए । “विमानस्थलको जग्गा बढाउन पहल गछौंँ”, उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *